बन्दै अशक्तका घर

विपन्न २ परिवारका सुरु अभियानले सार्थकता पायो
प्रदीप मेन्याङ्बो

धरान — अशक्त पुण्यप्रसाद प्याकुरेल र ज्ञानबहादुर माझीको घर निर्माण गर्ने सपना केही महिनाभित्र पूरा हुँदैछ । मजदुरी गरेर जीविका चलाउने ३८ वर्षीय प्याकुरेल सवारी दुर्घटनामा परी मेरुदण्ड भाँचिएपछि अशक्त छन् ।

धरानका अशक्त ज्ञानबहादुर माझीको बन्दै गरेको घर । इन्सेटमा मेरुदण्ड भाँचिएका पुण्यप्रसाद प्याकुरेल ।

माझी दुवै हात नचले पनि पत्रिका बेच्ने हकर भएर जीविका चलाउँदै आएका सुकुम्बासी हुन् । धरानका सञ्चारकर्मी र यातायात मजदुर संगठनको पहलमा उनीहरूको घरबन्दै गरेको हो । प्याकुरेलबारे नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले सञ्चार माध्यमबाट थाहा पाएपछि सामाजिक सञ्जालमा घर निर्माणका लागि आर्थिक सहयोग याचना गरेपछि रकम तथा जिन्सी जुट्न थालेको थियो ।
माझीका बारेमा सञ्चारकर्मी जनकऋषि राईले थाहा पाएपछि पाँच/सात लाख रुपैयाँ संकलन गर्न
सके सुकुम्बासी बस्तीमा सानो घर बनाइदिने भन्दै जुटेका छन् । प्याकुरेलको धरान १५ महादेवचोकनजिकै र माझीको धरान–११ को सुकुम्बासी बस्तीमा घर धमाधम बन्दै छ ।
प्याकुरेल घर निर्माण समिति संयोजकसमेत रहेका संगठनकाकेन्द्रीय अध्यक्ष भीमले भने, ‘सहयोगको अनुरोध गरेर केही महिनाअघिफेसबुकमा हालेको थिएँ । स्वदेश र विदेशमा बसेका साथीले विश्वास गरेर सघाएपछि गत सातामात्रै घर निर्माण काम सुरु भएको छ ।’
प्याकुरेलको घर निर्माणका लागि करिब ५ लाख रुपैयाँको इस्टिमेटमा हालसम्म नगद र जिन्सी गरी करिब चार लाख प्राप्त भएको उनले बताए । उनका अनुसार कतिपय सहयोग गर्ने घर निर्माणस्थलमै पुगेर सघाउन थालेका छन् । संखुवासभा बस्ने सन्तोष राईले ३५ हजार रुपैयाँको जस्तापाता, हिमाल राईले ६० हजारको इँटा, धरान १८ का वडाध्यक्ष प्रवीण राईले २० बोरा सिमेन्ट, मनकामना हार्डवेयर सञ्चालक नवीन राजभण्डारीले २० बोरा सिमेन्ट, केके इन्टरनेसनल स्कुलका अध्ययक्ष प्रवीण अग्रवालले २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी धरान १५ का अध्यक्ष नरेश इवारमले निर्माणस्थलमै पुगेर २५ हजार सहयोग गरे । महालक्षमी इलेक्ट्रोनिक्सका सञ्चालक भरत अग्रवालले ४० हजार बराबरको फ्रिज र टेलिभिजन, न्यु धरान आल्मुनियम एन्ड स्टील वर्कसपका प्रोपाइटर भुपाल राईले २४ हजार बराबरको झयाल निर्माण गरिदिने भएका छन् भने धरान ५ का अध्यक्ष सन्तोष लिम्बूले १४ हजार ५ सय ५ सहयोग गरेका छन् ।
पछिल्लो समयमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख, मुटु र मृगौला रोग विशेषज्ञ डा. सञ्जीव शर्माले १० हजार रुपैयाँ प्रदान गरेका छन् । धरानका राजेश हार्डवेयरका सञ्चालक राजेश श्रेष्ठले १० हजार बराबरको पानी ट्यांकी प्रदान गरेका छन् । एमालेधरान कार्यवाहक अध्यक्ष नारायण सुवेदीले ५ हजार, धनपति दाहालले ५ हजार, युवासंघ नेपाल १ नम्बर प्रदेश सदस्य दिनेश बान्तावा राईले ६ हजार प्रदान गरे ।
हकर माझीका लागि करिब तीन लाखको बजेटमा घर निर्माण सुरु भएको छ । उनलाई वडा–१७ का वडाध्यक्ष मनोज भट्टराईले ४० हजार रुपैयाँ बराबरको जस्तापाता, व्यवसायी मनोज विष्टले १५ हजार बराबरको पानी ट्यांकी, धरान हङकङ मञ्चका पूर्वअध्यक्ष प्रदीप थापाले १० बोरा सिमेन्ट, धरान १८ का अध्यक्ष प्रवीण राईले नगद ५ हजार सहयोग गरेका छन् ।
माझीका लागि धरानका सञ्चारकर्मीले गत तिहारमा देउसी खेलेर संकलन गरेको सबै रकम सहयोग गरेको घर निर्माणका पहलकर्ता जनकऋषिले बताए । माझी र प्याकुरेलले आफू अशक्त भएपछि यतिकै जिन्दगी बित्ने भयो भनेर चिन्ता लिए पनि यातायात मजदुर संगठन र सञ्चारकर्मीकोपहलमा घर बन्न लागेकामा खुसी व्यक्त गरेका छन् ।

प्रकाशित : पुस ८, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्

निर्वाचन विवाद सर्वोच्चमा

कान्तिपुर संवाददाता

काठमाडौँ — धनुषा ३ मा माओवादी केन्द्रका रामसिंह यादव, तनहुँमा कांग्रेसका प्रदीप पौडेल र संखुवासभामा कांग्रेसकै दीपक खड्काले निर्वाचन बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचन र नतिजा घोषणाबाट असन्तुष्ट उम्मेदवारहरू सर्वोच्च अदालत जाने क्रम बढेको छ । यस्ता निवेदनको सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलमा झिकाएको छ ।

राजपाका नेता राजेन्द्र महतो विजयी भएको धनुषा ३ को विवादमा सर्वोच्चको संवैधानिक इजलासले निर्वाचन आयोग र रिट निवेदकलाई छलफलमा डाकेको छ । उक्त क्षेत्रमा पराजित माओवादी केन्द्रका उम्मेदवार रामसिंह यादवले रिट दर्ता गराएका हुन् । यादवले तेस्रो स्थान ल्याएको धनुषा ३ मा कांग्रेस उम्मेदवार विमलेन्द्र निधि निकटतम प्रतिद्वन्द्वी हुन् । सर्वोच्चले अन्तरिम आदेशको छलफलमा दुवै पक्षलाई बोलाएको छ ।

रिटमा यादवले मौन अवधिमा स्थानीय टेलिभिजन र अनलाइनले वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामसिंह यादवले राजपाका उम्मेदवार राजेन्द्र महतोलाई समर्थन गरेको भन्ने झूटो समाचार प्रवाह गरेकाले आफू पराजित भएको दाबी गर्दै निर्वाचन बदरको माग गरेका छन् । तनहुँको निर्वाचनमा पनि मतगणनामा धाँधली भएको भन्दै परेको रिटमा सर्वोच्चले दुवै पक्षलाई झिकाएको छ । कांग्रेस उम्मेदवार प्रदिप पौडेलले दायर गरेको रिटमा मतगणनामा धाँधली भएको भन्दै निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएका छन् ।

संखुवासभाको मतगणना विवाद पनि सर्वोच्चको संवैधानिक इजलास पुगेको छ । कांग्रेस उम्मेदवार दीपक खडकाले मतगणनामा स्वच्छता नभएको भन्दै रिट दर्ता गराएका थिए । संवैधानिक इजलासले ७ दिनभित्र लिखित जवाफ पेस गर्न र अन्तरिम छलफलमा उपस्थित आदेश दिएको छ । साथै, निर्वाचनमा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायत कागजात झिकाउनसमेत आदेश दिइएको छ ।

प्रकाशित : पुस ८, २०७४ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्