कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

क्षेत्रीय प्रशासक अब प्रमुख सचिव

सहसचिवको नेतृत्वमा हरेक प्रदेशमा २५ कर्मचारी खटिने

काठमाडौँ — सरकारले ५ वटै क्षेत्रीय प्रशासकहरुलाई सम्बन्धित प्रदेशका प्रमुख सचिवका रुपमा खटाउने भएको छ ।

क्षेत्रीय प्रशासक अब प्रमुख सचिव

केन्द्रमा मुख्य सचिव जस्तै प्रदेशमा उनीहरुले मुख्यमन्त्रीको कार्यालयअन्तर्गत कर्मचारी प्रशासनको नेतृत्व गर्नेछन् । तर, उनीहरुको दरबन्दी विशिष्ट श्रेणी सचिव सरहको नै हुनेछ । प्रदेश प्रमुखको कार्यालयमा भने सहसचिवको नेतृत्वमा २५ कर्मचारी खटाइने भएको छ ।


हाल ५ विकास क्षेत्रमा रहेका क्षेत्रीय प्रशासन कार्यालयबाटै कर्मचारीको अस्थायी संरचना तय गरिएको छ । क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा राजेश्वरमान सिंह, हेटौंडामा रेश्मीराज पाण्डे, पोखरामा लक्ष्मण अर्याल, सुर्खेतमा सुरेश प्रधान र दिपायलमा लक्ष्मीराज पौडेल प्रमुखका रुपमा कार्यरत छन् । उनीहरु नै सम्बन्धित प्रदेशका प्रमुख सचिवका रुपमा खटिनेछन् । क्षेत्रीय प्रशासन कार्यालय नरहेका बुटवल र जनकपुरमा भने बरिष्ठ सहसचिव २ जना कर्मचारी बढुवा गरी प्रमुख बनाउने गृहकार्य भइरहेको छ ।


प्रदेश प्रमुखको कार्यालयमा भने सहसचिवले कर्मचारीको नेतृत्व गर्नेछन् । उनीहरुको पदलाई प्रदेश सचिव भनिनेछ । ‘प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय सञ्चालन सहजै हुने गरी हामीले गृहकार्य गरेका छौं,’ प्रधानमन्त्री एवं मन्त्रिपरिषद कार्यालयका सचिव खगराज बरालले बिहीबार कान्तिपुरसँग भने ।


सरकारले ७ प्रदेशमा बुधवार नियुक्त गरेका प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्भवत: शुक्रबार शपथ लिनेछन् । त्यसपछि अर्को साताबाट उनीहरु सम्बन्धित प्रदेशमा गई जिम्मेवारी सम्हाल्नेछन् । क्षेत्रीय प्रशासकले मुख्यमन्त्री चयन भएपछि मात्र आफ्नो कार्यालय हेर्ने भएकाले तत्काललाई प्रदेश प्रमुख कार्यालयको कर्मचारी व्यवस्थापन हेर्न भनिएको छ । प्रदेश प्रमुखको कार्यालयमा रहने २५ कर्मचारीमध्ये प्रमुखले सचिवालयमा राख्ने १२ जनाको निजी सचिवालयका कर्मचारीसमेत पर्छन् ।


‘क्षेत्रीय प्रशासन कार्यालय मातहतकै कर्मचारी सम्बन्धित प्रदेशमा खटिनेछन् । क्षेत्रीय प्रशासन कार्यालय नभएका प्रदेशमा पनि सहसचिवसहित कर्मचारी खाका तयार छ । सम्भवत: भोलि नै त्यसबारे निर्णय हुनेछ’, सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवराम न्यौपानेले बिहीबार भने । प्रदेश प्रमुखको कार्यालयमा एक सहसचिव, ४ उपसचिव, ५ शाखा अधिकृत सहितका १३ पद प्रस्तावित छन् । त्यस्तै निजी सचिवालयतर्फ प्रमुख स्वकीय सचिव, सह स्वकीय सचिव, उप स्वकीय सचिवसहित १२ जना छन् ।


लामो अडचनपछि बुधबार सरकारले ७ वटा प्रदेशमा अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको हो । राष्ट्रपति कार्यालय शितल निवासमा त्यसको लिखित जानकारी बुधवारै गराइएको थियो । राष्ट्रपति कार्यालयले विहीवार प्रदेश प्रमुखहरुको नियुक्ति, संविधानअनुसार उनीहरुको योग्यता, पृष्ठभूमिलगायतमा अध्ययन गरेको छ । ‘सरकारले जस–जसको नाम पठाएको छ, सबैलाई नियुक्ति गरी शुक्रबार साँझसम्म शपथ खुवाइसक्ने योजना छ’, शितल निवासका एक अधिकारीले कान्तिपुरलाई बताए ।


प्रकाशित : माघ ४, २०७४ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?