२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कालिञ्चोक चौरी महोत्सव : ‘सारी’ र ‘लाजिरी’ले उछिनी अरुलाई

राजेन्द्र मानन्धर

(कालिञ्चोक) दोलखा — ‘सारी’ खाइलाग्दी छे । कसैलाई हान्दिन पनि । हस्टपुष्ट र सफा देखिने त्यसले जसलाई पनि दुध दिन्छे ।
कालिञ्चोक चौरी महोत्सवमा सबैको आँखा परेकी सारीले बढी दुध दिनेमात्रै हैन असल स्वभावले गर्दा ‘उराङ’ जातका चौरीहरुमध्ये सर्वोत्कृष्ट उपाधीको बाजी मारिन् ।

कालिञ्चोक चौरी महोत्सव : ‘सारी’ र ‘लाजिरी’ले उछिनी अरुलाई

‘सारी’ खाइलाग्दी छे । कसैलाई हान्दिन पनि । हस्टपुष्ट र सफा देखिने त्यसले जसलाई पनि दुध दिन्छे ।
कालिञ्चोक चौरी महोत्सवमा सबैको आँखा परेकी सारीले बढी दुध दिनेमात्रै हैन असल स्वभावले गर्दा ‘उराङ’ जातका चौरीहरुमध्ये सर्वोत्कृष्ट उपाधीको बाजी मारिन् ।

आइतबार र सोमबार तीनहजार आठसय ४२ मिटर अग्लो कालिञ्चोक क्षेत्रमा हिमाली गाई चौरी महोत्सवमा आसपासका पाँचवटा गोठका करिब दुईसय चौरीहरु प्रतिस्पर्धामा थिए । प्रतिस्पर्धामा उतारिएका उराङ जातका चौरीहरुहरुबीचबाट छानिएकी सारीकी धनी किछिरी शेर्पाले प्रमाणपत्र र र पाँच हजार नगद बुझिन् । उनले भनिन, ‘सारीले मेरो इज्जत माथि पुर्‍यादिई ।’

आदिमकालदेखि याक र चौरीको बासस्थान कालिञ्चोक क्षेत्रमा प्रर्दशनमा राखिएका अर्की ‘लाजिरी’ नामकी चौरी ‘डिम्जो’ जातमध्यबाट पहिलो भइन् । त्यसकी धनी पासाङ शेर्पाले लाजिरीको नामको प्रमाणपत्र र पाँच हजार नगद हातमा लिदै भनिन् ,‘पाँच बर्षकी यसले सर्वोत्कृष्ट उपाधी पाउँदा हर्षित छु ।’

उच्च पहाडी ईलाका कालिञ्चोक क्षेत्रमा लाजिरीले चौथो पटक व्याइसकेकी भए पनि छनौटकर्ताहरुलाई पहिलो बनाउन बाध्य पारिन् । दैनिक दुईसाँझ छ लिटर दुध दिने, आकर्षक शरीर, रुपरङ्ग मिलेको, नहान्ने, बाइफले स्वभावले नउफ्रने मिजासिली भएकी लाजिरी सर्वोत्कृष्ट भएको छनौटकर्तामध्ये जिल्ला पशु सेवा कार्यालय पशु चिकित्सक रामचन्द्र सापकोटाले घोषणा गरे ।

कालिञ्चोक गाउँपालिकाको मुख्य आयोजना, विगू गाउँपालिका र जिल्ला पशु सेवा कार्यालयको सह—आयोजनामा भएको महोत्सव समापनमा सापकोटाले चौरीका दुध दिने मात्रा, उमेर, सरसफाई, व्यायको पटक, निरोगीको अवस्था, बीमा गरिएको भएनभएको अवस्था र गोठको सरसफाईको अवस्थाका अंकहरु जोडेर नतिजा सार्वजनिक गरिएको जानकारी दिए ।

महोत्सव समापन कार्यक्रममा उराङ जाततर्फ दोस्रो हुने ‘नाक्टु’ र डिम्जो जातबाट दोस्रो हुने ‘माली’ चौरीका धनीहरु क्रमश: मनराज थामी र खेलबहादुर थामीलाई चार/चार हजार नगद र प्रमाणपत्र वितरण गरियो । कार्यक्रममा उत्कृष्ट याक पालक कृषकको रुपमा सार्कीमान थामीलाई १० हजार नगदसहित प्रोत्साहनपत्र प्रदान गरिएको छ ।

कालिञ्चोक मन्दिरको आस्था, प्राकृतिक दृष्य, याक, चौरीको अबलोकन र त्यसको दुध, चीज, छुर्पी, चम्मर आदि खरिद गर्न पाइने महोत्सवमा जिल्लाभित्र र बाहिरका पाहुनाहरुले मनोरञ्जन गरेका थिए । प्रसस्त दुधजन्य पदार्थ र होटल तथा अन्य व्यवसायमा उल्लेख्य प्रर्वद्धन भएको महोत्सव समारोहमा गाईभैसी प्रर्वद्धन केन्द्रका रोशमराज ज्ञावलीले चौरी पाल्ने, त्यासको व्यापार गर्ने र गुणस्तरीय उत्पादनहरुलाई विश्व बजारमा पुर्‍याउन महोत्सव खुड्किला भएको बताए ।

कालिञ्चोक गाउँपालिकाकी उपप्रमुख कालिका पाठकले चौरीको व्यवसायिक दुध उत्पादन गरी बेच्ने किसानलाई प्रतिलिटर तीन रुपैयाँको दरले गाउँपालिकाबाट सहुलियत दिने बताइन् । तत्काल कालिञ्चोक क्षेत्रमा चिज कारखाना खोल्ने, याक होमस्टे निर्माण थाल्ने योजना रहेको बताउँदै महोत्सवले कालिञ्चोक क्षेत्रलाई समग्र रुपमा अन्तराष्ट्रिय क्षेत्रमा चिनाएको बताइन् ।

पशु सेवा कार्यालय प्रमुख ज्ञानबहादुर थापाले कालिञ्चोक क्षेत्रका याक, नाक र चौरीहरुका लागि चरिचरण क्षेत्रलाई व्यवस्थित गर्न आठ किलोमिटर लामो पाइप बिच्छ्याएर पानीको आपूर्ति गरेरको बताए ।
बीसबर्षसम्म लगातार व्यवसायिक रुपमा किसानी गरेमा किसान पेन्सनको व्यवस्था गर्ने भनेर तयार गरिएको किसान कार्ड वितरण गर्दै गाउँपालिका प्रमख बिनकुमार थामीले आफ्नो इलाकाभित्र सात हजार किसान भएको र पाँचबर्षभित्रमा दुई हजार किसान कार्ड बितरण गरी उनीहरुको जीवनस्तर उठाउन कार्यक्रम ल्याइने बताए । उनले असल नियतले लेकको स्वर्गीय भूमिमा आयोजित कार्यक्रमलाई राजनीतिकरण गर्दै चौरी लिएर प्रदर्शनमा आएका किसानहरुलाई बाटोबाटै लखेटेर पठाएको दावी गर्दै खेद व्यक्त गरे ।
कार्यक्रममा एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा वलीलाई प्रमुख अतिथि बनाएको, कार्यक्रम एमालेकरण गरेको, सीमाको बिषयमा बिबादित भूमिमा कार्यक्रम राखिएको भन्दै केही व्यक्तीहरुले कार्यक्रमस्थलमा ल्याइन खोजेको चौरी लखेटेर जंगलमा पठाएका थिए ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री वली चढेको हेलिकप्टर प्रतिकुल मौसमका कारण अवतरण हुन नसकेनपछि उद्घाटन कार्यक्रमका प्रमुख अतिथि दोलखा क्षेत्र नं. २ का सांसद तथा पूर्वपर्यटन आनन्दप्रसाद पोखरेल भएका थिए । कार्यक्रमको उद्घाटन पूर्वप्रर्यटनमन्त्री पोखरेल, सांसदहरु पशुपति चौलागाईं, पार्वत गुरुङले संयुक्त रुपमा गरेका थिए ।

प्रकाशित : श्रावण २३, २०७४ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?