३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गोकर्णेश्वरको गाई फार्ममा आगलागी, ५२ गाई मरे, ६८ घाइते

झन्डै चार करोडको क्षति भएको फार्म सञ्चालकको दाबी
दिपेन्द्र विष्ट

काठमाडौं — काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ रुप्सेटारमा रहेको एक गाई फार्ममा आगलागी हुँदा ५२ वटा गाई मरेका छन् । गाई, बाच्छाबाच्छी गरेर अन्य ६८ वटा घाइते बनेका छन् । फार्ममा ७५ वटा दुहुनो गाई, २२ ब्याउने र बाच्छाबाच्छी गरी १ सय २२ थिए ।

गोकर्णेश्वरको गाई फार्ममा आगलागी, ५२ गाई मरे, ६८ घाइते

शनिबार बिहान ११ बजेतिर अचानक ओम कृषि फार्ममा आगलागी भएको हो । नेपाली सेना र प्रहरीको टोलीको सहयोगमा आगो निभाइसकेको फार्म सञ्चालक बाबुराम कार्कीले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त बौद्धले टोली घटनास्थलमा खटिइरहेको बताएको छ । वृत्तका अनुसार ठूलो आगलागीको घटना भएकोले क्षतिको विवरण आउन बाँकी छ । बिहान ११ बजेपछि लागेको आगो दुई घण्टाको अवधिमा निभाइएको छ ।

आगलागीबाट १२ टन दाना, डेढ सय गाईलाई ‌ओछ्याउने म्याट जलेका छन् । २ सय २० लम्बाई र ४० फिट चौडाई रहेको गोठ पूरै जलेको छ । फार्म सञ्चालक कार्कीले आगलागीबाट झन्डै चार करोडको क्षति भएको कान्तिपुरसँग बताए । उनी त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका उपप्राध्यापक पनि हुन् ।

घाइते पशुको स्थानीय तीन पशु चिकित्सकले उपचार गरिरहेको आगलागीस्थलमा रहेका स्थानीय जनार्दन खड्काले जानकारी दिए । उनले घाइते गाई सबै मर्ने अवस्थामा रहेको बताए । आगलागीको कारण अझै पत्ता लागेको छैन । उक्त फार्मबाट दैनिक १ हजार लिटर दूध बिक्री हुँदै आएको थियो ।

प्रकाशित : असार ३, २०७४ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?