मेसी भर्सेस रोनाल्डो

स्पेनी लिगमा रियल म्याड्रिड र बार्सिलोनाको खेल आज १७:४५ बजे सुरु हुँदैछ ।
राजु घिसिङ

काठमाडौँ — स्पेनी फुटबलका दुई महारथी बार्सिलोना र रियल म्याड्रिडको प्रतिस्पर्धालाई फुटबलमा हार—जितको खेलको रुपमा मात्र लिइँदैन ।

‘एल क्लासिको’ले धेरै अर्थ बोक्ने गर्छ। क्रिस्टियानो रोनाल्डो सन् २००९ मा म्याड्रिड पुगेयता लियोनल मेसीविरुद्ध रोनाल्डोको खेल पनि बनेको छ, एल क्लासिको।

विश्व फुटबलमा एक दशकयताका सबभन्दा ठूला स्टार नै पोर्चुगिज रोनाल्डो र अर्जेन्टिनी मेसी हुन्। यी दुईमध्ये नम्बर १ खेलाडीको नाम लिनुपऱ्यो भने धेरैसँग स्पष्ट जवाफ हुदैन। रियल र बार्सिलोनाका यी दुई सुपरस्टारले समग्रमा स्पेनी ला लिगा १० पल्ट, युरोपेली च्याम्पियन्स लिग सातपल्ट, बेलन डि’अर (विश्वको सर्बोत्कृष्ट खेलाडीको अवार्ड) १० पल्ट जितेका छन्। त्यसक्रममा उनीहरूले एकपछि अर्को गर्दै लगभग सबै पुराना कीर्तिमान तोडेका छन्। त्यसैले पनि एल क्लासिको रोनाल्डोविरुद्ध मेसीको खेल बन्यो।

पछिल्लो वर्ष रियलले ला लिगा, च्याम्पियन्स लिग, युईएफए सुपरकप, स्पेनी सुपरकप र क्लब विश्वकप गरी ५ उपाधि जित्यो। बार्सा भने कोपा डेल रेको ट्रफिमै सीमित रह्यो। तर यो सिजन (सन् २०१७—१८) बार्सा फेरि उत्कृष्ट लयमा फर्कियो। रियल भने खस्कियो। ला लिगामा बार्साले ११ अंकको अग्रता लिएको छ। आजको एल क्लासिको बार्सासँग दूरी घटाउने अवसर पनि हो रियललाई। र, रोनाल्डोका निम्ति मेसीविरुद्धको प्रतिस्पर्धालाई अझ चर्को बनाउने मौका।

रियलको घरेलु मैदान बर्नाबाउमा खेल हुने भएकोले पनि सट्टेबाजीमा रोनाल्डोले गोल गर्ने संभावना उच्च देखाइएको छ। त्यसपछि मेसी र बार्सामा उसका सहकर्मी लुइस स्वारेज छन्। एल क्लासिकोका सर्बाधिक गोलकर्ता मेसी (२४) हुन्, तेस्रोमा रोनाल्डो (१७) छन्।

रोमाञ्चक तथ्य: रोनाल्डो र मेसीले सन् २०१७ मा ५३—५३ गोल गरेका छन्। क्यालेन्डर वर्षको होडमा एकअर्कालाई उछिन्ने अवसर पनि हो एल क्लासिको। लिगमा मेसी (१४ गोल) सर्बाधिक गोलकर्ता हुन्। उनले यो सिजन १८ गोल गरेका छन्। पछिल्ला चारै खेलमा गोल गरेका रोनाल्डो बल्ल लयमा देखिएका छन्। लिगमा ४ गोलमात्र गरेपनि उनले यो सिजन गोल संख्या १६ पुर्‍याइसकेका छन्।

रोनाल्डोले हालै पाँचौंपल्ट बेलन डि’अर अवार्ड जित्दै मेसीको कीर्तिमान बराबरी गरे। उनको चाहना सातपल्ट अवार्ड जित्ने हो। तर सजिलो छैन। ३२ वर्षीय उनको गोल मेसिन खिया लाग्न थालेको छ। हुन त ३० वर्षीय मेसीको पनि गोलको औसत घटेको छ। क्लब फुटबलमा मेसीले प्रतिखेल ०.८६ र रोनाल्डोले ०.७४ को औसतमा गोल गरेका छन्।

ला लिगामा मेसी ४ र रोनाल्डो ३ सिजन सर्बाधिक गोलकर्ता भए। मेसी क्याटलन क्लब र रोनाल्डो रियलका कीर्तिमानी गोलकर्ता पनि हुन्। युरोपेली च्याम्पियन्स लिगमा रोनाल्डो (११४) को कीर्तिमान छ। उनलाई मेसी (९७) ले पछ्याइरहेका छन्। ला लिगामा मेसी (३६३ गोल) लाई रोनाल्डो (२८९) पछ्याइरहेका छन्। बार्साको ला मसिया एकेडेमीमा हुर्किएका मेसीले सन् २००४ देखि ला लिगा खेलिरहेका छन्।

पोर्चुगलको स्पोर्टिङपछि इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड हुदै रोनाल्डो २००९ मा म्याड्रिड पुगेका थिए।

ला लिगाको ह्याट्रिक होडमा रोनाल्डो ३२—२८ ले अगाडि छन् तर उनले बार्साविरुद्ध एकै खेलमा ३ गोल गर्न सकेका छैनन्। मेसीले भने एल क्लासिकोमा दुईपल्ट ह्याट्रिक गरिसकेका छन्। यी दुईवीच क्लब फुटबलको उपाधि होडमा मेसी ३०—२६ ले अगाडी छन्।
(एजेन्सीहरुको सहयोगमा)

प्रकाशित : पुस ८, २०७४ १६:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आमाद्वारा छोरीको हत्या

कान्तिपुर संवाददाता

दमक — मोरङको पथरीशनिश्चरे-१० स्थित भुटानी शरणार्थी शिविरमा एक महिलाले आफ्नै तीन दिने शिशुको हत्या गरेकी छन् । इलाका प्रहरी कार्यालय पथरीका अनुसार शनिश्चरे शिविर सेक्टर ‘बी’ हट नम्बर १० की २७ वर्षीया लक्ष्मी गुरुङले तीन दिने छोरीको हत्या गरेकी हुन् । 

शुक्रबार राति ११ बजे दूध खुवाउने क्रममा रोएपछि लक्ष्मीले हिर्काएर शिशुको हत्या गरेको प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले बताए । उनका अनुसार घरमा एक्लै रहेकी लक्ष्मीले शिशुको मुखमा मुक्का प्रहार गरेकी थिइन् । मुक्का प्रहारबाट शिशुको घटनास्थलमै मृत्यु भएको थियो ।

छिमेकीकोमा गएका श्रीमान बरुण गुरुङ्गले घर फर्किएर छोरीबारे सोधीखोजी गर्दा लक्ष्मीले आफूले मारेर फालेको बताएकी थिइन । लक्ष्मीले शिशुको हत्या गरी शिविर नजिकैको पैनीमा लगेर फालेकी थिइ्न । घटनालगत्तै लक्ष्मीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । श्रीमान बरुणका अनुसार लक्ष्मीले मानसिक रोगको औषधी सेवन गर्दै आएकी छिन् ।

प्रकाशित : पुस ८, २०७४ १६:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT