कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पाइलैपिच्छे सुरक्षा जाँच

जगदीश्वर पाण्डे

रसुवागढी — एउटै यात्रामा एकै व्यक्तिलाई पटक–पटक सुरक्षा जाँच गरिँदा कसलाई पो झर्काे नलाग्ला ! त्यो पनि ३/४ पटक होइन, १३–१३ पटक !

नेपाल र चीन जोड्ने रसुवागढी–केरुङ नाकाबाट नेपाल घुम्न आउने चिनियाँ वा सामान लिएर फर्कने सवारी चालकले वेत्रावतीसम्म आइपुग्दा पाइलैपिच्छे सुरक्षा जाँचको झन्झट झेल्नुपर्छ ।

रसुवागढी, टिमुरे, स्याफ्रुबेसी, धुन्चे हुँदै बाटो छिचोलेर नुवाकोटको वेत्रावती पार गर्दा १३ स्थानमा सुरक्षा जाँच हुन्छ । सीमा नाका रसुवागढीदेखि बेत्रावतीसम्म सीमा सुरक्षादेखि भन्सार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निकुञ्जलगायतले पटक–पटक जाँच गरिरहेका हुन्छन् । रसुवागढी मितेरी पुल तरेर चीनतर्फ केरुङ लाग्दा भने एकपटक मात्र व्यवस्थित जाँच हुन्छ । नेपाली चालकलाई त बानी नै परिसकेको छ । ‘तर नेपाल घुम्न आउने चिनियाँ पर्यटक भने हतोत्साही हुन्छन्,’ रसुवागढी–केरुङ भन्सारका प्रमुख केदार पनेरू भन्छन्, ‘पर्यटकलाई सहज गर्नुपर्ने हो । हाम्रो रणनीति त कसरी पटक–पटक दु:ख दिने भन्नेजस्तो छ ।’

उनले एक स्थानमा पूर्ण रूपमा सुरक्षा परीक्षण गरेपछि फेरि दु:ख नदिने व्यवस्था हुनुपर्ने बताए । केरुङतर्फ सीमा क्षेत्रमा जाँचेपछि बाटोमा पटक–पटक परीक्षण हुँदैन । तर नेपालतर्फ भने व्यवस्थित कार्यालयबिनै बाटोभरि नै सुरक्षा जाँच केन्द्र छन् । रसुवागढी नाकामा एकै स्थानमा प्रहरी र सशस्त्रले बेग्लाबेग्लै परीक्षण गर्छन् । रसुवागढीबाट ५ किलोमिटरयता टिमुरेमा सेना, भन्सार र सीमा प्रहरीले बेग्लाबेग्लै परीक्षण गर्छन् । टिमुरेबाट ११ किलोमिटरयता रसुवागढीमा प्रहरी र सेनाको फरक–फरक जाँच भइरहेको हुन्छ ।

सदरमुकाम धुन्चेमा तीन स्थानमा सेना, प्रहरी र सशस्त्र प्रहरीद्वारा बेग्लाबेग्लै जाँच हुन्छ । लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत धुन्चेबाट तल कालिकास्थानमा सेना र प्रहरीद्वारा जाँच हुन्छ । र, वेत्रावतीमा फेरि प्रहरीद्वारा जाँच भई १३ चरणको परीक्षण सकिन्छ र नुवाकोट जिल्ला आइपुग्छ ।

संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीले नाकाको भ्रमण गर्दै नेपालभित्र छिर्ने विदेशीको परीक्षण व्यवस्थित रुपमा हुनुपर्ने तर त्यही कुराका लागि पटक–पटक कसैलाई दु:ख दिन नहुने बताए ।

चेक हुने स्थान र निकाय

रसुवागढी नाका
प्रहरी र सशस्त्र प्रहरी बल

टिमुरे
सेना, भन्सार र सीमा प्रहरी

रसुवागढी
प्रहरी र सेना

धुन्चे
सेना, प्रहरी र सशस्त्र प्रहरी

कालिकास्थान
सेना र प्रहरी

वेत्रावती
प्रहरी

प्रकाशित : असार १०, २०७४ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?