कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

द्वन्द्वपीडितले पाएनन् राहत

गुलरिया — सशस्त्र द्वन्द्वका बेला विस्थापित भएकाले अझसम्म राहत पाउन सकेका छैनन् । पीडितले पटकपटक माग गर्दै आए पनि शान्ति मन्त्रालयले निकासा गर्न आलटाल गर्दा ढिला भएको हो । गत आवमा निकासा भएको रकम स्थानीय प्रशासनको लापरबाहीले फिर्ता हुँदा हालसम्म आउन सकेको छैन ।

द्वन्द्वपीडितले पाएनन् राहत

शान्ति समितिका सचिव उमेश गुप्ताले गत आवमा रकम निकासा भए पनि असार मसान्तमा मात्रै आएकाले तत्कालीन प्रशासनले फिर्ता गरेको बताए । रकम माग गर्दा लेखापालले अन्तिम समयमा आएर उपलब्ध गराउन झन्झटिलो मान्दै फिर्ता गरेको उनी बताउँछन् । ‘केन्द्रमा सम्पर्क राख्दा चाँडै निकासा गर्ने आश्वासन दिए पनि चार महिना बित्दासमेत अत्तोपत्तो छैन,’ उनले भने ।

राज्य र माओवादीबाट विस्थापितका लागि गत आवमा निकासा भएको रकम प्रशासनको लेखाफाँटको लापरबाहीले फ्रिज भएको थियो । जिल्लाका ४ सय ६२ जनाका लागि निकासा भएको १० करोड ९ लाख ७५ हजार फ्रिज भएको हो । असार २७ गतेसम्म विस्थापितले रकम निकासा भएकाले रकम माग गर्न गएकालाई फिर्ता पठाएको गुनासो पीडितले गरेका छन् । पटकपटक ताकेता गरेका पीडितलाई शान्ति मन्त्रालयले रकम निकासा नभएको भन्दै फर्काएको विस्थापित लक्षमण थारूले सुनाए ।

उनीजस्तै जिल्लाभरका विस्थापित राहत माग गर्न आउँदा लेखापालले रकम निकासा नभएको भन्दै फिर्ता पठाएका छन् । लेखापाल पदम शाहीले मन्त्रालयबाट असार अन्तिम साता बजेट निकासा भएको र यकिन तथ्यांकसमेत नहुँदा वितरण गर्ने अवस्था नभएको जनाए । विस्थापित हरेक एक जनालाई २५ हजारका दरले शान्ति मन्त्रालयले राहत निकासा गराएको थियो । प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले विस्थापितमध्ये १० जनाको नामसूची मन्त्रालयबाट नआएका कारण फ्रिज भएको बताए । कार्यालयले रकम निकासा भएको जानकारी नदिनु र फ्रिज गराउनेमाथि कारबाही हुनुपर्ने पीडित परिवारले माग गरेका छन् । राहतको रकम तत्काल निकासा नगराए आन्दोलनमा उत्रने चेतावनी द्वन्द्वपीडित समिति अध्यक्ष भागीराम चौधरीले दिएका छन् ।

गत आवमा भने गैरन्यायिक हत्या गरिएका र बेपत्ता पारिएका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराएको प्रशासनले जनाएको छ । चार जनाबाहेक सबैले उक्त रकम लगिसकेका छन् । जिल्लामा गैरन्यायिक हत्या ४ सय ४० भएको उजुरी परेको थियो । सशस्त्र द्वन्द्वका बेला राज्यबाट २ सय ३७, तत्कालीन माओवादी विद्रोहीबाट १ सय ८५ र नाम नखुलेको पक्षबाट १८ जनाको हत्या भएको उजुरी शान्ति समितिमा छ ।

प्रकाशित : पुस ८, २०७४ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?