कहिले बन्छ अरुणमा पुल ?

कामै नसकी ठेकेदार हिँडे
दीपेन्द्र शाक्य

संखुवासभा — सदरमुकाम खाँदबारी र भोजपुरको षडानन्द नगरपालिका जोड्ने अरुण नदीमा निर्माणाधीन पक्की पुल लामो समयदेखि अलपत्र बनेको छ । विभिन्न कारण देखाउँदै तीन वर्षअघि बीचमै काम छाडेर ठेकेदार हिँडेपछि पुल बेवारिसेजस्तै बनेको हो ।

संखुवासभाको खाँदबारी र भोजपुरको षडानन्द नगरपालिका जोड्ने अरुण नदीमा बन्दै गरेको अलपत्र पुल । ५ वर्षअघि निर्माण सुरु भएको उक्त पुलको हालसम्म २० प्रतिशतमात्रै काम भएको छ ।

०७२ असोजमा निर्माण सक्नुपर्ने एक सय ६७ मिटर लामो यो पुलमा ६ वटा पिलरमात्रै उठाउने काम भएको छ । सडक विभागको बेवास्ता र ठेकेदारको लापरबाहीले निर्माण तीव्र गतिमा हुन नसकेको हो ।
पाँच वर्षअगाडि सम्झौता भएको पुल अहिलेसम्म २० प्रतिशतमात्र काम भएको छ । सम्झौताअनुसार दुई वर्षअघि नै निर्माण सक्नुपर्ने हो । समयमै पुलको काम नसक्दा स्थानीय काठको डुंगामा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
षडानन्द नगरपालिकाका पासाङ शेर्पाले पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपरेको गुनासो सुनाए । डुंगाबाट मोटरसाइकल तार्ने पनि गरिन्छ । दिंलाबाट खाँदबारी आउनेले अरुणमा पुल नभएपछि २ सयसम्म तिरेर मोटरसाइकल तार्छन्, उनले भने, ‘वर्षाका बेला खोला बढ्यो भने घण्टांै कुर्नुपर्छ । नभए खाँदबारीतिरै फर्केर जानुपर्छ ।’ ठेकेदारले तीन वर्षअघि पुलको जमिनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको कारण देखाउँदै काम गर्न छाडेको स्थानीय प्रशासनले जनाएको छ । सडक डिभिजन कार्यालयले पनि पुलमा चासो नदिएको शेर्पाले बताए । यो पुल बने भोजपुरका २० गाउँका सर्वसाधारणलाई आउजाउमा सहज हुने थियो । भोजपुरका उत्तरी क्षेत्रका बासिन्दाको किनमेल गर्ने बजार खाँदबारी नै हो । यहाँबाट होलसेलमा लगिएको दैनिक उपभोग्य सामग्री पनि डुंगाबाट तार्दा महँगो भएको दिंलाका दमन कटुवालले बताए । डुंगाबाट सामान तार्दा प्रतिकिलो ५ रुपैयाँसम्म भाडा तिर्नुपर्ने उनले जनाए । ‘पुल बनिदिए खाँदबारीबाट सीधा दिंला यातायात चल्थ्यो,’ उनी भन्छन्, ‘अहिले पुरवारि एउटा र पारि अर्को गाडी फेरेर जानुपर्छ ।’
दिंलावासी पटकपटक तुम्लिङटारस्थित सडक डिभिजनमा गुनासो लिएर आए पनि कर्मचारीबाट सुनुवाइ नभएको स्थानीय प्रेमबहादुर श्रेष्ठले बताए । उनका अनुसार पुल छिटो पूरा गर्न भन्दै ५ पटक स्थानीयले कार्यालयमा धर्ना दिइसके । ०६४ पछि बनेको हरेक सरकारमा भोजपुरका नेताले विकासे मन्त्रालय सम्हालेका छन्, उनले भने ।
०७० को संविधानसभा निर्वाचन र ५ महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि दलहरूले एउटै प्रतिबद्धता जनाएको सम्झँदै उनले भने, ‘त्यो प्रतिबद्धता थियो, ०६७ बाट अलपत्र संखुवासभा–भोजपुर जोड्ने अरुण नदीको पक्की पुल सम्पन्न गर्ने । तर, जितेर गएका नेताले अहिलेसम्म बाचा पूरा गरेनन् । यसपटक जिताएकाको पनि पहिलो एजेन्डा यही पुललाई बनाएका छन् ।
हरेकपटक नेताहरू भोट माग्न आउँदा चर्का भाषण र चिप्ला आश्वासन बाँडेर जाने गरेको नेताले यो पुल बनाउन दबाब दियोस् । सम्झौता सकिएपछि बाँकी काम बीचमै छाडेर ठेकेदार हिँडेपछि पुल बन्छ कि बन्दैन चासोको विषय बनेको छ ।

प्रकाशित : पुस ८, २०७४ ०८:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पर्यटकीय गाउँ बन्दै देउजनथोक

कान्तिपुर संवाददाता

लमजुङ — गाउँको रहनसहन हेर्दै आनन्द लिन गाउँ आउने क्रम बढेपछि देउजनथोकका बासिन्दा पर्यटन प्रवद्र्धनमा जुटेका छन् ।

लमजुङको बेंसीसहर नगरपालिका १०, देउजनथोकमा आन्तरिक पर्यटक तथा पर्यटक आउँदा बढेको जमघट ।

पर्यटन प्रवद्र्धनका लागि बाटोघाटोको साप्ताहिक सरसफाइको पालो मिलाइएको छ । फोहोर फाल्न ठाउँठाउँमा डस्टबिन राखिएका छन् । खोल्साखोल्सी, बाटोघाटो तथा खुला ठाउँमा दिसापिसाब गर्न बन्देज गरिएको छ । घरघरमाशौचालय र खानेपानीको ब्यवस्था मिलाइएको छ ।
पर्यटक पाहुनालाई खुवाउन बारीमा रैथाने सागपात, अन्न तथा तरकारी उब्जाउन थालेका छन् । देउजनथोक धार्मिक तथा ऐतिहासिकस्थल बराहपोखरी जाने मुख्य ढोका पनि हो । त्यही ठाउँमा स्थानीयले पर्यटकका लागि स्वागत गर्न चौतारो निर्माण गरेका छन् । मूल बाटोबाट गाउँसम्म सिँढी निर्माण गरेका छन् । पाहुनालाई चौतारोसम्म लिन आएपछि स्वागत गर्दै सामुहिक भवनमा लगेर सामुहिक रुपमा खुवाउने गरेका छन् । स्थानीयका अनुसार गाउँले रहनरहज, पौराणिक खेतीकिसानी, बनजंगलका जनावर तथा जडिबुटीहेर्नका लागि पनि देउजनथोकउपयुक्त गाउँ हो ।
बेंसीसहर नगरपालिका १० (साविक बाँझखेत गाविस २) मा पर्ने देउजनथोक गाउँमा ४१ घर छन् । स्थानीय कृषिमा आत्मनिर्भर छन् । पर्यटकलाई स्वागत गर्न गाउँका आमा समूह, युवा समूह तथा बाबा समूह नै लागिपरेको स्थानीय अगुवा बुद्धिजंग गुरुङले बताए । उनका अनुसार बेंसीसहरदेखि मस्र्याङदी नदी तरेर करिब आधा घण्टाको मोटरयात्रापछि देउजनथोक गाउँ पुगिन्छ । गाउँसम्म मोटरमा जान सकिन्छ । ‘सहरबजार नजिकै छ । नजिकै भएर पनि हामी पछाडि पर्‍यौं,’ उनले
भने, ‘अब मस्र्याङदीमा पूल बनेपछि हामी पनि सुगमका हुन्छौं । हामी गाउँको विकासमा जुटेका छौं ।’ उनले गाउँलाई प्रचारप्रसार गरी पर्यटक बोलाउने कार्य सुरु भएको बताए । उनका अनुसार पर्यटकलाई घाँटु, कृष्णचरित्र, आमा समूहको नाच लगायतले स्वागत गर्ने गरिएको छ ।
हिमालचुली आमा समूहकी अध्यक्ष सरला गुरुङका अनुसार गाउँलेले पाहुना आउने जानकारी पाउनेवित्तिकै चौतारोसम्म लिन जाने र गाउँमा स्वागत गर्ने गरेका छन् । शनिबारैपिच्छे बाटोको सरसफाइ गर्ने गरिएको छ । ‘गाउँ आउने पर्यटकलाई हामी फूलमालाले स्वागत गर्छौं । खदाले बिदाइ गर्छौं । बिदाइमा स्थानीय मदिरा ३ पटक चखाउँछौं’ उनले भनिन् । उनका अनुसार पर्यटकलाई मनपर्ने खाना भढेको ढिँडो र लोकल कुखुराको मासु अनि स्थानीय मदिरा हो । हरेक घरमा यसको व्यवस्था रहेकाले पर्यटकलाई कुनै समस्या छैन । ‘हामी होमस्टे बनाउने छलफलमा छौं । आमा समूहको नयाँ घर बनाउने तयारी पनि गरेका छौं’ उनले भने, ‘हिजोसम्म कोही आउने थिएन । यतिकै चल्थ्यो । अब त पाहुना आउने भए, पुरानै चलनले भएन ।’
गाउँलाई पर्यटकीय गन्तब्य बनाउन पर्यटकीय एवं ऐतिहासिक बराहपोखरीलाई जोड्ने गरी पदमार्गको निर्माणको पनि तयारी गरिएको छ । गाउँबाट एक दिनमा पुगिने बराहपोखरी देउजनथोक भएर जाने गरिएको छ । यसको पहिलो खुड्किलो स्थानीयले करिब साँढे ३ लाख रुपैयाँ खर्चेर छानोसहितको बिश्रामस्थल (चौतारो) निर्माण गरेका छन् । लमजुङ उद्योग वाणिज्य संघको एक गाउँ, एक उत्पादन (ओभीओपी) कार्यक्रमअन्तर्गत १ लाख ५० हजार रुपैयाँ सहयोग छ भने बाँकी स्थानीयले नै व्यवस्थापन गरेका छन् । ‘बराहपोखरीको पर्यटन प्रवद्र्धनको लागि चौतारो सुरुवात हो । हामी मिसन बराहपोखरी लिएर अघि बढेका छौं,’ शुक्रबार चौतारोको उद्घाटन गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले भने, ‘हामी बराहपोखरी पर्यटकीय रुटको सर्भे गर्ने तयारीमा छौं । यो पदमार्गको क्षेत्रमा कोशेढुंगा सावित हुनेछ ।’

प्रकाशित : पुस ८, २०७४ ०८:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्