कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पर्यटकीय गाउँ बन्दै देउजनथोक

लमजुङ — गाउँको रहनसहन हेर्दै आनन्द लिन गाउँ आउने क्रम बढेपछि देउजनथोकका बासिन्दा पर्यटन प्रवद्र्धनमा जुटेका छन् ।

पर्यटकीय गाउँ बन्दै देउजनथोक

पर्यटन प्रवद्र्धनका लागि बाटोघाटोको साप्ताहिक सरसफाइको पालो मिलाइएको छ । फोहोर फाल्न ठाउँठाउँमा डस्टबिन राखिएका छन् । खोल्साखोल्सी, बाटोघाटो तथा खुला ठाउँमा दिसापिसाब गर्न बन्देज गरिएको छ । घरघरमा शौचालय र खानेपानीको ब्यवस्था मिलाइएको छ ।

पर्यटक पाहुनालाई खुवाउन बारीमा रैथाने सागपात, अन्न तथा तरकारी उब्जाउन थालेका छन् । देउजनथोक धार्मिक तथा ऐतिहासिकस्थल बराहपोखरी जाने मुख्य ढोका पनि हो । त्यही ठाउँमा स्थानीयले पर्यटकका लागि स्वागत गर्न चौतारो निर्माण गरेका छन् । मूल बाटोबाट गाउँसम्म सिँढी निर्माण गरेका छन् । पाहुनालाई चौतारोसम्म लिन आएपछि स्वागत गर्दै सामुहिक भवनमा लगेर सामुहिक रुपमा खुवाउने गरेका छन् । स्थानीयका अनुसार गाउँले रहनरहज, पौराणिक खेतीकिसानी, बनजंगलका जनावर तथा जडिबुटी हेर्नका लागि पनि देउजनथोक उपयुक्त गाउँ हो ।

बेंसीसहर नगरपालिका १० (साविक बाँझखेत गाविस २) मा पर्ने देउजनथोक गाउँमा ४१ घर छन् । स्थानीय कृषिमा आत्मनिर्भर छन् । पर्यटकलाई स्वागत गर्न गाउँका आमा समूह, युवा समूह तथा बाबा समूह नै लागिपरेको स्थानीय अगुवा बुद्धिजंग गुरुङले बताए । उनका अनुसार बेंसीसहरदेखि मस्र्याङदी नदी तरेर करिब आधा घण्टाको मोटरयात्रापछि देउजनथोक गाउँ पुगिन्छ । गाउँसम्म मोटरमा जान सकिन्छ । ‘सहरबजार नजिकै छ । नजिकै भएर पनि हामी पछाडि पर्‍यौं,’ उनले

भने, ‘अब मस्र्याङदीमा पूल बनेपछि हामी पनि सुगमका हुन्छौं । हामी गाउँको विकासमा जुटेका छौं ।’ उनले गाउँलाई प्रचारप्रसार गरी पर्यटक बोलाउने कार्य सुरु भएको बताए । उनका अनुसार पर्यटकलाई घाँटु, कृष्णचरित्र, आमा समूहको नाच लगायतले स्वागत गर्ने गरिएको छ ।

हिमालचुली आमा समूहकी अध्यक्ष सरला गुरुङका अनुसार गाउँलेले पाहुना आउने जानकारी पाउनेवित्तिकै चौतारोसम्म लिन जाने र गाउँमा स्वागत गर्ने गरेका छन् । शनिबारैपिच्छे बाटोको सरसफाइ गर्ने गरिएको छ । ‘गाउँ आउने पर्यटकलाई हामी फूलमालाले स्वागत गर्छौं । खदाले बिदाइ गर्छौं । बिदाइमा स्थानीय मदिरा ३ पटक चखाउँछौं’ उनले भनिन् । उनका अनुसार पर्यटकलाई मनपर्ने खाना भढेको ढिँडो र लोकल कुखुराको मासु अनि स्थानीय मदिरा हो । हरेक घरमा यसको व्यवस्था रहेकाले पर्यटकलाई कुनै समस्या छैन । ‘हामी होमस्टे बनाउने छलफलमा छौं । आमा समूहको नयाँ घर बनाउने तयारी पनि गरेका छौं’ उनले भने, ‘हिजोसम्म कोही आउने थिएन । यतिकै चल्थ्यो । अब त पाहुना आउने भए, पुरानै चलनले भएन ।’

गाउँलाई पर्यटकीय गन्तब्य बनाउन पर्यटकीय एवं ऐतिहासिक बराहपोखरीलाई जोड्ने गरी पदमार्गको निर्माणको पनि तयारी गरिएको छ । गाउँबाट एक दिनमा पुगिने बराहपोखरी देउजनथोक भएर जाने गरिएको छ । यसको पहिलो खुड्किलो स्थानीयले करिब साँढे ३ लाख रुपैयाँ खर्चेर छानोसहितको बिश्रामस्थल (चौतारो) निर्माण गरेका छन् । लमजुङ उद्योग वाणिज्य संघको एक गाउँ, एक उत्पादन (ओभीओपी) कार्यक्रमअन्तर्गत १ लाख ५० हजार रुपैयाँ सहयोग छ भने बाँकी स्थानीयले नै व्यवस्थापन गरेका छन् । ‘बराहपोखरीको पर्यटन प्रवद्र्धनको लागि चौतारो सुरुवात हो । हामी मिसन बराहपोखरी लिएर अघि बढेका छौं,’ शुक्रबार चौतारोको उद्घाटन गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले भने, ‘हामी बराहपोखरी पर्यटकीय रुटको सर्भे गर्ने तयारीमा छौं । यो पदमार्गको क्षेत्रमा कोशेढुंगा सावित हुनेछ ।’

प्रकाशित : पुस ८, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?