२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

भविष्यमा असमझदारी नदोहोरियोस् : सेनापति क्षत्री

बेलायतसँग निरन्तर सहयोगको आग्रह
नविन पोखरेल

लन्डन — नेपाली सेनाले आफूलाई सैनिक सहयोग निरन्तर गरिदिन बेलायती सेनासमक्ष आग्रह गरेको छ । बेलायतको ६ दिने सद्भावना भ्रमणका क्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले बेलायती उच्च सैनिक अधिकारीहरुसमक्ष उक्त आग्रह गरेका हुन् ।

भविष्यमा असमझदारी नदोहोरियोस् : सेनापति क्षत्री

‘बेलायती र नेपाली सेनाबीच सम्बन्ध अझ प्रगाढ तुल्याउन विभिन्न विषयमा कुराकानी भयो’, क्षेत्रीले भने, ‘बेलायतले नेपाली सेनालाई दिएको सैनिक सहयोगबारे समेत विचार विमर्श भयो । नेपाली सेनाले बेलायतमा विशेष तालिम गरिरहेकामा त्यसलाई निरन्तरता दिनेबारे छलफल भयो भने बेलायती सेना नेपाल गएर नेपाली सेनासंग निरन्तर तालिम लिने सम्वन्धमा पनि कुरा भएको छ ।’

द्वन्द्व कालमा बेलायती सेनाले नेपाली सेनालाई गरेको सहयोगबारे समेत छलफल भएको प्रधानसेनापतिले बताए । ‘बेलायती सेनाले हामीलाई तालिमको कोटामा अभिवृद्धि गर्दै आएकोमा यसलाई निरन्तरता दिने सवालमा पनि कुरा भयो’, क्षत्रीले भने, ‘खासगरि यो गुडवील भिजिट हो । दुई देशबीचको ऐतिहासिक सम्वन्धलाई निरन्तरता दिने सिलसिलामा भ्रमण उपलब्धिमुलक भएको छ ।’

दुई सेनाबीच सम्वन्ध अभिवृद्धि तथा बेलायती सेना र नेपाली सेनाबीच सम्बन्धलाई थप मजबुत बनाउने दिशामा कुराकानी भएको पनि प्रधानसेनापतिले जनाएका छन् । गत वर्ष नै भ्रमणका लागि बेलायतले निम्ता दिएपनि देशको विद्यमान परिस्थितिले स्वीकार गर्न नसकेको उनले बताए । 

भूकम्पका बेला तीनवटा चिनुक हेलिकप्टर नेपालमा उड्न नदिइ फर्काइएको र बहालवाला कर्णेल कुमार लामालाई बेलायतले मुद्दा हालेपछि बेलायत र नेपाली सेनाको सम्वन्ध चिसिएको जिज्ञासामा क्षत्रीले केही असमझदारी भएको स्वीकारे । ‘भविष्यमा यस्तो घट्ना नदोहोरियोस् भन्ने हो । अहिलेको उच्च भ्रमणले असझदारीलाई सम्वोधन गर्नेछ’, उनले भने । 

संयुक्त अधिराज्य बेलायतका सेनाध्यक्ष निकोलस प्याट्रिक कार्टरको औपचारिक निमन्त्रणामा आइतबार बेलायत आएका प्रधानसेनापतिले बेलायती उच्च सैन्य अधिकारीहरुसंग भेटघाट गरेका थिए । उनले ब्रिगेड अफ गोर्खाज मुख्यालय, हाउसहोल्ड क्याभल्री माउन्टेड रेजिमेन्ट (एचसीएमआर) सैन्य शिविर अवलोकन गर्नुका साथै चिफ अफ दि डिफेन्स स्टाफ एयर चिफ मार्सल सर स्टुआर्ट विलियम पिच र चिफ अफ दि जनरल स्टाफ जनरल सरनिकोलस प्याट्रिक निक कार्टर एवं रक्षा मन्त्रालयका पदाधिकारीहरुसंग समेत भेटवार्ता गरेका थिए । 

गोर्खा बिग्रेडका उच्च सैनिक अधिकारीसंग छुट्टाछुट्टै भेटवार्ता गरी बेलायती सेनामा भइरहेको आधुनिकीकरणसम्बन्धी जानकारी लिनुका साथै द्विपक्षीय पारस्परिक हितका बारेमा छलफल गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति क्षत्रीको भ्रमणले नेपाल र बेलायतबीचको २०० वर्षभन्दा पुरानो ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुनाका साथै दुवै देशका सेनाबीचको आपसी सहयोग तथा सद्भाव अरु मजबुत हुने विश्वास नेपाली सेनाले लिएको छ ।

सेनापति क्षत्री शनिबार स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रकाशित : असार ३०, २०७४ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?