१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

राष्ट्रसंघको बधाई, पर्यवेक्षकद्वारा प्रशंसा

काठमाडौं — प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन शान्त र सफलतापूर्वक सम्पन्न भएकोमा संयुक्त राष्ट्रसंघले नेपाली जनतालाई बधाई दिएको छ । दोस्रो चरणको निर्वाचन सम्पन्न भएको पर्सिपल्ट महासचिव एन्टोनीओ गुटेरसले शनिबार वक्तव्य जारी गर्दै सम्पन्न निर्वाचनप्रति खुसी व्यक्त गरेका हुन् ।

उनले शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा सबै पक्षलाई बधाई दिँदै यो सद्भाव कायम राख्न आग्रहसमेत गरेका छन् । निर्वाचनमा जसरी दलहरूले एकअर्कामा शान्त, सक्रिय र सद्भाव देखाए, त्यही सद्भाव आगामी दिनमा हुने निर्वाचनमा समेत राख्ने आशा राष्ट्रसंघले गरेको पनि गुटेरसको वक्तव्यमा उल्लेख छ । २०७२ असोजमा जारी संविधानले तय गरेको नयाँ संघीय ढाँचालाई कार्यान्वयनमा लैजान यो निर्वाचन एक ऐतिहासिक पलको रूपमा रहनेसमेत महासचिवले उल्लेख गरेका छन् । 
यसैगरी, प्रतिनिधिसभा र प्रदेशसभाको दुवै चरणको निर्वाचन पर्यवेक्षण गरेकामा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले प्रशंसा गरेका छन् । उनीहरूले छोटो समयसीमा र कठिन अवस्थामा शान्तिपूर्ण निर्वाचन सम्पन्न हुनुलाई मुलुकको उपलब्धिका रूपमा व्याख्या गरेका छन् । नेपालीले लोकतन्त्र र स्थायित्वप्रति देखाएको सद्भावको उनीहरूले प्रशंसा गरेका छन् । युरोपेली महासंघ (ईयू) र कार्टर सेन्टरले निर्वाचनको अवलोकनबारे शनिबार पत्रकार सम्मेलन गर्दै भने, ‘चुनौतीपूर्ण सुरक्षा वातावरणमा समेत प्रभावकारी तवरले निर्वाचन सम्पन्न गरेकामा नेपाल सरकार, निर्वाचन आयोग र राजनीतिक दल सबैलाई धन्यवाद ।’
ईयूले निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन नै सार्वजनिक गरेको थियो । प्रतिवेदनमा छोटो समयमा निर्वाचनसम्बन्धी बन्दोबस्त राम्रो र सबल बनाएकामा निर्वाचन आयोग र जनताको उत्साहको प्रशंसा गरिएको छ । दुवै पर्यवेक्षकले मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई मताधिकार नदिनु बुद्धिमानी नभएको बताउँदै आउँदा दिनमा यसमा सुधार हुने अपेक्षा गरेका छन् । मतदाता शिक्षा प्रभावकारी नभएको उनीहरूको निष्कर्ष छ । कार्टर सेन्टरका तर्फबाट पर्यवेक्षणको नेतृत्व थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री सुराकियार्त साथिरथाईले र ईयूका तर्फबाट जेल्जना जोभ्कोले गरेका थिए । 

 

प्रकाशित : मंसिर २४, २०७४ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?