संविधान संशोधन प्रक्रियाबाट सरकार पछि हट्यो

 मन्त्रिपरिषद् विस्तारको गृहकार्य  एमाले र राप्रपाबाट असहयोग भएको आरोप
ओली भन्छन् : सरकारले प्रतिपक्षीबाट सहयोग लिन सकेन/चाहेन  राजपा : हामीलाई बाहिर राख्न खोजियो

काठमाडौं — दुई तिहाइ मत नपुग्ने भएपछि संविधान संशोधन विधेयकलाई तत्काल मतदानमा नलैजाने निर्णयमा सरकार पुगेको छ । मंगलबार बिहान एमालेसँगको बैठकपछि सरकार यस्तो निर्णयमा पुगेको हो । सरकारको यस्तो निर्णयप्रति आक्रोशित हुँदै साँझ राजपा नेताहरू बालुवाटार गएका थिए । तर सत्तापक्षले आफैं विवश रहेको बताएपछि फर्कंदा उनीहरूको स्वर मत्थर भएको थियो ।

संविधान संशोधन प्रक्रियाबाट सरकार पछि हट्यो

मंगलबार बिहान एमालेसँग वार्तापछि प्रधानमन्त्री शेरबहादुर देउवाले दुई तिहाइ नपुग्ने भएपछि अब संविधान संशोधनको सट्टा मन्त्रिपरिषद् विस्तार पहिले हुने बताएका थिए । देउवाको यस्तो भनाइ सुनेर क्रुद्ध राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले ‘सरकारले आफूहरूलाई प्रक्रियाभन्दा बाहिर राख्न अनेक निहुँ बनाइरहेको’ आरोप लगाए । तर बालुवाटारबाट फर्कंदा उनै महतोले भने, ‘संशोधन पारित गर्न सरकारले प्रयास जारी राख्छौं भनेको छ, हामीले पनि ठिकै छ, हामी पनि आफ्नोतर्फबाट प्रयास गरौंला भनेर फर्कियौं, आज सामान्य कुराकानी भएको छ ।’

राजपाका नेताहरूले यसअघि संविधान संशोधन पारित हुने गरी तत्काल अघि बढाउन सत्तारूढ शीर्ष नेताहरूलाई दबाब दिँदै आएका थिए । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको असहयोग नै कारक देखाएपछि महतो मात्रै होइन, अन्य राजपा नेताहरूले उल्टै ढाडस दिएका थिए, ‘एमालेसँग हामी पनि कुरा गरौंला ।’ तीन दिनअघि बालुवाटारमा उही सहमति गरी फर्केका सत्ता घटक र राजपा नेताहरूबीचको वार्ता मंगलबार पनि ठोस नतिजामुखी रहेन । सरकार प्रमुख प्रतिपक्षी एमालेसमेतको समर्थनमा संविधान संशोधन गर्ने प्रयास सम्भव नभएपछि ऊबाहेक पनि दुई तिहाइ पुर्‍याउने कसरतमा जुटेको थियो । तर, राप्रपा नै संशोधनको पक्षमा एकढिक्का नहुने थाहा पाएपछि सरकारले संविधान संशोधन विधेयक तत्काल स्थगन गर्ने निष्कर्षमा पुगेको हो । यद्यपि बेलुकी राजपासित देउवाले २–४ दिनभित्रै विधेयक टुंग्याउन प्रयास गर्ने आश्वासन दिएर फर्काउन सफल भए ।

संसद्मा राप्रपाको ३७ सिट छ । राप्रपा एकढिक्का हुँदा दुई तिहाइ पुग्न ४ सांसद नपुग्ने सरकार पक्षको दाबी थियो । ‘राप्रपा एकमत देखिएको भए अपुग संख्या हामीले जुटाइसकेका थियौं,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘तर राप्रपा नै एकढिक्का नहुने भएपछि तत्काल संविधान संशोधनको विधेयक अघि नबढ्ने भयो ।’ प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राप्रपा नेताहरूसंँग पटक–पटक गरेको संवादका आधारमा सरकार दुई तिहाइ मत पुर्‍याउन नसक्ने निष्कर्षमा पुगेको हो ।

प्रतिपक्षी एमालेले भने कांग्रेसले आफ्नो दललाई मधेसविरोधी चित्रित गर्दै राजपालाई चुनावमा आउनबाट रोक्ने षड्यन्त्र गरिरहेको आरोप लगाएको छ । मंगलबार बिहानको वार्तामा अध्यक्ष केपी अ‍ोलीले भने, ‘हामी राजनीतिक गतिरोध टुंग्याऔं भनेर भनिरहेका छौं, आवश्यक सहयोग गर्न तयार छौं, तर सरकारले प्रतिपक्षीको सहयोग लिन त सकेन नै, लिनुपर्ने आवश्यकता पनि महसुस गरेन ।’ कांग्रेसले राजपालाई आफ्नो चुनावी फाइदाका लागि प्रक्रियाभन्दा बाहिर राख्न खोजेको आरोप राजपाकै नेताहरूले लगाउन थालेका छन् । ‘आन्दोलनका बेला एमाले नेतृत्व मधेसविरोधी देखिएकाले हाम्रो आक्रोश एमालेतिर थियो, तर अहिले त्यसलाई आफ्नो फाइदाका लागि कांग्रेसले प्रयोग गर्न थालेको देखियो,’ राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले यसअघि कान्तिपुरसँग भने, ‘आक्रोश अब कांग्रेसतिर सर्दै गएको छ ।’

एमाले संसदीय दल उपनेता सुवास नेम्बाङले सत्तापक्षले राजनीतिक सहमतिको कुरा गरिरहेको, तर वार्तामा कुनै ठोस प्रस्तावबिनै आउने गरेको भन्दै आलोचना गरे । उनले चुनावका कार्यक्रम चल्दाचल्दै कुनै राजनीतिक निर्णय गर्न नपाइने भए पनि स्थानीय तहको संख्या वृद्धिको विषय आइरहेको भन्दै सरकारले ‘बाहिर गरेका सहमति’ एमालेले कार्यान्वयन गर्न नसक्ने जवाफ दिएको बैठकपछि बताए ।

मन्त्रिपरिषद् विस्तारको गृहकार्य
संविधान संशोधन विधेयक तत्काल अघि नबढ्ने भएपछि मंगलबारबाटै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । उनले तत्काल मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबन्डा टुंग्याउन कांग्रेस र माओवादी केन्द्रबीच गठित कार्यदललाई जिम्मेवारी दिएका हुन् । कार्यदलमा कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक छन् भने माओवादी केन्द्रबाट उपप्रधानमन्त्री कृष्णबहादुर महरा र नेता वर्षमान पुन छन् । यसअघि दुई तिहाइ समर्थन जुटाउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच संविधान संशोधनपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने गरी सहमति भएको थियो । बिहान बालुवाटारमा सत्ता गठबन्धन र एमालेबीच भएको छलफलपछि सरकारले तत्काल संविधान संशोधन विधेयकलाई अघि नबढाउने र मन्त्रिपरिषद् विस्तार गर्ने योजना अघि सारेको हो ।

कार्यदल सदस्यसमेत रहेका कांग्रेस नेता निधिले दुई तिहाइ नपुग्ने भएपछि संविधान संशोधनको विधेयक तत्काल अघि नबढाइने जानकारी दिए । ‘संविधान संशोधनमा दुई तिहाइ तत्काल नपुग्ने भएपछि मन्त्रिपरिषद् विस्तार अब केही दिनमै हुन्छ,’ निधिले कान्तिपुरसँग भने । केही दिनअघि बसेको राप्रपाको संसदीय दलको बैठकले संविधान संशोधनको पक्षमा निर्णय लिन नसकेपछि सरकारले प्रतिपक्षको सहयोगबिना दुई तिहाइ मत पुर्‍याउन नसक्ने निष्कर्षमा पुगेको हो । गत वैशाख १७ गते पनि राप्रपाका १० सांसद विपक्षमा उभिने जनाउ दिएपछि सरकारले संविधान संशोधन विधेयकलाई मतदानमा लगेको थिएन ।

‘राप्रपा एकढिक्का भएको अवस्थामा एमालेबाहेक पनि दुई तिहाइ पुग्ने अवस्था छ,’ निधिले भने, ‘उहाँहरूले सबैको मत आउँछ त भन्नुभएको छ । तर हामीलाई शंका छ ।’ दुई तिहाइ पुर्‍याउनका लागि सरकारले एकसिटे साना दललाई समेत मन्त्री दिने तयारी गरेको थियो । तर, अब साना सबै दलले मन्त्री नपाउने भएका छन् । प्रधानमन्त्री चुनावमा मतदान गरेको राप्रपालाई उपप्रधानबाहेक चार मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ । तर, कांग्रेस र माओवादी केन्द्रभित्रै कतिपय नेताहरूले संविधान संशोधन विधेयकमा एकमत नहुने भएपछि राप्रपालाई सरकारमा ल्याउनुको औचित्य नरहेको बताउन थालेका छन् ।

दुई तिहाइ मत नपुग्ने भएपछि कांग्रेस र माओवादी केन्द्रले २० मन्त्रालयमा भागबन्डा गरी मिलाउने तयारी गरेका छन् । कांग्रेसले १२ र माओवादी केन्द्रले ८ मन्त्रालय लिने गरी सहमति जुटाउने प्रयास भएको बालुवाटार स्रोतले बतायो । तर, माओवादी केन्द्रले भने ९ मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । ‘कति राजनीतिक दललाई सरकारमा ल्याउने भन्ने टुंगो लागेपछि कुन–कुन मन्त्रालय क–कसले पाउने भन्ने टुंगो एकैछिनमा लाग्छ,’ स्रोतले भन्यो । कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालयको संख्याबारे कार्यदलस्तरमा सहमति जुट्न नसकेपछि त्यसलाई टुंग्याउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जिम्मा दिइएको छ ।

प्रकाशित : असार २७, २०७४ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?