१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लिंग परिवर्तन गरेर महिला बनिन् सन्ध्या

कान्तिपुर संवाददाता

पर्सा — सहयात्री समाज वीरगन्जकी कार्यक्रम संयोजक सन्ध्या लामाले आफ्नो पुरुष लिंग परिवर्तन गरी महिला पहिचान कायम गरेकी छन् । उनले अगस्त ८ मा थाइल्यान्डको बैंककस्थित प्रतुनाम पोलिक्लिनिकमा सेक्सुअल रिअसाइनमेन्ट सर्जरी गरेकी हुन् । उनले झन्डै १ दशक तेस्रो लिंगीको पहिचान बोकेकी थिइन् ।

लिंग परिवर्तन गरेर महिला बनिन् सन्ध्या

मुख्य चिकित्सक डा. थेपसहितको टोलीले ५ घण्टाको शल्यक्रियापछि उनको पुरुष लिंग हटाएर महिलाको यौनांग प्रत्यारोपण गरिएको हो । शल्यक्रियाको ३ दिनअघि चिकित्सकसँग ‘साइको सेक्सुअल काउन्सिलिङ’ बाट उनले लिंग परिवर्तनपछि हुने शारीरिक परिवर्तन तथा अपनाउनुपर्ने आवश्यक सावधानीजस्ता विषयमा परामर्श लिएको बताइन् ।
 
लामो आरामपछि कार्यालयको जिम्मेवारी पुन: सम्हाल्न आएकी सन्ध्याले लिंग परिवर्तनपछि नौलो अनुभूति गरेको बताइन् । ‘मेरो सपना थियो शारीरिक रूपमा पनि महिला पहिचान बनाउने,’ उनले भनिन्, ‘अहिले पूरा भएको छ, वास्तवमा यो विज्ञानकै चमत्कार हो ।’ 

महिलाको जस्तो पाठेघर प्रत्यारोपण भने नगरेको उनले बताइन् । त्यसका लागि करिब दोब्बर रकम लाग्ने भएकाले आफूले तत्काल रकम जुटाउन नसकेको बताइन् । यसबाहेक उनले पुरुष स्वर परिर्वतन गरी महिलाजस्तो बनाउन घाँटीको शल्यक्रिया गर्न पनि बाँकी छ ।

नेपालमा लिंग परिवर्तनको सुविधा नभएकाले थाइल्यान्ड पुगेर गर्नुपरेको उनले बताइन् । उनका अनुसार लिंग परिवर्तनका लागि १० लाख रुपैयाँ खर्च लागेको छ । हेटौंडा मूल घर भएकी सन्ध्या ४ दाजुभाइ–दिदीबहिनीमध्ये कान्छी हुन् । परिवारको राजीखुसी र सहमतिबाटै आफूले लिंग परिवर्तन गरेको उनले सुनाइन् ।

२०१२ मा उनले बैंककबाटै शल्यक्रिया गरी महिलाझैं स्तनको विकास गरेकी थिइन् । नेपालमा लिंग परिवर्तन गरी पुरुषबाट महिला भएका करिब २ दर्जन व्यक्ति रहेको उनले बताइन् । तर, महिलाबाट पुरुष बनेको आफूलाई जानकारी नभएको सन्ध्या बताउँछिन् ।

उनले ७ वर्षयता तेस्रो लिंगीको हकहितमा संलग्न संस्थामा कार्यरत छिन् । उनले २००८ मा काठमाडौंमा विश्व बैंकले आयोजना गरेको तेस्रो लिंगीको ‘मिस ब्युटी एन्ड ब्रेन’  प्रतियोगिताको ताज पहिरिएकी थिइन् । जितसँगै उनले बैंककमा भएको तेस्रो लिंगीको ‘मिस इन्टरनेसनल क्विन’ प्रतियोगितामा सहभागिताको अवसरसमेत पाएकी थिइन् ।

आकर्षक व्यक्तित्वकै कारण सन्ध्याले विभिन्न चलचित्र तथा म्युजिक भिडियोमा नृत्यको अवसर पनि पाएकी छन् । लिंग परिवर्तनपछि अब अवसरको खोजीमा आफू पहिले काठमाडौं जाने र त्यहाँ सोचे जस्तो नभए मुम्बई जाने तयारीमा रहेको उनले बताइन् । ‘सकेसम्म स्वदेशमै प्रतिभा देखाउन पाए हुन्थ्यो भन्ने लागेको छ,’ उनले भनिन्, ‘नेपाली चलचित्र र म्युजिक भिडियोमा अवसर पाए यतै बस्छु । नभए मुम्बई गएर संघर्ष गर्छु ।’

 

प्रकाशित : कार्तिक २२, २०७४ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?