२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मेलम्ची पुगेर प्रधानमन्त्रीले भने, ‘आवश्यक सहयोग गर्नेछौं, चाँडै काम सक्नुस्’

सिन्धुपाल्चोक — प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको काम चाँडै सक्न निर्देशन दिएका छन् । मेलम्ची खानेपानी आयोजनाको अम्बाथान इन्टेक र सुरुङको निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी आयोजनाको काम तत्काल सक्न निर्देशन दिएका हुन् ।

मेलम्ची पुगेर प्रधानमन्त्रीले भने, ‘आवश्यक सहयोग गर्नेछौं, चाँडै काम सक्नुस्’

‘सन २००१ मा सुरु गरिएको आयोजनाको काम अझै सकिएको छैन्, ढिलासुस्ती के कारणले भयो ?’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र इटालिएन कन्ट्रक्सन कम्पनी (सिएमसी) प्राविधिकलाई स्पष्टिकरण माग्दै उनले भने, ‘काम ढिलो हुनुको जवाफ सरकारलाई दिनुस्, हैन भने काम बेलैमा सक्नुस्, आवश्यक सहयोग गर्नेछौं ।’

प्रम देउवाले निरीक्षणको क्रममा आयोजनाको कार्यमा भएको ढीलासुस्तीप्रति तिव्र असन्तोष पोखेका थिए । पूर्वनिर्धारित समयभन्दा चारघण्टा ढीलो गरी हेलिकप्टरबाट मेलम्ची खानेपानी आयोजनास्थलमा उत्रिएका देउवाले पौने घण्टाको छोटो समयमा निर्माणस्थलको निरीक्षण गरेका हुन् ।

‘काम कहिले सकिन्छ ?’ बाँधस्थल निरीक्षण गरिरहेका प्रम देउवाले कार्यकारी निर्देशक र प्राविधीक टोलीलाई सोधेका थिए । उनीहरुले जवाफ नदिएपछि हिल कटिङ र बाँधस्थलबारे ब्रिफिङ बीचैमा रोकेर उनले झोक्कीँदै सोधे, ‘तपार्इंहरु बोल्नुस्, कति चाहिन्छ ? त्यो सरकारको जिम्मा । तर, जसरी पनि काम सक्नुस् ।’

अविरल वर्षातले ढिलोगरी आएका प्रम देउवासँगै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादव र सिन्धुपाल्चोक क्षेत्र नं. ३ का सभासद शेरबहादुर तामाङ निरीक्षणमा आएका थिए ।

सिएमसीद्वारा आफ्नो कामबापतको रकम दुई वर्षदेखि नपाएका मेलम्ची खानेपानी आयोजनाका नेपाली व्यवसायीले प्रम देउवा हेलिकप्टरमा उड्नै लाग्दा हतारमा ज्ञापनपत्र पेश गरेका थिए । आयोजना र सिएमसी मिलेर नेपाली व्यवसायी र कामदारको माग प्रधानमन्त्री समक्ष पेश गर्ने अवसरलाई रोक्न खोजिएको आरोप ठेकेदारको छ ।

प्रमको निरीक्षण कति प्रभावकारी ?
प्रधानमन्त्री फेरिएपिच्छे मेलम्ची खानेपानी आयोजनाको सुरुङ र विभिन्न निर्माणस्थलको निरीक्षण गरिएको छ । आयोजनाले काठमाडौंमा चाँडै पानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको धेरैपटक भइसकेको छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल निरीक्षणमा आएको बेला ०७४ को सुरुवातसंगै काठमाडौं पानी पुग्ने बताइएको थियो । त्यसअघिका प्रधानमन्त्री निरीक्षणमा आउँदा पनि उस्तै वचन दोहोरिएको थियो । तर, सुरुङमा काम गर्ने इन्जिनियर र कामदारको भनाइअनुसार पानी पुग्न अझै दुई बर्खा कुर्नुपर्नेछ ।

२६ दशमलव ५ किलोमीटर सुरुङमध्ये २२ सय मिटर खन्न अझै बाँकी छ । सुरुङ निर्माण सकिएपनि त्यसको फिनिसिङ सकिएको छैन । बाँधस्थलको काम आधा समेत भइसकेको छैन । पटकपटक खानेपानी तथा सरसफाइमन्त्री आएर निर्देशन र निरीक्षण भएको भएपनि काममा पारदर्शिता र तिव्रता नआएको नेपाली व्यवसायीको भनाइ छ ।

सिएमसीले नेपाली कामदारको पारिश्रमिक नदीनाले काममा ढीलासुस्ती र निराशा आएको छ । रातदिन जोखिम मोलेर काम गरिरहेका कामदारले पाँच महिनाको फरकमा अपुरो ज्याला पाउने गरेको सुरुङका हेल्पर असिन्टेन्ट ज्योती मगरले सुनाए । प्रमको निरीक्षणपछि काममा केही समय गति आउने आशा गरिएको छ ।

मन्त्रालयभित्रै वार्ता हुने
सिएमसीले १९ वटा नेपाली फर्मका व्यवसायीलाई दुई वर्षदेखि ५० करोड भुक्तानी नदिएपछि उनीहरुले शुक्रबार मेलम्ची खानेपानीको साइट कार्यालयमा ताला लगाएका थिए । मंगलबार प्रधानमन्त्री आउने भएपछि ताला खोलिएको निर्माण व्यवसायी विश्वराज गुरुङले बताए ।

नेपाली व्यवसायीको मागबारे बिहिबार खानेपानी तथा सरसफाई मन्त्रालयमा वार्ता आह्वान गरिएको छ । वार्तामा मेलम्ची खानेपानी आयोजना, ठेकेदार कम्पनी सिएमसी, प्रमुख जिल्ला अधिकारी र व्यवासायबिच छलफल हुने भएको छ । वार्ता नमिले शुक्रबारदेखि पुन: तालाबन्दी र आयोजनाका सम्पूर्ण काम बन्द गराउने योजना रहेको गुरुङको भनाइ छ ।

प्रकाशित : श्रावण २५, २०७४ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?