३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

तत्काल प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न आयोगलाई आग्रह

घनश्याम गौतम

गुल्मी — एमाले केन्द्रीय सचिव प्रदीप ज्ञवालीले राष्ट्रियसभा निर्वाचन नभएसम्म ३३ प्रतिशत महिला सहभागिताको बाहनाबाजी गरेर निर्वाचन सकिएको एक महिना पुग्दा समेत निर्वाचन आयोगले परिणाम सार्वजनिक नगर्नु चिन्ताको विषय भएको बताएका छन् । 

तत्काल प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न आयोगलाई आग्रह

प्रेस चौतारी गुल्मीले आइतबार तम्घासमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले सरकार, प्रधानमन्त्री, केही कानुनविद् र केही विश्लेषकले दिएको सल्लाह नेपालको लोकतन्त्रका लागि बिडम्बनापूर्ण भएको बताए । उनले निर्वाचन आयोगलाई तत्काल प्रतिनिधिसभा समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न आग्रह गरे । ‘हामी चिन्तित छौं, अन्योलमा पनि परेका छौं,’ नवनिर्वाचित सांसद ज्ञवालीले भने, ‘निर्वाचन आयोग किन अलमलिएको छ, आयोगलाई के कुराले प्रभावित गरिरहेको छ ।’ निर्वाचन आयोगलाई आयोग जस्तै बन्न उनले सुझाव दिए । ‘उ स्वतन्त्र र संवैधानिक अंग हो,’ उनले थपे, ‘उसको स्वतन्त्रता, स्वायत्तता र स्वतन्त्र निर्णय क्षमतामाथि कतैबाट प्रश्न उठने अवस्था आउनु हुँदैन । तर पछिल्ला दिनमा आयोग आफैंले गरेका निर्णयबाट पछि हट्ने गरेकाले शंका र भ्रम बढेको छ ।'

सरकारले अहिले गरिरहेको अनेक बहानाबाजी ताजा जनादेश माथिको अपमान र संविधानको अपव्याख्या भएको उनको भनाइ छ । ‘अहिले राष्ट्रियसभा निर्वाचन नभइ प्रतिनिधिसभाको रिजल्ट निकाल्न मिल्दैन र प्रतिनिधिसभा रिजल्ट नआई नयाँ सरकार गठन हुन सक्दैन भनेर जे बाहनाबाजी गरिंदैछ, यो ताजा जनादेशविपरीत हो,’ उनले भने, ‘संविधानको अपव्याख्यामार्फत अन्योलता बढाउने काममा सरकार, प्रधानमन्त्री, केही सल्लाहकार र विश्लेषक लाग्नु बिडम्बनापूर्ण छ ।’


सत्ता लम्ब्याई रहन र यो बीचको संक्रमणकालको फाइदा उठाउँदै आफ्ना निहीत स्वार्थ पूरा गर्ने खालका अलोकतान्त्रिक काममा नलाग्न उनले सरकारलाई आग्रह पनि गरे ।


५० लाख जनताले मतदानबाट अनुमोदन गरिसकेकाले अब पार्टी एकता हुने नहुने भन्ने कुरा दुई पार्टीका अध्यक्ष र दुई पार्टीको विषय मात्र नभएको उनले जिकिर गरे । ‘प्रकृया अघि बढिसकेको छ,’, उनले भने, ‘केही काम भइसकेका छन, बाँकी टुङ्गिदैछन्, कसैले शंका नगरे हुन्छ, पार्टी एकता हुन्छ ।’ सरकार गठनअघि पार्टी एकताको पुरै खाका सार्वजनिक हुने उनले बताए ।


प्रकाशित : पुस १६, २०७४ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?