१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नारायणगढ–मुग्लिन सडकखण्डमा २९ ठाउँ पहिरोको जोखिम

३४ घण्टापछि खुल्यो सडक
दीपेन्द्र बडुवाल

चितवन — पहिरोले अवरुद्ध भएको साढे ३४ घण्टापछि शनिबार साँझ चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सञ्चालन भएको छ । इच्छाकामना गाउँपालिका ६ स्थित कालिखोला नजिकै शुक्रबार दुई पटक पहिरो खस्यो ।

नारायणगढ–मुग्लिन सडकखण्डमा २९ ठाउँ पहिरोको जोखिम

बिहानको पन्छाएर नसकिँदै दिउँसो ठूलो पहिरो खसेपछि सडक लामो समय अवरुद्ध भएको हो । 

पूर्वबाट राजधानी र पोखरालगायत स्थल आउजाउ गरिने प्रमुख मार्ग लामो समय अवरुद्ध भएपछि यात्रु र गाडी चालकले सास्ती बेहोर्नु पर्‍यो । शुक्रबार साँझ रूपन्देहीको भैरहवाबाट राजधानीका लागि गाडी चढेकी रञ्जु काफ्ले शनिबार साँझ ७ बजे कलंकी पुगिन् । उनी बुटवल, पाल्पा, पोखरा हुँदै राजधानी गएकी हुन् । ‘साह्रै दु:ख पाइयो,’ उनले कान्तिपुरसित भनिन्, ‘बल्लबल्ल काठमाडौं पुगियो ।’ उनले बुटवल–पोखरा खण्डमा पनि ढुंगा झर्ने समस्याले यात्रु त्रस्त हुने गरेको बताइन् । भैरहवाबाट नारायणगढ–मुग्लिन हुँदै राजधानीसम्म ७ घण्टा लाग्छ । ‘१३ घण्टाभन्दा बढी समय बसमा भोकभोकै यात्रा गरियो,’ उनले भनिन् ।

प्रहरीले शुक्रबार बिहानैदेखि पूर्व र पश्चिमबाट आएका बसलाई वैकल्पिक मार्गमा पठाएको थियो । पश्चिमबाट आएकालाई बुटवल हुँदै पोखरातर्फ र पूर्वकालाई मकवानपुरस्थित बाइरोडतर्फ पठाइएको थियो । दुवै सडक साँघुरा र घुम्ती धेरै भएकाले यात्रा ढिलो हुने गरेको हो । मालवाहक ट्रकलाई उक्त सडक खण्डको सुरक्षित क्षेत्रमा पार्किङ गरिएको थियो । राजधानीबाट आएका गाडीको जाम शनिबार साँझसम्म मुग्लिनदेखि कुरिनटारसम्म लागेको थियो । सडकमा मोटरसाइकल सजिलै छिर्ने अवस्था थिएन । ‘सडकभरि गाडी खचाखच थिए,’ रञ्जुले भनिन्, ‘त्यसले पनि बसलाई ओहोरदोहोरमा अवरोध पुर्‍यायो ।’ 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिरो पन्छाउन २१ घण्टा लागेको हो । रातको समयबाहेक निरन्तर लोडर र स्काभेटर गरी ५ वटा मेसिन सञ्चालन गरेर पन्छाइएको उनले बताए । राति पन्छाउन सम्भव नभएपछि शनिबार बिहान ५ बजे काम सुरु गरिएको थियो । ‘३४ घण्टापछि शनिबार साँझ दुईतर्फी सडक खुलायौं,’ उनले भने । साँझसम्म सयौं ट्रक लाम लागेकाले उक्त खण्डका ठेकेदार कम्पनीका कर्मचारीले ट्राफिक व्यवस्थापन गरेर गाडी पास गराउने उनले जनाए । त्यसबाहेक नियमित निगरानीका लागि नारायणगढदेखि मुग्लिनसम्म प्रहरीका ४ वटा टोली परिचालन गरिएको छ । 

१६ सय मिटर जोखिमपूर्ण
आयोजनाका अनुसार उक्त खण्डका २९ स्थानमा पहिरोको जोखिम छ । तर पछिल्लो समय इच्छाकामना गाउँपालिकाअन्तर्गत चोरखोलादेखि चेपाङ डाँडासम्म १ हजार ६ सय मिटरमा निरन्तर पहिरोले अत्याएको हो । इन्जिनियर खनालका अनुसार जोखिमयुक्त २९ मध्ये चोरखोलादेखि चेपाङडाँडाबीच १०–१२ स्थान छन् । यसै खण्डमा ८ दिनमा पहिरोका कारण ७० घण्टा बाटो बन्द भइसकेको छ । पटक–पटक कालीखोला र आसपास पहिरो गइरहेको छ । ट्राफिक प्रहरी निरीक्षक सन्तोष पन्तले गत शुक्रबारयता ८ दिनमा ७० घण्टा यातायात बन्द भएको बताए । ‘यस अवधिमा ७ पटकसम्म पहिरो झर्‍यो,’ उनले भने, ‘शुक्रबार दिउँसो ठूलो पहिरो खसेकाले समस्या भयो ।’ प्रहरीले मानवीय क्षति हुने भन्दै गाडीलाई दासढुंगाबाट अघि बढ्न रोक लगाएको थियो । त्यहींबाट सुरु भएको गाडीको लाम भरतपुरस्थित गोन्द्राङ जंगलसम्म पुगेको थियो । गाडीलाई दासढुंगा, रामनगर, नारायणगढ, पारसबसपार्क लगायत स्थानमा रोकेको थियो । १५ किलोमिटरसम्म गाडी रोकिएका थिए । 

सातामा ४ को मृत्यु, २ बेपत्ता
नारायणगढ–मुग्लिन खण्डको कालीखोलामा एकसातादेखि लगातार खसिरहेको पहिरोमा परी ८ दिनमा ४ जनाको मृत्यु भएको छ । २ जना अझै हराइरहेका छन् । गाडी अवरुद्ध भएपछि मुग्लिनबाट पैदल नारायणगढतर्फ आइरहेका यात्रु सर्लाही मदनपुर ६ का २२ वर्षीय भिखारी चौधरीलाई शनिबार अपराहन इच्छाकामना ६ स्थित पहिरोले बगाएपछि त्रिशूलीमा बेपत्ता भएको प्रहरी उपरीक्षक दीपक थापाले जनाए । त्यही स्थानमा शुक्रबार अपराह्न पहिरो हेर्न गएका स्थानीय ६१ वर्षीय एकबहादुर मगरको मृत्यु भएको थियो । सडकको डिलमा बसेका मगरलाई पहिरोले त्रिशूली किनारमा पुर्‍याएको थियो । उनको शव त्रिशूली किनारमा फेला परेको थियो । एक साताअघि कालीखोलाबाट ५० मिटर पश्चिम पहिरोले सुरक्षाकर्मीको गाडी बगाउँदा ३ प्रहरीको मृत्यु भएको थियो । एक जना अझै बेपत्ता छन् । 

पहिरोको ‘कारण’
सडकलाई एसियन मापदण्डअनुसार दुई लेनमा स्तरोन्नति गर्न २ वर्षदेखि यहाँ निर्माणको काम चलिरहेको छ । २०३३/३४ मा चीन सरकारको सहयोगमा निर्माण भएको सडकभन्दा तलपट्टि त्रिशूली बग्छ । माथि पहाड छ । सडक फराकिलो बनाउन ठेकेदार कम्पनीले अहिले पहाड कटान गरिरहेका छन । भूकम्पले थिलथिलो बनाएको पहाड कटान सुरु गरिएदेखि नै यस खण्डमा सुक्खायाममा समेत पहिरो झर्न थालेको हो । गत चैत २१ गते ठूलो पहाडको ढिस्को खसेपछि आधा दर्जन गाडी पुरिएका थिए । पहिरोले क्षति बढेपछि गत असार १३ गते सडक अनुगमनका लागि आएको व्यवस्थापिका संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले पनि यहाँ भइरहेको कटानलाई लिएर प्रश्न गरेका थिए । ‘पहाड भिरालो हुने गरी पो कटान गरिनुपर्छ,’ यहाँ आयोजित छलफलमा भने, ‘तर कोप्रो पर्ने गरी कटान गरिएको छ ।’ कटान नमिलेका कारण पहिरो खसेको उक्त अनुगमन टोलीका सदस्यले बताएका थिए । समितिले पहाड कटिङ, ढल निर्माण, कालोपत्रे लगायतको कामको स्थलगत अनुगमन गरेको थियो । सडक स्तरोन्नतिको काम सुरु गरेको दुई वर्षमा ५१ प्रतिशत काम मात्र भएको छ । विकास समिति सदस्य सांसद गुरु बुढाथोकीले पहाड काट्ने काम नियमसंगत नभएको बताए । विश्व बैंकको ऋण सहयोगमा नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत स्तरोन्नतिको काम चलिरहेको छ । निर्माणको जिम्मा २ अर्ब ९० करोडमा ३ कम्पनीले लिएका छन् । 

पर्यटक अप्ठ्यारोमा
राजधानी काठमाडौंलगायत विभिन्न ठाउँबाट चितवन घुम्न आउने पर्यटक पहिरोको मारमा परेका छन् । यहाँ होटल बुकिङ गरेर आउने पर्यटक दुई दिनसम्म जाममा फस्ने गरेका छन् । त्यसले जिल्लाकै पर्यटन प्रभावित भएको छ । समस्या बढेपछि सौराहाका होटल बुकिङ गराएर पनि उनीहरू विकल्पमा पोखरा जान बाध्य छन् । ‘यही सिजनमा २० प्रतिशत विदेशी सौराहा आउँथे,’ क्षेत्रीय होटल संघ अध्यक्ष सुमन घिमिरेले भने, ‘दिनहुँजसो पहिरो खस्ने र लामो समयसम्म गाडी बन्द हुँदा यता आउने पर्यटक धमाधम पोखरा जान थाले ।’ दैनिक दुई सय हाराहारीमा बाह्य र आन्तरिक पर्यटक आउने सौराहामा अहिले आधा मात्र आउँछन् । केही पर्यटक जहाज चढेर आए पनि भाडा महँगो भएको गुनासो हुने अध्यक्ष घिमिरेले बताए । यहाँ जंगल, जिप, डुंगा सफारीका लागी पर्यटकहरू आउँछन् । ‘एउटा चाइनिज टिमले एक साताअघि नै आउने भनेर होटल बुकिङ गरेको थियो,’ सौराहास्थित होटल सेन्टरपार्कका सञ्चालक श्याम महतले भने, ‘शनिबार बुकिङ रद्द गराएको क्यान्सिल गरिएको जानकारी आयो, बाटोका कारण पर्यटक डराउँछन् ।’ यसको मारमा यहाँका व्यापारीसमेत परेका छन । चितवनबाट केरा, अण्डा, खाद्यान्नलगायतका सामान बिक्री हुने बजारको रूपमा राजधानी र पश्चिम पोखरा, गोर्खा, बाग्लुङ रहेका छन । पहिरोले यहाँबाट जाने सामान ठप्प छ । पहिरोले वैकल्पिक बाटोबाट सामान लैजाँदा महँगो पर्न थालेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले बताए । ‘पश्चिमको बजार शून्य जस्तै भयो,’ उनले भने, ‘यस्तै समस्या रह्यो भने व्यवसायीहरू मारमा पर्छन् ।’ 

जहाजमा भीड
यस खण्डमा जोखिम बढेपछि जहाज चढ्नेको संख्या बढेको छ । भरतपुर विमानस्थलका अनुसार अहिले मासिक १६ हजार यात्रु हवाई मार्ग प्रयोग गरिरहेका छन् । यो संख्या दुइतर्फी यात्रुको हो । सडकको अवस्थाले जहाज चढ्नेको संख्या बढेको हो । दिनहुँजसो पहिरोले गाडी रोकिने, मानवीय क्षति र सवारी दुर्घटना बढेपछि मानिस जहाज चढ्न थालेका हुन् । बुद्ध, अग्नि र सिम्रिक एयरले अहिले यहाँ सेवा दिँदै आएको छ । अग्निले एक दिनमा ९ वटासम्म उडान भरेको छ । त्यस्तै बुद्धले ४ देखि ९ वटा उडान भर्दै आएको छ । यहाँबाट राजधानीको भाडा ३ हजार ५ सय छ । एक वर्षको अवधिमा हवाई यात्रुको संख्या चार गुणाले बढेको विमानस्थलले जनायो । ‘पहिरो र जामले सडक यात्रा जोखिमपूर्ण भएपछि जहाज चढ्नेको संख्या हात्तै बढेको बुद्ध एयरका स्टेसन म्यानेजर भक्तबहादुर थापाले बताए । 

घर बगाउँदा ३ को मृत्यु
तेह्रथुम (कास)– म्याङलुङ नगरपालिका ५ आमदेनमा शुक्रबार राति पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पुरिएर अन्य ३ जना गम्भीर घाइते छन् । घरमाथिबाट खसेको पहिरोले बगाउँदा ५० वर्षीया कुमारी लिम्बू, उनकी ९ वर्षीया नातिनी प्रीति र ७ वर्षीय नाति प्रेम लिम्बूको घटनास्थलमै मृत्यु भएको हो । छोराहरू ४० वर्षीय सोमकुमार र ३५ वर्षीय तेजकुमार तथा नातिनी १५ वर्षीया पञ्चकुमारी घाइते भएका छन् । गाउँलेले खेतमा पानी लगाउन घरमाथिबाट लगेको कुलो भत्किएर पहिरो गएको सशस्त्र प्रहरी बल म्याङलुङ गुल्म जिरीखिम्तीका प्रहरी नायब उपरीक्षक प्रदीपसिंह कार्कीले जानकारी दिए । घाइते सोमकुमार र पञ्चकुमारीको जिल्लामा उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ । तेजकुमारको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ । 

प्रकाशित : असार १८, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?