कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दुर्घटना बढेको बढ्यै

साढे ४ महिनामा पूर्वमा डेढ सयको ज्यान गयो
पश्चिमा पनि सडक दुर्घटना बढ्यो

विराटनगर/ डोटी — पूर्वका ६ जिल्लामा सोमबार ७ वटा सवारी दुर्घटना भए । उदयपुरको सिद्धिचरण राजमार्गमा भएको दुर्घटनामा ९ जनाले ज्यान गुमाए । सप्तरीमा मोटरसाइल दुर्घनामा १ जनाको ज्यान गयो । मंगलबार साँझसम्म ३ वटा दुर्घटना भए ।

दुर्घटना बढेको बढ्यै

संखुवासभाको चैनपुर–तुम्लीङटार–हिले सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा भोजपुर षडानन्द–६ का २६ वर्षका मदन खडाको मृत्यु भयो ।

दैनिकजसो हुने दुर्घटनामा ज्यान गुमाउनेको संख्या बर्सेनि बढिरहेको छ । पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार साढे चार महिनामा मात्रै पूर्वमा डेढ सयजनाले ज्यान गुमाएका छन् भने हजारभन्दा बढी घाइते भए । यो अवधिमा ५ सय ५० वटा दुर्घटना भएका छन् ।

गत आर्थिक वर्षमा २ हजार १ सय ४४ वटा दुर्घटना भएकामा ४ सय ९८ को मृत्यु भएको थियो । ३ हजार ८ सय २० जना घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख राजकुमार लम्सालले बताए ।

‘मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढी छ,’ लम्सालले भने, ‘दुर्घटना गराउनेमा किशोर उमेर समूह र मादक पर्दाथ सेवन समेत बढी पाइएको छ ।’ प्रमुख राजमार्गभन्दा भित्री सडकमा दुर्घटान बढ्न थालेको उनले बताए । ट्राफिकको पहुँच बाहिर बढी दुर्घटना भएको उनको भनाइ छ ।

तीव्र गति दुर्घटनाको अर्को कारण हो । दक्ष तथा अनुभवी चालक नभएका कारण पनि दुर्घटना बढी हुने गरेको उनको दाबी छ । ‘साँघुरा सडकले पनि दुर्घटना निम्त्याएका छन्,’ उनले भने, ‘सडक मर्मतको काम धेरैतिर एकैपटक हुनु, पैदल यात्रुका लागि भिन्न बाटो नहुनु, ट्राफिक नियमको पालना नहुनु, यात्रुका लागि अर्को बसलाई जित्न तीव्र गतिमा चलाउनु तथा गन्तव्यमा पुग्नका लागि समय सीमा कम तोकिनु दुर्घटनाका मुख्य कारण हुन् ।’

सुनसरी र मोरङमा उद्योग तथा कारखाना बढी भएका कारण मान्छेहरुको चाप हुने हुँदा दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । पैदलयात्रु हिँड्ने व्यवस्थित सडक पेटी नभएका कारणपनि दुर्घटना बढेको ट्राफिक प्रहरी बताउँछ ।

अनुभवहिन चालक
कुन चालक कति अनुभवी हो भन्ने मापन गर्ने व्यवस्था हुनुपर्ने चालक भोला कडेल बताउँछन् । चालकको दर्ता निर्धारण सर्वसाधारणले देख्ने गरी राख्नु पर्छ,’ कडेलले भने, ‘सडकमा चालक देख्दा हामीलाई नै लाज लाग्ने अवस्था छ । महिना दिन अघिको चालक र ३० औं वर्ष दुर्घटना नगरी चलाएको चालकलाई ट्राफिकले उस्तै व्यवाहार गर्छ ।’

चालकले मान्छे त के कमीला पनि मार्न नचाहने उनको भनाइ छ । तर अरुलाई बचाउन खोज्दा धेरै दुर्घटना हुने उनले बताए । पूर्व नेपाल यातायात व्यवसायी संघका वरिष्ठ सल्लाहाकार भवेशकुमार श्रेष्ठ बजारको बीचमा होटल अगाडि साँझ पर्न लागे पछिका मापसे चेकीङले दुर्घटना कम नहुने बताउँछन् ।

सडकको क्षमताभन्दा यातायातका साधनलाई रुट प्रमिट दिइने अनि दुर्घटनाको दोष चालकमाथि थोपर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनी बताउँछन् । चालकलाई लाइसेन्स मात्र होइन तालिम पनि दिनुपर्ने उनको भनाइ छ । ‘एकपटक ज्यान मारेका चालक २७ दिनका दिन फेरि स्टेयरिङमा बसिसकेको हुन्छ,’ उनले भने, ‘कम्तीमा ६ महिना गाडी चलाउन दिनु हुँदैन ।’

दुर्घटनाको मुख्य करण ‘थ्रि एल’ भएको ट्राफिक प्रहरीको दावी छ । व्यवसायीको लालच, चालकको लापरबाही र यात्रुको लाचारीका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाइ छ ।

सडक पूर्वाधार
पूर्वका १६ जिल्लामा १ सय २५ किलोमीटर पक्की सडक छ भने १ हजार ७ सय ५० किलोमीटर ग्राभेल सडक छ । ३ हजार ५ सय ३३ किलोमीटर सडक कच्ची छ । यी सडकमा ३ लाख ५० हजारको हाराहारीमा सवारी साधन चल्ने गरेको अनुमान छ । पुर्वमा ४ सय ५८ जना ट्राफिक प्रहरी कार्यरत छन् ।


पश्चिमा पनि सडक दुर्घटना बढ्यो

दुर्घटनामा मृत्यु भएका पत्रकार कर्ण शाहीकी पत्नी कलावतीको अहिले पनि चाडबाड भनेपछि मुटु थरर्र काँप्छ । अनुहारको चमक एकाएक हराएर मलीन बन्छ ।

२०७१ असोज २० गते जोरायल बस दुर्घटनामा दसैंको टीका लगाएर फर्किंदै गरेका पति गुमाएकी कलावतीलाई विगतको पीडाले झस्काइरहन्छ । ‘चाडबाड नआइदिए हुन्थ्योजस्तो लाग्छ,’ कलावतीले भनिन्, ‘वर्ष दिनमा खाटो बस्न लागेको घाउ दसैं–तिहारका बेला उप्कन्छ, चहराउँछ ।’

सुदूरपश्चिममा मौलिक रूपमा मनाइने विशुपर्वका लागि पुख्र्यौली थलो जिजौडामाण्डांै जान लागेका वरिष्ठ संस्कृतविद् तथा पद्मकन्या क्याम्पसका सहायक क्याम्पस प्रमुख जयराज पन्तसहित ८ जनाको मृत्यु २ वर्षअघि जिप दुर्घटनामा भयो । जन्मथलोमा विशुपर्व मनाउन तथा सप्ताह लगाउन गइरहेकै बेला आफ्नै गाउँ जिजौडामाण्डौंमा जिप खसेर मृत्यु भएपछि पन्त परिवारका लागि पनि चाडबाड र पर्व खल्लो बन्दै आएका छन् ।

यो वर्ष पनि २ छुट्टाछुट्टै बस दुर्घटनामा ५ जनाको तिहारअघि मृत्यु भएको छ । गत असोज ३० र कात्तिक २ गते जोरायल गाउँपालिका र बड्डीकेदार गाउँपालिकामा दुर्घटना भएको थियो । बड्डीकेदार गाउँपालिकामा भएको दुर्घटनाले वडा नं. ४ मान्नाकापडी तिहारअघि शोकमा डुब्यो ।

यी प्रतिनिधिमूलक दुर्घटना हुन् । डोटीमा हुने सवारीसाधन दुर्घटनाले बर्सेनि चाडपर्व खल्लो बनाउँछ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र पालका अनुसार तिहारका दिन बढी सवारी दुर्घटना भएको अनुभव सुनाउँछन् ।

उनका अनुसार सुदूरपश्चिमको पहाडी राजमार्गमा हुने ठूला दुर्घटना चाडबाडकै बेला भएका छन् । ६० प्रतिशतभन्दा बढी दुर्घटना चाडबाडमै हुने गरेको उनको अनुभव छ ।

कार्यालयका अनुसार ७ नम्बर प्रदेशमा आव ०७१/७२ को गत असोज मसान्तसम्ममा ४ सय ३५ जनाको सवारीसाधन दुर्घटनामा मृत्यु भएको छ । ७ सय १५ सवारी साधन दुर्घटना हुँदा ५ सय १६ जना सख्त घाइते भएको तथ्यांक छ ।

क्षेत्रीय ट्राफिक कार्यालयले त्रिवर्षीय दुर्घटना विवरण हेर्दा प्रत्येक वर्ष दुर्घटना हुनेको संख्या बढदै गएको पाइन्छ । ‘चाडबाडकै बेला दुर्घटना हुनु संयोग मात्र होइन, यसका विशेष कारण छन्,’ उनले भने, ‘मानिसहरूको चाडबाडकै बेला आवतजावत बढी हुने, थरीथरीका मानिसहरू यात्रा गर्ने भएकाले चाडबाडका बेला दुर्घटना हुने गरेको हो ।’

चाडबाडका बेला दर्जनौं सवारीसाधन सुदूरपश्चिममा थपिने गरेका छन् । घटना पनि दोहोरिरहेका छन् । तर पनि चाडबाडका बेला यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउन सरोकारवालाले ठोस योजना भने बनाउन सकेका छैनन् ।

‘यात्रु आउन सक्ने संख्याको अनुमान गरी सहज रूपमा सवारीसाधन परिचालन गरे कोचाकोच गरी यात्रु चढ्नुपर्ने बाध्यता रहँदैन,’ डोटी उद्योग वाणिज्य संघका कोषाध्यक्ष रमेश जोराले भने, ‘थोरै सवारीसाधन भएपछि धेरै यात्रुले जसरी पनि घर जानुपर्नाले यस्तो भएको हो ।’ जोराको कुरालाई शैलेश्वरी यातायात व्यवसायी संघका अध्यक्ष गणेश मलासी फरक रूपमा स्विकार्छन् ।

मलासीले यात्रुको संख्यालाई पहिल्यै अनुमान लगाएर सवारीसाधन परिचालन गर्न व्यावहारिक रूपमा कठिनाइ हुने बताए । ‘यात्रुबाट पूर्वजानकारी भयो भने सवारीसाधनको परिचालन गर्न सकिन्छ,’ मलासीले भने, ‘तर मुनाफामुखी व्यवसाय भएकाले यात्रु आउने/जाने ग्यारेन्टी नहुँदासम्म यकिन गर्नै सकिँदैन, घाटा खाएर कोही हिँड्न मान्दैनन् । त्यसबाहेक चाडबाडका बेला दुर्घटना भए मात्र यात्रु बोक्ने सवारीसाधनमा कडिकडाउ गरे पनि विस्तारै त्यो कुरा सबैले बिर्संदै जाने प्रवृत्तिले दुर्घटना दोहोरिरहने गरेका छन् ।’ उनले विद्यार्थी, चालक, सवारी मालिक र युवामाझ गएर विभिन्न अभियान चलाउने तयारी भइरहेको पनि जानकारी दिए ।

प्रकाशित : कार्तिक २२, २०७४ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?