किशुनजीलाई सम्झिंदै ओलीले भने,‘जीवन रहेसम्म इमानका साथ काम गर्छु’

‘गोठालाको छोरा हुँ, दम्भ छैन’
कान्तिपुर संवाददाता

ललितपुर — एमाले अध्यक्ष केपी शर्मा ओलीले सीमित रहे पनि आफ्नो आयुको चिन्ता कहिल्यै नलिने बताएका छन् ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्तीको अवसरमा आयोजित सभामा सहभागी केपी शर्मा ओली । तस्बिर सौजन्य : चेतन अधिकारी ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्तीलाई ललितपुरमा शनिबार सम्बोधन गर्दै ओलीले जीवन रहेसम्म इमानका साथ काम गर्ने उल्लेख गरे ।

‘११ वर्षअघि किड्नी फेरेको, कहिले निमोनिया, कहिले मेनेन्जाइटिस भएर गयो–गयो भन्नेजस्तो भए पनि,’ उनले भने, ‘सबैको आयुको सिमा हुन्छ, असीमित आयु कसैको छैन, मेरो पनि आयुको सीमा छ, तर आयुको विषयमा म चिन्ता गर्दिन ।’

अध्यक्ष ओलीले आयु, ज्ञान, सामर्थ्य सीमित भए पनि आफू इमानको सीमा राख्नुपर्छ भन्ने पक्षमा नरहेको बताए । ‘सम्पूर्ण इमानका साथ काम गर्नुपर्छ, इमानको सीमा हुँदैन,’ उनले भने, ‘राजनीतिमा यतिसम्म चल्छ, राजनीतिमा यति बेइमानी गर्न मिल्छ भनेर ठाउँ राख्दिनँ ।’ विकास भनेको बाटो, बिजुली, सञ्चार र शिक्षामात्र नभई इतिहासको संरक्षण पनि रहेको उनको भनाइ थियो ।

ओलीले चुनावका बेलामा दलहरुबीच मनमुटाव रहनु स्वभाविक रहेको भन्दै विकासका लागि सबै दल एक हुनुपर्नेमा जोड दिए । ‘म गाउँमा गाईभैंसी चराएर हुर्किएको ठिटो, हलीको छोरो, गोठालाको छोरालाई शासकीय रवाफ छैन,’ उनले भने, ‘मैले के दम्भ देखाउने ?’

प्रकाशित : पुस ८, २०७४ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्

दुई करोड ६० लाख रोपनी खेतीयोग्य जमिन बाँझो

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारको सामूहिक, करार र सहकारी खेतीको अवधारणा अन्ततः कागजमा सीमिति भएको देखिन्छ । सामूहिक, करार र सहकारी खेतीसम्बन्धी ऐन नभएका कारण घोषित अवधारणा लिखितमा मात्रै सीमित हुन गएको हो । 

भूमिहीन किसानलाई जमिन उपभोग गर्ने दिएर आगामी तीन वर्षभित्र मुलुकलाई कृषिमा आत्मनिर्भर बनाइने योजना पनि कागजमा सीमित भएको छ । सरकारले कृषिमा आत्मनिर्भर हुन, वैदेशिक रोजगारमा गएका युवालाई यसप्रति आकर्षण गर्न, न्यून ब्याजदरमा कृषि ऋण उपलब्ध गराउने घोषणका साथै करार खेतीको अवधारणअनुसार कृषि क्षेत्रको विकास गर्न आर्थिक वर्ष ०७३/७४ को वार्षिक बजेटमार्फत घोषणा गरेको थियो ।

भारत, चीन, भियतनाम, बङ्गलादेश लगातयका मुलुकमा करार खेती सफल मानिएको छ । सोही विषयलाई अनुसरण गर्दै नेपालमा पनि करार खेती ऐन ल्याउने विषयमा पटक पटक छलफल भएको थियो । घोषणा गरिएको विषय कार्यान्वयन नहुनु, करार ऐन पारित नहुनु, खेती गर्नसक्ने युवा वैदेशिक रोजगारीमा जानु, जमिनमा सिँचाइ सुविधा नहुनु आदि कारणले खेतीयोग्य जमिन बाँझिने क्रम बढेकोबढै छ ।

कृषिको व्यावसायीकरणका लागि करार खेती प्रभावकारी मानिन्छ । करार खेतीबाट कृषकलाई बैंकिङ ऋण र बीमा गराउन सजिलो, बजार मूल्यसम्बन्धी जोखिम बहन गर्नुपर्ने अवस्थाको अन्त्य र उत्पादित वस्तु बिक्री–वितरणमा सजिलो हुने भएकाले करार ऐन आवश्यक छ, कृषक समूह महासंघ नेपालका अध्यक्ष उद्धव अधिकारी भन्छन् । सरकारी, सहकारी र निजी तहबाट कृषिको आधुनिकीकरण, व्यावसायीकरण र आधुनिकीकरण गर्ने भन्ने योजना पनि ऐन नभएकै कारण अलपत्रमा परेको विज्ञहरुको भनाइ छ । सरकारले जमिनको खण्डीकरण, घडेरीकरणको रोकावट र जमिन बाँझो राख्नेलाई जरिवानासमेत तोक्ने निर्णय गरेको थियो । सरकारको सो निर्णय आर्थिक वर्ष ०७४/७५ को बजेटमार्फत भएको हो । जमिन बाँझो भएकै कारण आयात बढ्ने देखिन्छ ।

हाल भारतबाट प्रतिमहिना रु दुई अर्बको चामल आयात भइरहेको वाणिज्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । कृषि मज्दुर, भूमिहिन र सीमान्तकृत, मझौला र कृषि क्षेत्रमा संलग्न किसान, उद्यमी तथा व्यवसायीलाई सामूहिक तथा करार खेती गर्न दिने र उत्पादित वस्तुको बजारको सुनिश्चिततामार्फत कृषिको परनिर्भरता हटाइने योजना अन्तत व्यवहारमा लागू नभएकाले कृषि उपजको आयात बढेको हो ।

यसो हुँदा पनि कृषि विकास मन्त्रालयले भने आगामी तीन वर्षमा धान, मकै, तरकारी र माछामा नेपाल आत्मानिर्भर भई निर्यात गर्न सक्ने दाबी गरेको छ । कृषि विकास मन्त्रालयका सहसचिव योगन्द्रकुमार कार्कीले आगामी तीन वर्षमा रु तीन अर्बको धान, रु एक अर्बको मकै, रु एक अर्ब ३९ करोडको दलहन बाली, रु ८३ करोडको तरकारी र रु २८ करोडको माछा निर्यात गर्ने लक्ष्य लिएको बताए । तथ्याङ्कअनुसार ६५ प्रतिशत जनता कृषिमा आत्मनिर्भर छन् । कृषि प्रधान मुलुकमा दुई करोड ६० लाख रोपनी जमिन बाँझो हुनुले कृषिको परनिर्भरता बढदै जानु चिन्ताको विषय हो ।

कृषि विकास मन्त्रालयका सह–प्रवक्ता शङ्कर सापकोटा जमिन बाँझो नहुने हो भने नेपालले कृषि वस्तुको आयात गर्नु नै नपर्ने बताउँछन् । हाल सरकारी तथ्याङ्कअनुसार दस लाख ३० हजार हेक्टर जमिन बाँझो छ । हाल ३० लाख ९१ हजार हेक्टर जमिनमा खेती गरिँदै आएको छ । बाझिएको करिब आठ करोड २४ लाख २० हजार रोपनीमा खेती गर्न सकिन्छ । एक हेक्टर भनेको २० रोपनी जग्गा हो ।

कूल खेती गर्न योग्य जमिनको ३३ दशमलव ३२ प्रतिशत जमिन बाझिएको छ । खेतीको अलवा ५८ लाख २६ हजार ४४० हेक्टर क्षेत्रफल वनजंगल र एक हजार ५६० झाडी, चरीचरनको क्षेत्र १७ लाख ६६ हजार, पानीले ओगटेको क्षेत्रफल तीन लाख ८३ हजार र अन्य सिमसारलगायत २६ लाख २० हजार गरी कूल एक लाख ४७ हजार १८१ वर्ग किमि जमिन छ ।

छैटौँ कृषि गणना २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको उल्लेख छ । एक लाख १६ हजारले आफ्नै जमिन नभएका कारण कृषि पेशा गर्न पाएका छैनन् । गणनामा ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेकामा ८३ प्रतिशत जनता कृषि पेसामा आत्मनिर्भर रहेको जनाएको छ । ४२ प्रतिशत कृषकले कृषि कर्म गर्न ऋण उपलब्ध नभएको बताएका छन् । जग्गाको हदबन्दी तोक्ने, कृषि पेसालाई मर्यादित, कृषि बीमा र कृषि ऋणमा सरकारले बैंक तथा वित्तीय संस्थालाई लगानी गर्न प्रोत्साहित गर्ने र आगामी तीन वर्ष भित्रमा नेपाललाई कृषिमा पूर्ण आत्मनिर्भर बनाइन २० वर्षे कृषि विकास रणनीतिमा उल्लेख छ ।

प्रकाशित : पुस ८, २०७४ १६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्