टिप्पणी : गोर्खाल्यान्ड गाथा

सुजीव शाक्य

दस वर्ष पहिले प्रशान्त तामाङले इन्डियन आइडल जितेर दार्जिलिङ क्षेत्रमा अर्को राजनीतिक आयाम सुरु भयो । प्रशान्तलाई जिताउन लागेका विमल गुरुङले गोर्खा जनमुक्ति मोर्चा पार्टी खोलेर गोर्खा राष्ट्रिय जनमुक्ति मोर्चाका सुभास घिसिङझैं पहाडको राजनीतिमा होमिए ।

विकास भनेको आफू, आफ्नो पार्टी र समर्थकको निजी आर्थिक विकासमा विश्वास राख्ने मनसाय देखिँदै गयो । पैसा सिद्धिन्न थाल्यो कि गोर्खाल्यान्डको नारा लिएर आउँछन् भनेर धेरैले भन्न थाले । दार्जिलिङ जिल्ला र अब भर्खरै घोषणा गरेको कालिम्पोङ जिल्लाका केही गर्न जाँगर भएका युवा पिढी मुम्बई, बंगलौर र दिल्लीतिर लागे । राजनीतिक पोषणमा हुर्केकाहरूसँग उनीहरू बाझ्न चाहेनन् । विदेशतिर लाग्नु नै भविष्यको निम्ति राम्रो मान्न थाले । राम्रा–राम्रा विद्यालयहरू भएकाले बाह्र कक्षासम्म पढ्ने र त्यसपछि कलेजसँगै जीवन पनि बाहिर नै । अवकाश प्राप्त भएकाहरू नाति–नातिनी हुर्काउन बसे । युवाहरू नभएपछि तराई भूमिबाट काम गर्न आउनेहरू बढ्न थाले । सानो ठाउँ सानो रहन सकेन, बढ्दै गयो, तर सहर पनि बन्न सकेन । एकार्कामा दूरी पनि बढ्यो, तर ठूलो सहरझैं आर्थिक रूपले परिवर्तन भएर युवा पिढीलाई पनि समेट्न सकेन । मानिसहरू दिक्क भए, तर जीवन चली पनि रह्यो ।
एकाएक यस महिनाको सुरुमा बंगालका मन्त्रीले दार्जिलिङ, कालिम्पोङ क्षेत्रमा पनि बंगला (बंगाली) भाषालाई विद्यालयहरूमा अनिवार्य गर्ने भनेर घोषणा गरे, जसले चालिस वर्ष अघिको घाउ फेरि ब्युँताइदियो । गोर्खाल्यान्ड हुनैपर्छ भनेर नभन्नेहरू पनि भाषा आन्दोलनको पक्षमा देखिए । सन् १९९२ मा नेपाली भाषाले भारतीय संविधानमा मान्यता पाएको थियो । भाषाका कारण अब फेरि पहाडी क्षेत्र एकपटक आन्दोलनमा होमिएको छ । 

बदलिँदो परिवेश
प्रथमपल्ट १९८६ मा गोर्खाल्यान्ड आन्दोलन सुरु हुँदा हामी कोलकातामा विद्यार्थी थियौं । नेपाली भएकामा अलि अलि दु:ख पनि भोग्यौं । इन्जिनियरिङ कलेजतिर नेपालीजस्ता देखिने भारतीय मणिपुरी र नागाहरूले पनि पिटाइ खाए । धेरै नेपालीले बच्न दाह्री पाले, कुर्ता–पाइजामा लगाए । मेघालयबाट पनि नेपालीहरू खेदिएका थिए । तसर्थ जोगिनु ठिक थियो । 
यसपालिको आन्दोलनको समर्थनमा भारतका अन्य सहरमा पनि धेरै जुलुस देखिएका छन् । नेपाली वा गोर्खा नभएकाहरूले पनि सामाजिक सञ्जालमार्फत अहिलेको आन्दोलनलाई समर्थन गरिरहेका छन् । दार्जिलिङ–कालिम्पोङतिरकाहरू भारतका अनेक भागमा राम्रा पेसा र ओहदामा पुगेका छन् । उनीहरूका साथीहरू पनि यसपटक सामाजिक सञ्जाल र मिडियामार्फत ओर्लेका छन् । दूरदर्शनका एकतर्फी खबरको जमाना होइन यो, अनेक निजी टेलिभिजन च्यानलहरूलाई समाचार सम्प्रेषण गर्न दिइएको छैन । इन्टरनेट काटियो, तर समाचार फैलाउने नयाँ तरिका भेटिएका छन् । 

नेपालमा के असर ?
१९८६ सालमा नेपालमा पञ्चायत व्यवस्था भएकाका कारण निजी मिडिया थिएन, राजाहरूलाई यो आन्दोलनसँग कुनै सरोकार थिएन । तर यसपटक नेपालमा पनि मधेसी समुदायले आफ्नो हकको निम्ति आवाज उठाइरहेका बेला उता नेपालीभाषी समुदायको हकको आन्दोलन छेडिएको छ । सायद यसपटक नत दिल्लीले न काठमाडौंले यो दृष्टिकोण नकार्न सक्छन् । दिल्लीमा नजिकसँग नेपाल, भारतलाई नियालेर बस्नेमध्ये केहीले के गोर्खाल्यान्ड दिएर भारतको सरकारले नेपालमा प्रदेशहरूको सीमांकन कुरो बदल्न सक्छ भन्ने राय राख्छन् । गोर्खाल्यान्डको आन्दोलन चर्किंदै गयो भने र हिंसात्मक रूपमा तीस वर्ष अघिझैं चक्र्यो भने नेपालले के गर्ने ? नेपालको मधेस आन्दोलनलाई यसले कुन दिशातर्फ लिएर जाला ?

दार्जिलिङको दुर्दशा
गोर्खाल्यान्ड विभिन्न राजनीतिक दलहरूले आफ्नो स्वार्थको निम्ति चलाउने एउटा ठूलो अस्त्रका रूपमा सीमित रह्यो । कहिले बोर्ड गठन र चुनाउअघि लगाउने नाराको रूपमा सीमित भयो । विकास भनेको नै ठेक्कापट्टा मार्फत पैसा कमाउने हो भन्ने मूलमन्त्र बन्न थाल्यो । गोर्खाल्यान्ड चिनारीको लडाइँ हो र त्यसविरुद्ध अर्को चिनारीको युद्ध अहिले बंगालका मुख्यमन्त्री ममता वनर्जीले छेडिन् । लेप्चा, राई, तामाङ, नेवार गरेर प्राय: सबै जातको विकास बोर्डहरू गठन गरिए, अलिअलि पैसा खन्याइए । त्यही घर र बाटो बनाउने कन्ट्रयाक्टरहरू यतातिर लागे । विकास भनेको खर्च हो, पैसा त केन्द्र वा कोलकाताबाट आउनु नै पर्छ भन्नेमा विश्वास राखे । पैसा, रुपियाँ मिलेन भने गोर्खाल्यान्ड ब्युँताए । भ्रष्टाचारबाट नत ममता वनर्जीका मानिसहरू टाढिए, न विमल गुरुङ र उनका आसेपासे । पैसाको खोलो बग्यो र बनेको बाटो र ढल पनि खोलोमै बग्यो । बालुवामा पानी खन्याउने व्यवसाय उत्तम व्यवसायको रूपमा चिनियो । जग्गा मिलाइदिने, अवैध रूपमा घरटहरा बनाउने, जग्गा मिच्ने, डोजर लगाएर बाटो बनाएर पहिरो निम्त्याउने काम गरियो । जे गरे पनि भेटी चढाउनुपर्ने माहोल बन्यो । 

यस पटकको आन्दोलनमा गोजमोको समर्थनमा चुनाव जितेका सत्ताधारी भाजपाका सांसद अल्हुवालियाले गोर्खाल्यान्डको समर्थन गर्नुपर्ने बोध गरे । तर सन् २०१९ मा बंगालको ४२ संसदीय सिट ताकेर बसेका सत्ताधारी प्रधानमन्त्री र भाजपाको अध्यक्षले त्यति सजिलै समर्थन दिने छैनन् । एक सिटको निम्ति ४२ सिटको बाजी लगाउने छाँटकाँट छैन । यसर्थ यो आन्दोलन तन्किने छ, सायद महिनौंसम्म जानेछ । एक पटक फेरि अलिक स्थिर भएको अर्थतन्त्रलाई संकटमा ल्याउनेछ । कालोबजारी बढ्नेछ । स्कुलहरूबाट भुटान, नेपाल लगायतका अन्य देश र भारतकै अन्य ठाउँबाट आउने विद्यार्थी आउन छाड्नेछन् । चिया बगानको राजनीति अर्कै छ । भावनाबाट उठेको आन्दोलन कहाँ गएर टुंगिन्छ, नेताहरूलाई नै थाहा हुन्न । धेरैले यसपटक दार्जिलिङ क्षेत्रले २ सय वर्षदेखिको भुललाई सच्याउनेछ भन्ने लागेको छ । तर नतिजा चाँडै आउला जस्तो छैन । 

नेपाललाई पाठ
संघीयता चुनेको नेपालले गोर्खाल्यान्ड आन्दोलनबाट धेरै सिक्न सक्छ । ती मध्ये दुइटा मुख्य हुन्– एक, पहिचानको आधारमा सुरु हुने राजनीति सयौं वर्षसम्म चल्न सक्छ र समस्याहरू ब्युँताइराख्दा, हल ननिकाली बस्दा सबभन्दा बढी राजनीतिक फाइदा हुन्छ । नेपालमा जातीय पहिचानको आगो सल्किसकेको छ, यसलाई सानै रूपमा मात्र राखेर हात ताप्न खोजे ठिक छ, तर घिउ हाल्ने काम गर्नथाले सबैलाई जलाएर लान्छ । दुई, संघीयता वा कुनै संरचना विकासको नाममा मागिखाने भाँडोको संयन्त्र बनाउन हुन्न । आम्दानी चाहिन्छ. दार्जिलिङ क्षेत्रमा आम्दानीका स्रोतहरू प्रशस्त भए पनि ठेक्कापट्टा अर्थतन्त्र बन्ने, सरकारी जागिर खोज्ने र अलिअलि साइड इन्कम गर्नेमा सीमित भए । यहाँ पनि प्रदेशहरूले यस्तै आर्थिक संरचनालाई संघीय रूपमा ठेल्ने हो भने केही वर्षपछि पहिचानसँग जोडिएका बिभिन्न ल्यान्डहरूको आन्दोलनले नेपाललाई फेरि काठमाडौंमा सीमित गर्नेछ । 


 

प्रकाशित : असार १०, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्

रक्सी किन यति प्रिय ?

डा. विश्वबन्धु शर्मा

डाक्टरकहाँ जाने हामी सबैले सधैं नबिर्सी सोध्छौं, ‘औषधी केसँग खाने ? तातो कि चिसो पानीसँग खाने ? खाना खाएपछि या खानु अगाडि ?’ त्यस बाहेक एउटा प्रश्नचाहिँ अनिवार्य राख्छौं, ‘के–के कुरा बार्नुपर्छ ?’ जसरी रोगीले प्रश्न राख्छ, त्यसैगरी प्रत्येक चिकित्सकले प्रत्येक रोगीलाई टेप गरेजस्तै भन्छ, ‘अमिलो, पिरो, चिल्लो, भुटेको र रक्सी र चुरोटचाहिँ छुनै हुँदैन । धूमपान र मदिराले निरोगीलाई पनि हानि गर्छ, यो सबैलाई थाहा भएकै कुरा हो ।’

रक्सीको प्रसंग उठाउँदा कहिलेकाहीं डाक्टर आफैं पनि असजिलोमा पर्छन् । ३५ वर्षको मेरो डाक्टरी जीवनमा कैयौंपटक यस्ता अनुभव आफैंले भोगेको छु । एक पटक एक ‘आधुनिक’ भेषभूषाका युवकलाई पिउने गर्नुहुन्छ कि भनेर सोध्दा स्तब्ध पार्ने जवाफ पाएँ, ‘तपाईं पनि के प्रश्न गर्नुहुन्छ, आजको जमानामा नपिइकन काम चल्छ ? बरु कति पिउनुहुन्छ भनेर सोध्नोस् न !’
एकजना मदिरा दुव्र्यसनी आफ्नो गल्ती पटक्कै स्वीकार्दैनथे । आफूलाई ठिक देखाउन उनी उदाहरण दिन्थे, ‘ठूलाबडाका घरमै रक्सी बढी खान्छन् । राष्ट्रपति, मन्त्रीजस्ता ठूला पाहुनालाई रक्सीबाटै स्वागत गर्छन् । महान लेखक, कलाकारले दिल खोलेर पिउँछन् ।’ मैले भनेंँ, ‘तपाईं पनि त्यस्तै महान हुन सिर्जना गर्दै पिउनु होला, तर आफ्नो कमजोरी लुकाउन आफूले आदर गरेका व्यक्तिको सहारा लिनु त झन् उनीहरूमाथि नै अन्याय र तिरस्कार गर्नु हो ।’

मदिरा सेवन मानव सभ्यता सुरु भएदेखि नै हुँदै आएको छ । कतिपय समाजमा यसको प्रयोग धार्मिक र सामाजिक रूपले पनि मान्य छ । नेपालका केही समुदायमा कुखुराको भाले, कुखुराको फुल र मदिरा शुभकार्यमा अनिवार्य छ । विभिन्न धार्मिक शक्तिपीठमा मदिरा पनि चढाइन्छ र त्यहाँको जल या प्रसाद सम्पूर्ण हिन्दुहरूका लागि पवित्र मानिन्छ । त्यस्तै क्रिस्चियन धर्मको बाइबलका कथाहरूमा प्रभु इशुले पानीलाई मदिरामा परिणत गरी आफ्नो दैवीशक्ति र चमत्कार देखाएका वर्णनहरू छन् । यसरी धार्मिक र सामाजिक परम्परासँगै जोडिएर आएको हुनाले आजको समाजमा पनि विविध औपचारिक स्थान र समयमा यसको सेवनले ठाउँ पाएको छ । सायद यिनै ऐतिहासिक, धार्मिक, सामाजिक मान्यताले गर्दा नशालु पदार्थ हुँदाहुँदै पनि मदिराको प्रश्न जटिल र द्विविधायुक्त भई अझै यसको उपभोगले वैधानिक छुट पाएको छ ।

हिजोआज बिरामीसँग मदिराबारे चर्चा गर्दा एउटा नयाँ तर्क पनि सुन्न पाइन्छ । थोरै मात्रामा अड्कलेर पिउने गरे यसले मुटुका रोगीहरूलाई फाइदा गर्छ रे ! रोग लागिसकेकालाई त फाइदा गर्छ भने झन् रोग नै नलागेका निरोगीले पनि थोरै–थोरै सधंै पिउने गरे मुटुको रोग नै लाग्दैन होला ! तर यस तर्कभित्र खतरनाक कुतर्क लुुकेको छ । जब कुनै वस्तुको लाभको चर्चा गरिन्छ, त्यसबाट हुने प्रत्यक्ष–अप्रत्यक्ष हानि र त्यसले उत्पन्न गर्ने खतरासँग जोड–घटाउ गरेर मात्र शुद्ध लाभको मूल्याङ्कन गर्नुपर्छ ।

मदिरा सेवनबारे जनमानसमा केही भ्रम छन् । रक्सी पिएका बेला मन आँटिलो भएको, फुर्ती आएको र गाह्रो काम गर्न जोश–हिम्मत बढेको अनुभव हुन्छ आदि । रक्सीले मानिसको मस्तिष्कलाई धुमिल्याइदिने, सतर्कता, होशियारी र खतराको महसुसलाई कमजोर पारिदिने हुनाले आफू आँटिलो भएको अनुभव हुन्छ । खाल्टै–खाल्टा भएको जमिनमा हिंँड्दा खाल्टामा परिन्छ कि भनेर हामी सतर्क हुन्छौं, तर वर्षापछि छिपछिपे पानीले त्यही जमिन ढाक्यो भने खाल्टाहरू देखिँंदैनन्, सबै समतल देखिन्छ । त्यस्तो अवस्थामा आँटिलो भएर हिँड्दैमा खाल्टामा परिने खतराबाट बचिँदैन र पानीले भरिएको जमिन देखावटी रूपमा मात्र समतल देखिन्छ । त्यस्तै मदिरा सेवन गरेका बेला आउने आँट, जोश पनि देखावटी मात्रै हो र यसले झन् ठूलो खतरा निम्त्याउन सक्छ ।

अर्को एउटा प्रचलित गलत धारणा रक्सीले यौनशक्ति बढाउँछ भन्ने छ । मदिरा सेवनले यौनशक्ति झन् कमजोर बनाउँछ । वास्तवमै जवान स्वस्थ व्यक्तिको शक्ति कमजोर भएको छ भने त्यसका मुख्य कारण हुन सक्छन्– मानसिक तनाव, मधुमेह र मदिराको दुव्र्यसन । आफू कमजोर भएको कारणले नै जँड्याहाहरूले आफ्नी पत्नीलाई ‘मबाट नपाएको सन्तुष्टि अरूसँग लागेर लिने गरेकी हुनुपर्छ’ भन्ने शंकाबाट प्रेरित भई पिछा गर्ने र पिट्ने गर्छन् ।

मदिराले गर्ने आर्थिक, सामाजिक, व्यावसायिक, नैतिकजस्ता बृहत् क्षेत्रका हानिका अतिरिक्त व्यक्तिविशेषमा पार्ने प्रत्यक्ष प्रतिकूल असरहरू भयावह नै हुन्छन् । समग्रमा भन्नुपर्दा रक्सीले व्यक्तिको शरीर र मन दुवैलाई नष्ट पार्दै लैजान्छ । रक्सीले सबभन्दा बढी क्षय पुर्‍याउने अंग कलेजो हो । मदिरा दुव्र्यसनीको कलेजो फुलेको हुन्छ र यसको भित्री बनावट खल्बलिएको हुन्छ । कलेजोले काम गर्न छोडेपछि विविध समस्यासहित पेटमा पानी जम्मा हुन्छ (जलग्रह) र खोक्दा रगत बान्ता हुन्छ । शारीरिक असरभन्दा पनि मानसिक असर झन् डरलाग्दो हुन्छ । शारीरिक विनाश अलिपछि र विस्तारै बढ्दै जान्छ भने मानसिक क्षय दुव्र्यसनको पहिलो चरणबाटै सुरु हुन्छ ।

रक्सीको दुव्र्यसनी काँतर, असभ्य, नकच्चरो बन्छ । रक्सीको दुव्र्यसनी भइसकेपछि त्यस्ता व्यक्तिको न बोलीको विश्वास हुन्छ, न कामको जिम्मेवारी । क्रमश: व्यक्ति सामाजिक, वैचारिक, नैतिक रूपले गिर्दै जान्छ । दुव्र्यसन अत्यधिक गम्भीर हुनथालेपछि मानसिक रोग सुरु हुन्छ । पिउने बानी विस्तारै पर्दै जाँदा बढी आनन्दित हुन मात्रा बढाउँदै रक्सी नभई नहुने, नशा लाग्न मदिराको मात्रा थप्दै जानुपर्ने, रक्सी खान बन्द गर्दा अप्रिय, पीडादायक नयाँ रोग देखापर्छ । सुरुको अवस्थामा निद्रा नलाग्ने, टाउको दुख्ने, हात काँप्ने, पसिना आउने, चिड्चिडाहट मात्र हुनसक्छ भने दुव्र्यसन गम्भीर भएको अवस्थामा पागलजस्तो हुने, नभएका कुरा देख्ने र सुन्ने, उत्तेजित र आक्रामक हुने, बरबराउने, छारे रोगजस्तै मुच्र्छा पर्ने हुन्छ ।
रक्सी धेरै पिएर दुव्र्यसनी बनेपछि यसैबाट मानसिक रोग– साइकोसिस हुनसक्छ, तर मानसिक रोगबाट पीडित भएपछि पनि व्यक्ति मदिराको शरणमा पुग्छ । मानसिक रोग भनेको मनको पीडा, चिन्ता, पीर, डर, शंका आदिले भरिएको मन हो । यस्तो अवस्थामा पिएर मन भुलाउने इच्छा लाग्छ । विशेषगरी डिप्रेसन र न्युरोसिसका बिरामीहरू यो कुलतमा फँस्ने डर बढी हुन्छ । मदिराको कुलत थपिएपछि मानसिक रोग जटिल बन्छ, मदिरा दुव्र्यसन अटुट हुन्छ । साइकोसिस (विक्षिप्त अवस्था) मा रक्सी पिएपछि बिरामी झन् आक्रामक उत्तेजित र असहिष्णु बन्छ । न्युरोसिसमा रक्सीको नशाले डर, बेचैनी केही छिन हल्का भए पनि रोग झन् गहिरिँदै जान्छ । छारे रोगमा रक्सी पिउन थालेपछि रोग कहिल्यै निको हुँदैन र स्वभावमा विकृति देखिन थाल्छन् ।

मानिस किन मदिरा दुव्र्यसनी बन्छ भन्ने प्रश्नको जवाफ दिन सजिलो छैन । मानसिक रोग र मदिराको सम्बन्ध यतिमा अन्त्य हुँदैन । मदिरा सेवन गर्ने मानसिक रोगीहरूलाई उपचार गर्न धेरै गाह्रो हुन्छ र निको पार्न झन्डै असम्भव भइदिन्छ । मदिराको वास्तविक खतरा र यसभित्र लुकेको मोहनी भ्रमलाई मनन गरेर होशियारीसाथ मात्र यसको सीमित संगत गर्नुपर्छ ।

प्रकाशित : असार १०, २०७४ ०८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्