२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

दमकल भवन पुनर्निर्माण अन्योल

भक्तपुर — जिल्लाको एक मात्र जुद्ध वारुण यन्त्र (दमकल) को कार्यालय भूकम्पले क्षतिग्रस्त छ । क्षतिग्रस्त भवनबाटै करिब ३२ महिनायता कार्यालय सञ्चालन हुँदै आएको छ । २००१ सालमा कार्यालय स्थापना भएको हो । स्थापनाकालदेखि भोगचलन गर्दै आएको भए पनि जग्गा आफ्नो नाममा नहुँदा क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा छ ।

दमकल भवन पुनर्निर्माण अन्योल

कार्यालय प्रमुख विजयप्रसाद द्यौभडेलका अनुसार साबिक भक्तपुर नगरपालिका १७ दुधपाटीको २२७ नम्बर कित्ताको ९५ रोपनी सार्वजनिक जग्गा २०४० असोजमा ‘सैन्य तालिम केन्द्र’ को नाममा नामसारी भयो । जसमध्ये हालको भक्तपुर नगरपालिका १, दूधपाटीस्थित सैनिक आवासीय महाविद्यालयको पूर्वपट्टिको पर्खालसँगै जोडिएको ‘सैन्य तालिम केन्द्र’को ३ रोपनी ७ आना २ पैसा क्षेत्रफल जग्गा दमकलको कार्यालयले ओगटी भोगचलन गर्दै आएको छ । भूकम्पले क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि सरकारले आव ०७२/७३ मा ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । चालु आव ०७४/७५ मा सहरी विकास तथा भवन विभाग डिभिजन कार्यालय भक्तपुरमार्फत कार्यालय पुनर्निर्माणका लागि थप ५ करोड रुपैयाँ विनियोजन भएको द्यौभडेलले बताए । तर, भवन बसेको जग्गा ‘सैन्य तालिम केन्द्र’का नाममा भएकाले नक्सापासमा कठिनाई भएकाले छ । ‘यसैले पुनर्निर्माण अन्योलमा पर्‍यो,’ द्यौभडेलले भने ।

गृह मन्त्रालयमार्फत सोही स्थानमा भवन पुनर्निर्माणका लागि कार्यालयले ३० वर्षका लागि जग्गा दिन केन्द्रलाई पत्राचार गरेको थियो । तर, केन्द्रले ५ वर्षका लागि भाडामा दिने सहमति गरेको द्यौभडेलले बताए । ‘५ वर्षमा त भवन पनि बनिसक्दैन,’ उनले गुनासो गरे । जुद्ध बारुण यन्त्रको कार्यालयले भने आफ्ना नाममा अन्त कहीं जमिन नभएको र केन्द्रलाई भवन पुनर्निर्माणका लागि जमिनको मञ्जुरीनामा माग गरेको जनाएको छ । ‘सैन्य तालिम केन्द्रको जग्गा दमकलका नाममा नामसारी गर्नु पर्दैन,’ द्यौभडेलले भने, ‘२००१ देखि भोगचलन गर्दै आएको जग्गामा भवन पुनर्निर्माणका लागि मञ्जुरीनामाको मात्र माग गरेको हो ।’ मञ्जुरीनामाका लागि केन्द्रलाई २ वर्षअघि नै पत्र पठाए पनि प्रतिक्रिया दिन ढिलाइ भएको उनले बताए । भवन निर्माणका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित मन्त्रालयमा पटक/पटक पत्र पठाइसकेको समेत उनले बताए ।

प्रकाशित : पुस ८, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?