एमबीबीएस प्रश्नपत्र चुहावटमा ६ जना भ्रष्टाचारी ठहर

कृष्ण ज्ञवाली

काठमाडौँ — विशेष अदालतले तीन वर्षअघि गोल्डनगेट कलेजमा भएको एमबीबीएस परीक्षामा प्रश्नपत्र चुहावट प्रकरणमा मुछिएका ८ जनामध्ये ६ जनालाई भ्रष्टाचारी ठहर गरेको छ । अदालतले बुधबार प्रश्नपत्र चुहावट प्रकरणमा मुख्य योजनाकार मानिएका प्रभातकुमार कुशवाहलाई दोषी ठहर गर्दै ४ वर्ष कैद र ३४ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको रजिस्ट्रार भीम श्रेष्ठले जानकारी दिए । 

अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले कलेजका निर्देशक देवीराम पाण्डेलाई ९ महिना कैद तथा ५ लाख ५ हजार जरिवाना फैसला सुनाएको छ । हरिहर भनिने खेचरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र २५ सय रुपैयाँ जरिवाना तथा धर्मेन्द्र यादवलाई एक वर्ष कैद र ९ लाख रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, जीवछकुमार यादवलाई १ वर्ष कैद र ५ लाख २ हजार रुपैयाँ जरिवाना र महेश्वर यादवलाई २ वर्ष कैद र १७ लाख रुपैयाँ जरिवाना भएको छ । शैफ अख्तर र घनेन्द्रप्रसाद संग्रौलाले भने सफाइ पाएका छन् । ‘आरोपितमध्ये अरूका हकमा अख्तियारको अभियोग ठहर हुन आयो, दुई जनाका हकमा प्रमाण नपुगेकाले सफाइ पाएका छन्,’ रजिस्ट्रार श्रेष्ठले भने ।

कलेजका निर्देशक प्रभातकुमार कुशवाहको योजना र रणनीतिमा एमबीबीएस प्रश्नपत्र चुहावट भएको भनी अख्तियारले अनुसन्धान प्रतिवेदन तयार पारेको थियो । २०७१ मंसिर २० को घटनामा एक महिना लामो अनुसन्धान गरी अख्तियारले कुशवाहको योजनामा पाण्डेले प्रश्नपत्र चुहावट गरेको निष्कर्ष निकालेको थियो ।

‘कैद सजाय सकेर रिहा भएलगत्तै कुशवाहले फेरि प्रश्नपत्र चुहावट गर्ने र त्यसबाटै कमाउने धन्दा थालेको देखिन्छ,’ अख्तियार स्रोतले कान्तिपुरसित भन्यो, ‘कुशवाहको प्रलोभनमा परेर गोल्डेनगेटका लगानीकर्ता एवं निर्देशक पाण्डे उक्त योजनामा सामेल भएको पुष्टि भयो ।’ अध्यापक पाण्डे त्यतिबेला होस्टल र स्नातक कार्यक्रमका इन्चार्ज थिए । अन्य उपायबाट प्रश्नपत्र चुहावट गर्न सम्भव नभएपछि परीक्षा केन्द्रबाट प्रश्नपत्रको फोटोकपी गर्ने योजना बनेको थियो । कुशवाह त्यसअघि पनि प्रश्नपत्र चुहावट विवादमा मुछिएका थिए ।

चार विद्यार्थीबाट ३४ लाख २५ हजार रुपैयाँ उठाएका कुशवाहले परीक्षा सुरु हुनुअघि नै शिक्षा मन्त्रालयबाटै प्रश्नपत्र चुहावट गर्ने र बढीभन्दा बढी प्रति बेचेर रकम संकलन गर्ने तयारी गरेका थिए । मन्त्रालयको सुरक्षा र कडाइका कारण चुहावट योजना विफल भएपछि कुशवाहले परीक्षा केन्द्रबाट प्रश्नपत्र फुत्काउने योजना बनाएर पाण्डेलाई योजनामा सामेल बनाएको खुलेको छ । ‘४० लाख रुपैयाँबाट कुराकानी भएर ५ लाख रुपैयाँमा सहमति भएको देखिन्छ,’ अख्तियारको आरोपपत्रमा भनिएको थियो । शिक्षा मन्त्रालयका प्रतिनिधिको हातबाट प्रश्नपत्र लिएर परीक्षाहल पुगेका कर्मचारीमध्ये हरिहर भनिने खेचरनाथ सापकोटाले पाण्डेको निर्देशनमा प्रश्नपत्र फोटोकपी गरेका थिए । उक्त फोटोकपी पाण्डेलाई दिएलगत्तै कलेजका अध्यापकसमेत रहेका सापकोटा पक्राउ परेका थिए । टेलिफोन सम्पर्कका आधारमा संलग्न देखिएका शैफ अख्तरले १० लाख दिलाइदिन्छु भन्दै कुशवाहलाई मेसेज गरेको खुलेको छ । अर्का आरोपित जीवछकुमार यादवले ५ लाख २५ हजार रुपैयाँ कुशवाहलाई बुझाएका थिए ।

प्रश्नपत्र चुहावटपछि संलग्नहरूको योजना, वस्तुगत प्रश्नको उत्तर छनोटका लागि तयारी अवस्थामा राखिएका विज्ञको टोलीलगायतबारे आयोगको छानबिन प्रतिवेदन मौन थियो । एमबीबीएस तयारी कक्षा सञ्चालन गर्ने नेम, अर्बिटलगायतमा तत्कालीन अख्तियार प्रमुख लोकमानको निर्देशनमा खानतलासी भए पनि कुनै प्रमाण भेटिएन । लोकमानको कामकारबाहीको विरोध गरेकाले त्यस क्रममा अख्तियारले नेमका सञ्चालक नवीन शर्मालाई समेत पक्राउ गरेको थियो ।

प्रकाशित : पुस २८, २०७४ ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्

सन्धि–सम्झौता परिमार्जनमा भारत लचिलो

ईपीजी बैठक
चन्द्रशेखर अधिकारी

काठमाडौँ — नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को छैटौं बैठकसम्म आइपुग्दा नेपालले उठाउँदै आएको विभिन्न असमान सन्धिसम्झौता र मुद्दा परिमार्जनमा भारतीय पक्ष अलि लचक देखिएको छ । दिल्लीस्थित इन्स्टिच्युट फर डिफेन्स एन्ड एनालाइसिस (आईडीएसए) मा बिहीबार बिहान सुरु भएको ईपीजीको दुईदिने बैठकमा भारतले पहिलोपटक यस्तो लचकता प्रदर्शन गर्दै १९५० को सन्धि परिमार्जन, बुँदाको संशोधनलगायत थप सकारात्मक बनेको हो ।


बिहीबार बसेको ३ घण्टा लामो बैठकमा सुझावसहित ड्राफ्ट प्रक्रियामा ध्यान दिनेलगायत विषयमा छलफल भएको थियो ।

भारतले खास गरी नेपालको चासो १९५० को सन्धिमा रहेको भन्दै सुझावसहित नयाँ सम्झौता वा बँुदा सुधारको ड्राफ्ट गर्न सक्ने जनाएको हो । भारतीय पक्षले यसपटक उक्त सन्धि परिमार्जनबारे छलफल गरेर टुंगोमा पुग्नुपर्ने जनाएको छ । यसअघि भारतीय पक्षले सन्धि परिमार्जनबारे नेपाली पक्षबाट ठोस बुँदा नआएको बताउँदै आएको थियो ।

बिहीबारको बैठकमा मस्यौदा र विवादित बुँदाबारे छलफल भएको अधिकारीहरूले बताए । उनीहरूका अनुसार १९५० लाई सम्बोधन गर्दै अन्य विषयमा कुन तवरले प्रतिवेदन ‘ड्राफ्ट’ गर्ने विषयमा बुधबारको छलफल बढी केन्द्रित थियो । ईपीजीको नेपाली पक्षले यसलाई उत्साहपूर्वक ग्रहण गर्दै मस्यौदामा ध्यान दिए अहिले त्यहीअनुरूपको वातावरण बनेको अधिकारीहरूले बताए ।

‘यसअघि ड्राफ्ट गर्ने विषयमा भारतीय पक्ष मौन थियो,’ एक सदस्यले भने, ‘अब छिटो प्रतिवेदन ड्राफ्ट गर्नेतर्फ लाग्नुपर्छ । नेपालको चासो र त्यसको निवारण विकल्पसहित सुझाउने गरी प्रतिवेदनमा खुलाउने सहमति बनेको छ ।’ बिहीबारको बैठकमा यसअघि भएका विभिन्न विषयको समीक्षा र सहमतिको विन्दु खोजी भएको थियो । ‘वार्ता निकै सकारात्मक रूपमा अघि बढेको छ । आज एक सेसन मात्र भए पनि शुक्रबार दुई सेसनमा छलफल हुनेछ । नेपालको बृहत्तर हितलाई ध्यानमा राखेर सम्बन्ध मजबुत बनाउने गरी छलफल अघि बढेको छ,’ नेपालको टोलीका सचिव रहेका यादव खनालले टेलिफोनमा भने, ‘शुक्रबारको बैठकपछि थप धारणा आउन सक्छ, अहिले यसै केही भन्न सकिन्न ।’

अस्वस्थताका कारण अघिल्लो बैठकमा सहभागी नभएका पूर्वराजदूत जयन्तप्रसाद यो बैठकमा सहभागी भए । बैठकमा नेपाल–भारत सम्बन्धका समग्र विषय, १९५० सन्धि, सीमा, सुरक्षा, डुबान, जनस्तरको सम्बन्ध, व्यापार सम्झौतालगायतमा छलफल भएको थियो। १९५० को सन्धिमा नेपालले राखेको असहमतिका बुँदामा छलफल भएपनि निष्कर्ष ननिस्किएको नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीले जानकारी दिए । भारतीय पक्षले नेपालले चाहेको विषयमा आफूहरू सकारात्मक भने पनि बुँदा परिमार्जनमा खासै तदारुकता नदेखाएकोजनाइएको छ ।

तीनै तहको निर्वाचनपछि नयाँ सरकार गठन हुनै लाग्दा यो बैठक भइरहेकाले पनि यसमा भारतीय पक्ष बढी नै सचेत देखिएको हो । शुक्रबार हुने बैठकले प्रतिवेदन तयार र विवादित विषयको सुझावबारे केही सहमति बन्न सक्ने बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेक प्राथमिकता र नेपालसँगको मित्रतालाई समेत ध्यान दिएर छलफल अघि बढाइएको सहभागीले बताए । नेपाल–भारत दुवैलाई अहित नहुने गरी सकेजति लचकता अपनाउन भारतीय विश्लेषक तथा राजनीतिज्ञहरूले सुझाव दिइरहेको अवस्थामा केही लचकता देखाइएको हो। नेपालसँगको असमझदारी हटाउन १९५० को सन्धिलगायत विषयमा नेपालले चाहेअनुसार परिमार्जन गरेर अघि बढ्न भारतलाई कुनै समस्या नभएको ईपीजीका भारतीय संयोजक भगतसिंह कोशियारीले बताउँदै आएका छन् ।

प्रकाशित : पुस २८, २०७४ ०६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्