को दक्षिणपन्थी ?

बसन्त बस्नेत

काठमाडौं — माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले भर्खरै सकिएको पार्टी सचिवालय विस्तारित बैठकमा प्रस्तुत राजनीतिक दस्तावेजको दोस्रो बुँदामा एमाले लक्षित टिप्पणी गरे– ‘...एमालेभित्रको उच्च जातीय अन्धराष्ट्रवादी र परिवर्तनविरोधी दक्षिणपन्थी संशोधनवादी धारलाई मलजल गरेर प्रतिगमनतिर लैजाने षड्यन्त्रमा सामन्ती शक्ति र वैदेशिक प्रतिक्रियावादी शक्तिहरू लागिरहेका छन्।’

...................

एमाले अध्यक्ष केपी ओलीले कान्तिपुरसँग शनिबार कुरा गर्दै माओवादी केन्द्र ‘नामको वामपन्थी, कामको दक्षिणपन्थी’ (नावाकाद) पार्टी भनी कटाक्ष गरे। उनले माओवादीसहित एमालेका प्रतिस्पर्धी दलहरूलाई विदेशी इसारामा चल्ने गरेको आरोप लगाउँदै आएका छन्। उनले एमालेलाई बाइपास गरेर कांग्रेसले ‘किष्किन्धाका बाँदरहरूसित मित्रता गरेर रामसँग लड्न खोजिरहेको’ आरोप लगाए, जसको सीधा लक्ष्य माओवादीतिर छ।
.........................


दुई वामपन्थी घटकका शीर्ष नेताले एकअर्कालाई ताकेर लगाउने आरोप एउटै छ– दक्षिणपन्थी। यीमध्ये को होलान् त असली दक्षिणपन्थी?

राजनीतिशास्त्री हरि शर्मा दुई वाम पार्टीका क्रियाकलाप हेर्दा नेपालमा ‘वाम’ र ‘दक्षिणपन्थी’ भन्ने अर्थ नै हराइसकेको ठम्याउँछन्। उनका विचारमा न केपी ओलीको वैचारिक लाइन वामपन्थी छ, न दाहालको। सामाजिक न्याय र लोककल्याणकारी राज्यका केही विशेषतालाई अपनाएको देखाएर एमाले र माओवादीले वामपन्थको भ्रम दिइरहेको ठान्ने विश्लेषकमध्ये शर्मा पनि एक हुन्। ‘वामपन्थी हुनलाई जे कुरा चाहिन्छ, त्यो नै उहाँहरूसित छैन। विश्व बैंक वा कुनै विदेशी विकास सहायता नियोगले कार्यक्रम गरे भने ओलीजी र प्रचण्डजीले विरोध गरेको सुनिँदैन, बरु विकास गर्नलाई लगानी ल्याउनुपर्छ भनी तर्क गरेको सुनिन्छ,’ शर्मा भन्छन्, ‘तर त्यो लगानी कहाँबाट कसरी, कुन प्रयोजनका लागि आइरहेको छ भन्नेमा उहाँहरूको ध्यान देखिँदैन।’

समाजशास्त्री चैतन्य मिश्र कम्युनिस्ट वा वाम भनेर चिनाउँदै आएको विचार आधारभूत रूपमा साम्यवाद/समाजवाद नभई ‘राष्ट्रवाद’ भएको टिप्पणी गर्छन्। विदेशी प्रभुसत्तालाई चुनौती दिन एउटा कालखण्डसम्म राष्ट्रियतासम्बन्धी त्यस्तो विचार नेपालका कम्युनिस्टले बोक्नु गलत नभए पनि सिद्धान्त नै जस्तो गरी च्यापिरहनु गलत भएको उनी बताउँछन्।

मिश्रको त्यही सन्दर्भ उप्काउँदै राजनीतिशास्त्री शर्मा भन्छन्, ‘सुरुङसमेत खनेको, विदेशी प्रभुविरुद्ध लड्ने कुरा गरेको हुनाले एउटा समयमा राष्ट्रवादको लिगेसी प्रचण्डसित थियो। अहिले ओलीले खोसेर लगिदिए।’

उसो त ओली र दाहालबीच एकअर्काविरुद्ध शत्रुता र सहकार्यको विगत कोट्याउने भने छुट्टै सामग्री तयार हुन सक्छ। आफ्नो समर्थनमा प्रधानमन्त्री बनेका ओलीलाई हटाउने बेला कान्तिपुरसँग कुरा गर्दै दाहालले ‘ओलीको आत्मकेन्द्रित प्रवृत्ति र अरूलाई नगन्ने इगो’ का कारण विकल्प खोज्नुपरेको भन्दै थपेका थिए, ‘तैपनि ओलीजीसँग हनिमुन सम्बन्ध रह्यो।’ यता ओलीले दाहाललाई ‘भित्ते राष्ट्रपति’ देखि ‘काठमाडौंमा रिसाएको बिरालो रोल्पामा गएर खाबो चिथोर्छ’ भन्नेजस्ता कटाक्ष गर्थे। वाकयुद्ध बढदै गएर कहिलेकाहीं त लिखितम्मै आरोप/प्रत्यारोप हुन्थ्यो। २०७१ माघ ८ को संविधानसभा मस्यौदा ल्याउने तयारीका क्रममा दाहाललगायत विपक्षी नेताहरूले ‘ओलीको मानसिक उपचार गर्न खर्च जुटाइदिन’ सरकारलाई अपिल नै गरेका थिए।

एमाले र माओवादी केन्द्रका पछिल्ला गतिविधि हेर्दा अर्कोलाई शत्रु देखाएर आफू प्रगतिशील शक्ति देखिने ध्याउन्न देखिन्छ। सत्ता साझेदारीमा एकअर्कालाई सघाउँदै, अनि एकअर्काविरुद्ध प्रयोग हँ‘दै आएका यी दुई दलमध्ये को असली कम्युनिस्ट भन्ने विवाद पनि छँदै छ। माओवादी केन्द्रले एमालेलाई कम्युनिस्ट साइनबोर्ड राखेको ‘गाँजरजस्तै देखिने रातो मुला’ आरोपित गर्दै आएको छ। एमालेले ‘उग्रवादीले अन्तत: दक्षिणपन्थीकै सेवा गर्ने’ भन्दै माओवादीप्रति प्रहार लक्षित गर्ने गर्छ। ‘चुनाव लागेर पनि यस्तो भएको हो,’ शर्मा थप्छन्, ‘भोट पाउनका लागि एकअर्कालाई भिलेन देखाउने क्रम बढेको छ।’

यसपालि माओवादी केन्द्रको बैठकमा दाहालले एउटा प्रसंगमा कांग्रेसको सामान्य आलोचनाबाहेक आफ्नो कलम ओली र उनले नेतृत्व गरेको एमालेतिरै सोझ्याएका छन्। उनीनिकट माओवादी नेता वर्षमान पुनले आइतबार राजधानीको एक कार्यक्रममा अरूलाई राष्ट्रघाती र दक्षिणपन्थी भन्नु एमालेको दृष्टिदोष भएको आरोप लगाए। ‘संविधान संशोधन गर्नै हुन्न भन्ने अतिवादी सोच छ एमालेमा, संशोधनको कुरा गर्दा राष्ट्रघाती देख्ने र विदेशीको प्रभावमा ल्याएको देख्ने एमालेको दृष्टिदोष हो,’ पुनले भने, ‘अतिवादी दक्षिणपन्थी सोचबाट एमाले मुक्त हुनुपर्छ।’

तर एमालेले भने माओवादीले परिवर्तनको नाममा अघि सारेका एजेन्डाले साम्प्रदायिक सद्भावना बिगारेको, क्षेत्रीय विद्वेष बढाएको जस्ता आरोप लगाउँदै क्रान्तिको नाममा माओवादी दक्षिणपन्थतिरै गइरहेको आरोप लगाइरहेको छ। अध्यक्ष ओलीले केही महिनाअघि आफूले १० वर्षअघि भनेको भनाइ सम्झाउँदै भने, ‘मैले उग्रपन्थको आयु १० वर्षको हुन्छ भनेको थिएँ, त्यो समय आयो होइन त?’

प्रकाशित : श्रावण १६, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

माओवादी ध्यान मधेसतिर

दाहालले नै भेला सञ्चालन र प्रदेश २ का सभालाई सम्बोधन गर्ने
मधेस इञ्चार्ज मातृका यादवमाथि कारबाही गर्न माग
बसन्त बस्नेत

काठमाडौं — माओवादी केन्द्रले प्रदेश २ को स्थानीय चुनाव केन्द्रित तयारीलाई आक्रामक बनाउने रणनीति बनाएको छ।

सोमबार राजधानीमा प्रदेश २ का ८ जिल्ला इञ्चार्ज र संयोजकसहित पोलिटब्युरो नेताहरूको भेला तोकेको माओवादी केन्द्रले बृहत्तर चुनावी रणनीति र प्रचारात्मक प्रशिक्षण गर्ने भएको हो। संविधान संशोधन विधेयक पारित गर्ने प्रयासमार्फत संविधानको स्वीकार्यता बढाउन आफूले पहल गरिरहेको सन्देशसहित कार्यकर्ता स्थानीय तहमा पठाउने तयारीका लागि भेला डाकिएको नेताहरूले जानकारी दिएका छन्। भेलालाई अध्यक्ष पुष्पकमल दाहाल आफैंले सञ्चालन गर्ने भएका छन्।
‘मधेसका ८ जिल्लामा स्थानीय चुनाव तयारीमा साथीहरू खटिइसक्नुभएको छ, त्यसैलाई व्यवस्थित गर्न भेला डाकिएको हो,’ नेता अग्निप्रसाद सापकोटाले भने। भर्खरै सकिएको सचिवालयको विस्तारित बैठकले असोज २ को चुनावमा केन्द्रित हुने गरी कार्यक्रम ल्याउने निर्णय गरेको थियो। माओवादीले संविधान र संघीय प्रदेश सीमांकनलाई लिएर मधेसमा केही असन्तुष्टि अझै रहेको भन्दै त्यसलाई सम्बोधन गर्न अधिकतम पहल गर्ने बाटो खोज्ने दाबी गर्‍यो। आइतबार अपराहन पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बस्ने पार्टी ‘हेडक्वार्टर’ बैठकले यससम्बन्धी छलफल गर्ने पार्टी स्रोतले जनायो। सिरहाबाट निर्वाचित र ‘अरूले भन्दा मधेस मुद्दा बढी बुझ्ने नेता’ का रूपमा माओवादीले अध्यक्ष दाहालकै नेतृत्वमा प्रदेश २ को प्रचारात्मक अभियान लैजान लागेको हो। आठ जिल्लामा हुने नगरस्तरीय आमसभालाई दाहाल आफैंले सम्बोधन गर्ने नेताहरूले बताए। मधेसकेन्द्रित नेताहरूले भने तत्कालीन ३० दलीय विपक्षी गठबन्धनका संयोजक दाहालले कांग्रेस र एमालेसँग १६ बुँदे सहमति गरी आफूहरूलाई धोका दिएको प्रचार गरिरहेका बेला माओवादीले यसलाई चिर्ने रणनीति बनाएको हो। १६ बँुदे सहमतिकै जगमा जारी संविधानलाई मधेसविरोधी भन्दै मधेस केन्द्रित पार्टीका सांसदहरूले हस्ताक्षर गरेनन्। तर तिनै दाहाललाई प्रधानमन्त्री चुन्ने बेला उनीहरूसमेत संसदमा भोट हाल्न आएका थिए।
संविधान संशोधनमार्फत मधेसको चासो सम्बोधन गर्ने आफ्नो अडान यथावत् रहे पनि एक मधेस प्रदेशको माग भने कुनै पनि हालतमा ब्युँताउन नसकिने नेताहरूले जिकिर गरे। ‘सचिवालय बैठकमा यो एक मधेस प्रदेशको विषय आयो भनी चर्चा बाहिर सुनियो, त्यस्तो कुनै छलफल भएको छैन,’ नेता सापकोटाले भने, ‘हामीले मधेसका असन्तुष्टि सम्बोधन गर्न यो संविधान संशोधन विधेयक पारित गर्ने जिम्मेवारी ठूला दलहरूले देखाउनुपर्छ भन्ने निरन्तर आग्रह र पहल गरेका छौं। त्यसभन्दा पर पुरानो र असान्दर्भिक भइसकेको विषय फेरि ल्याउने काम हामीबाट हुनै सक्दैन। त्यसले संविधान कार्यान्वयनलाई सघाउ पुर्‍याउँदैन।’
चार वर्षयता चर्चै हराएको एक मधेस प्रदेशबारे यसअघि नेता नारायणकाजी श्रेष्ठले गरेको 
ट्वीटका कारण अकस्मात् राजनीतिक वृत्तको ध्यान तानिएको थियो। प्रदेश २ का इञ्चार्जसमेत रहेका हेडक्वार्टर नेता मातृका यादवको नाम नलिई श्रेष्ठले गरेको ट्वीटका कारण यसबारे संशय जन्माइदिएको थियो। श्रेष्ठको ट्वीटमा भनिएको छ, ‘हाम्रो पार्टी एक मधेस प्रदेशको विरुद्धमा दृढ छ। यो अनावश्यक मात्रै होइन, हानिकारक पनि छ। यसमा कुनै भ्रम नरहोस्।’ तर पार्टीकै अर्का नेताले असान्दर्भिक ढंगले उठेका चर्चालाई पार्टीकै जिम्मेवार नेताबाट खण्डन हुँदा झन् नकारात्मक प्रचार हुन पुगेको भन्दै आलोचना गरे।
केही दिनअघि यादवसमेत सहभागी ‘मधेसी भ्वाइस एसेम्ब्ली’ का नाममा राजधानीमा आयोजित भेलामा एक मधेस प्रदेशको मुद्दा ब्यँुताउनुपर्ने प्रसंग उठे पनि त्यसबारे कुनै निर्णय नभएको नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले कान्तिपुरलाई जानकारी दिए। ‘त्यस भेलामा मातृकाजी पनि रहनुभएकाले उहाँसँग जोडिएर प्रचार भयो, तर उहाँबाट आएकै थिएन, केही सहभागीले उठाएका हुन्,’ तिवारीले भने, ‘मधेसी भ्वाइस एसेम्ब्ली कुनै औपचारिक संस्था होइन, त्यसमा उठेका कुरालाई माओवादीसँग किन जोड्नुपर्‍यो?’
मधेसी भ्वाइस एसेम्ब्ली माओवादी नेता यादव र नेसपा गजेन्द्रवादीका तिवारीसहित राजपा नेता महेन्द्र राय यादव, नेपाल संघीय समाजवादी पार्टी अध्यक्ष रिजवान अन्सारी र नयाँ शक्ति पार्टीका रामकेवल साह सदस्य रहेको पाँच सदस्यीय ‘लुज नेटवर्क’ रहेको तिवारीले प्रस्ट्याए। तर माओवादी नेता श्रेष्ठले एसेम्ब्लीका नाममा भएका गतिविधिप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै यादवमाथि कारबाही माग गरेका छन्। स्रोतका अनुसार उनले गलत र अव्यावहारिक माग राख्दै मधेसको समस्या गिजोल्न खोजेको भन्दै यादवलाई कारबाही गर्न आइतबारको हेडक्वार्टर बैठकमा प्रस्ताव लैजाने तयारी गरेका छन्। ‘मधेसको मुद्दा कट्टर ढंगले उठाउँदै आएको राष्ट्रिय जनता पार्टीले समेत अब सकिँदैन भनेर छाडिसकेको मुद्दा हाम्रै साथीहरूले उठाइदिने? यो के गर्ने खोजेको? यसले संविधान कार्यान्वयन हुन्छ कि भाँडिन्छ?’ श्रेष्ठले शनिबार आफ्नो निवासमा केही निकटस्थ नेतासँग भनेका थिए।
हेडक्वार्टरका नेता तथा प्रदेश २ इञ्चार्ज यादव भने भेलाकै पूर्वसन्ध्यामा नर्भिक अस्पतालमा भर्ना भएका छन्। उनको स्वास्थ्यमा समस्या देखिएको उनका छोरा रविकिरणले जानकारी दिए। माओवादी केन्द्रले जिल्लाबाट राजधानी आउन मातहत कमिटी नेताहरूलाई निर्देशन दिइसकेको भन्दै भेला नरोकिने जानकारी दिएको छ। आइतबारको बैठकले प्रकाशन विभाग, प्रचार विभागलगायत केही केन्द्रीय विभाग गठन गर्ने नेता विश्वभक्त दुलाल ‘आहुति’ ले जानकारी दिए।

प्रकाशित : श्रावण १५, २०७४ ०७:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×