कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एमाले र माओवादी एकतामा ढिलाइ गरे भड्किन्छ : शाही

काठमाडौँ — काठमाडौं । बिनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले ६ महिनाभित्र एमाले र माओवादी केन्द्रबीच एकता नभए यो प्रक्रिया भड्किन सक्ने बताएका छन् । दुई पार्टीबीचको गठबन्धन र एकता प्रक्रियालाई भाँड्ने षड्यन्त्र देशभित्र र बाहिरबाट भइरहेको आरोप लगाउँदै उनले ढिला भएमा एकता नहुने दाबी गरे । 

एमाले र माओवादी एकतामा ढिलाइ गरे भड्किन्छ : शाही

‘सरकार गठन र पार्टी एकता प्रक्रिया सँगसँगै लैजाने भन्ने छ । छलफल भइरहेकै छ’शनिबार ललितपुरको मन्त्री निवासमा केही सञ्चारकर्मीसँगको कुराकानीमा शाहीले भने, ‘यो छ महिनाभन्दा पर जाँदैन । ढिला गरिए एकता हुँदैन, हुन दिँदैनन् ।’एकता प्रकिया बिगार्न माओवादी र एमालेभित्रका एउटा शक्तिलाई भड्काउन सक्ने प्रति उनको आशंका छ । अहिले एमाले, कांग्रेस र माओवादीभित्र गुट-उपगुट रहेको स्वीकार्दै उनले बेलैमा एकढिक्का नभए ती समूहहरु पनि विभाजित हुने धारणा राखे ।


कम्युनिस्ट पार्टीहरुको अन्तिम लक्ष्य समाजवाद हुँदै साम्यवादसम्म पुग्ने रहेकोले एमाले र माओवादीबीच एकतापछि अवलम्बन गर्ने विचारधारामा कुनै समस्या नरहेको उनको दाबी छ । ‘वामपन्थी शक्तिहरुबीच समाजवादबाट साम्यवादमा जाने विषयमा डिबेट नै छैन’ उनले प्रस्ट्याउँदै भने, ‘अन्तिम लक्ष्यमा कसरी पुग्छौं भन्ने कार्यनीतिमा मात्र बहस हो ।’ शान्तिपूर्ण तरिकाले संसदीय व्यवस्थाबाटै साम्यवादसम्म पुग्नेमा एमाले र माओवादी सहमत भइसकेकाले एकता गर्न लागिएको उनको भनाइ छ । नेत्रविक्रम चन्दबाहेक सबै नेपाली कम्युनिटहरु शान्तिपूर्ण बाटो अर्थात् संसदीय व्यवस्थामा आइसकेका छन् ।


एकतापछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच शक्ति बाँडफाँटमा समेत सहमति नजिक पुगेसकेको नेता शाहीले बताए । उनले भने, ‘दुई पार्टीमा दुई शीर्ष नेता हुनुहुन्छ, केपी ओली प्रधानमन्त्री हुनुभएमा प्रचण्ड पार्टी अध्यक्ष, प्रचण्ड प्रधानमन्त्री बनेमा ओली अध्यक्ष बन्नु हुनेछ ।’ एकतापछि एउटै पार्टी बन्ने भएकोले प्रधानमन्त्री आलोपालो भन्नै नहुने भन्दै शाहीले व्यक्ति फेरिन सक्ने बताए ।


वाम गठबन्धन बन्दादेखि नै एमाले र माओवादीबीच ६०/४० को भागबन्डा गरिएको भन्दै मन्त्री शाहीले प्रदेशको मुख्यमन्त्री समेत त्यही आधारमा हुने औंल्याए । ६ नम्बर प्रदेश माओवादीको भागमा परेमा मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएका छन् शाही । आफूलाई पार्टी नेतृत्वले प्रतिनिधिसभातर्फ चुनाव लड्नका लागि टिकट दिए पनि नेपालको दुर्गम प्रदेश ६ लाई विकास र समृद्धिमा लैजाने उद्देश्यसहित प्रदेशसभा सदस्यमा चुनाव लडेको उनले बताए । ‘मेरो सीप, क्षमता र अनुभव ६ नम्बर प्रदेशको विकासमा लगाउने सोंच छ’ उनले भने, ‘पार्टी निर्णय र गठबन्धनको डिसिजन के आउँछ, त्यसको पालना गर्नेछु ।’शाही कालिकोटको प्रदेशसभा ‘ख’बाट निर्वाचित सांसद् हुन् ।


उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका शाही गत असोज अन्तिम साता राप्रपाबाट मन्त्री थपिएपछि बिनाविभागीय बनेका हु्न् ।

प्रकाशित : पुस ८, २०७४ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?