२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

'ब्रान्डको नक्कली स्टिकर प्रयोग गरेर ठगी'

दरबारमार्ग अनुगमन प्रकरण

काठमाडौं — आपूर्तिमन्त्री शिवकुमार मण्डलले लत्ताकपडामा ब्रान्डका नक्कली स्टिकर राखेर उपभोक्ता ठगी भएको बताएका छन् । उनले दरबारमार्गका व्यवसायीलाई अंकित गर्दै नक्कली ट्याग झुन्डाएर ठगी गरेको बताए ।

'ब्रान्डको नक्कली स्टिकर प्रयोग गरेर ठगी'

‘अनुगमन टोलीले प्रमाणको आधारमा दरबारमार्ग क्षेत्रमा अनुगमन गरेको थियो । लत्ताकपडालगायत अन्य वस्तुमा एउटा देशको ब्रान्डमा अर्को देशको ट्याग लगाएर बिक्री भएको छ,’ राष्ट्रिय उपभोक्ता मञ्चको १२ औं स्थापना दिवस एवं १२ औं साधारणसभा उद्घाटन गर्दै आपूर्तिमन्त्री मण्डलले भने, ‘कैफियत भेटिएका स्टोरमा सिलबन्दी भएको छ । प्रमाणको आधारमा कारबाही गर्छौं ।’ व्यवसायीलाई न्यून बीजकीकरणको बहानामा छुट नदिइने उनले प्रस्ट पारे ।

‘भन्सारबाटै न्यून बीजकीकरण भयो भनेर उम्किन पाइँदैन । राजस्वले ठग्यो भनेर उपभोक्ताबाट बढी असुल्न मिल्दैन,’ उनले भने ।

विभाग र मन्त्रालयले गरेको अनुगमन मौसमी नभएको उनले दाबी गरे । अनुगमनका क्रममा कर्मचारीले बद्मासी गरेको भेटिए उनीहरूलाई पनि कारबाहीको दायरामा ल्याइने उनले बताए । ‘खाद्य वस्तुको पनि विशेष अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘जनता ठग्न दिँदैनौं । अनुगमन निरन्तर हुन्छ ।’ मन्त्रालयका सहसचिव मुकुन्द पौड्यालले अनुगमनले व्यवसायीहरू निरुत्साहित नहुने दाबी गरे । ‘स्वच्छ र उपभोक्तामैत्री व्यापार गर्न चाहने व्यवसायीहरू खुसी छन्,’ उनले भने ।

गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले निहित स्वार्थका लागि गुनासो र उजुरी आउने क्रम बढेको बताए । यसमा सबै सचेत हुुनपर्ने बताए । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले कर्मचारी अभावले गर्दा केही अनुगमन तीव्र हुन नसकेको बताए ।

‘१० जना कर्मचारीले अनुगमन र मुद्दा दायर गर्नुपर्छ,’ उनले भने, ‘कर्मचारी अभाव हुँदा प्रभावकारी देखिएन ।’ मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजार स्वच्छ बनाउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन उपभोक्ता अदालतको गठन गर्नुपर्ने बताए । उनले उपभोक्तावादी संस्थालाई सरकारले नियन्त्रण गर्नुपर्ने बताए । ‘मन्त्रालयको वरिपरि घुम्ने, आफ्नो लाभको काम मात्रै गर्दा संस्थाहरूको बद्नामी भयो,’ उनले भने ।

प्रकाशित : भाद्र २८, २०७४ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?