१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

९० लाख हर्जना तिर्न नसक्दा साउदी जेलमा

२ वर्ष कैद, ५० कोर्रा सजाय भुक्तान
दूतावासले गर्‍यो पुनरावेदन
सहयोग जुटाउन चन्दा अभियान
होम कार्की

काठमाडौँ — माई नगरपालिका–४, इलामकी ३० वर्षीया सरिता राई १७ महिना काखे छोरा र ७ वर्षकी छोरी लिएर काठमाडौंमा भौंतारिइरहेकी छन् ।
साउदी अरबको मालिस जेलमा थुनिएका आफ्ना ३१ वर्षीय पति प्रेमबहादुर राईलाई छुटाउने आसले उनी परराष्ट्र र श्रम मन्त्रालयको ढोका ढकढकाइरहेकी छन् ।

९० लाख हर्जना तिर्न नसक्दा साउदी जेलमा
साउदी अरबको मालिस जेलमा थुनिएका आफ्ना ३१ वर्षीय पति प्रेमबहादुर राईलाई छुटाउने आसले उनी परराष्ट्र र श्रम मन्त्रालयको ढोका ढकढकाइरहेकी छन् । प्रेमबहादुर कम्पनीलाई ३ लाख १० हजार रियाल (झन्डै ९० लाख रुपैयाँ) भुक्तान गरेपछि मात्रै जेलबाट छुट्ने छन् ।

पति साउदी जेलमा थुनिएपछि उनको मन स्थिर छैन । ‘उहाँ निर्दोष छु भन्दै रुनुहुन्छ,’ सरिता भन्छिन्, ‘इलाममा पुख्र्यौली जग्गा बेचेर त्यत्रो रकम आउँदैन । मलाई दैनिक घरखर्च चलाउनै मुस्किल छ । त्यत्रो रकम कहाँबाट ल्याउने ?’ प्रेमबहादुर सन् २०१२ देखि साउदीस्थित अल सल्वावी इन्टरनेसनल होल्डिङ कन्स्ट्रक्टिङ कम्पनीमा चालकको काम गर्दै आएका थिए । बिदाबाट फर्केको साढे दुई महिनापछि २०१६ मार्च ३१ मा तामाको तार लोड भएको उनले चलाएको गाडी राजधानी रियादको जनद्रियाबाट हरायो । ‘सामान बुझाउनुपर्ने कम्पनी बन्द भइसकेको थियो । सडकछेउ गाडी राखेर साथीको कोठामा खाना खाएर फर्कंदा गाडी देखिनँ । तत्कालै कम्पनीका म्यानेजर र प्रहरीलाई खबर गरें,’ उनले अदालतसमक्ष बयानमा भनेका छन्, ‘म निर्दोष छु ।’


गाडी हराएको दुई दिनपछि अगाडिको सिसा फोरिएको अवस्थामा रित्तो ट्रक जनद्रियाबाट १० किमि टाढा फेला परेको प्रहरी रिपोर्टमा उल्लेख छ । कम्पनीले आफूहरूले निर्देशन दिएको बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै चालक दोषी रहेको दाबी गर्दै अदालतमा क्षतिपूर्ति दाबी गरेको थियो ।


सार्वजनिक अदालतका न्यायाधीश इब्राहिम विन सिड विन अली अल–अस्करको इजलासले चालकले सामानको मूल्य तिर्नुपर्ने फैसला गरेको हो । सार्वजनिक कानुनअनुसार प्रेमबहादुरले दुई महिना जेल र ५० कोर्रा भुक्तान गरिसकेका छन् ।


घटना शंकास्पद रहेको भन्दै बिमा कम्पनीले सामानको क्षतिपूर्ति दिन अस्वीकार गरेको छ । कम्पनीले ८ लाख रियालबराबरको बिमा गरेको थियो । नेपाली दूतावासले प्रेमबहादुरको मुद्दा पुनरावेदन अदालतमा पुनरावेदन गरेको जानकारी दिएको छ ।


‘दूतावासले कम्पनी मालिक मोहम्मद सल्वाईसँग कुरा गरेको थियो । मालिक ३ लाख रियाल दिनुपर्छ भन्ने अडानमा छ,’ नेपाली दूतावासका प्रथम सचिव विजयकुमार राउतले भने, ‘हामी प्रहरी स्टेसनमा पनि गयौं । प्रेमबहादुरलाई भेटेर विस्तृत जानकारी लिने काम भयो । पुनरावेदन अदालतबाट फैसला आइसकेको छैन ।’ साउदीको निजी कानुनअनुसार कम्पनीलाई क्षतिपूर्ति नतिरेसम्म उनी जेलमुक्त हुँदैनन् ।


सरिताले माथिल्लो अदालतमा वकिल राखेर बहस गर्न नसकिएको बताइन् । ‘श्रीमान्ले वकिल राख्दा एउटा बहसको ८ हजार रियाल तिर्नुपर्छ भन्नुभएको छ,’ उनले भनिन्, ‘सरकारले नै वकिल राखिदिए हुन्थ्यो । मेरो अरू केही आधार छैन । अब सरकार र नेपाली दाजुभाइको साथ र सहयोग चाहिएको छ ।’


प्रेमबहादुरलाई छुटाउन ‘प्रेम बचाउ अभियान समिति’ ले पहल गर्दै आएको छ । ‘एउटा निर्दोष नेपाली अनाहकमा फस्न गयो,’ समितिका सदस्य अनिता ताम्बुसाहले भनिन्, ‘अरू उपाय नदेखेपछि चन्दा संकलन सुरु गरेका छौं ।’ समितिले इन्भेस्टमेन्ट बैंकमा ०२९०५०३०२८५१७९ को खाता खोलेर चन्दा संकलन सुरु गरेको हो ।

प्रकाशित : पुस १७, २०७४ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?