२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बोल्न मन छ, तर सक्दैनन्

एसिडपीडित बालक

ललितपुर — उनको पेटमा अन्न नपरेको र मुखबाट एक शब्द पनि ननिस्किएको शनिबार १२ दिन पुग्यो । उनी हुन् गत जेठ ८ मा एसिड आक्रमणमा घाइते भएका प्युटारका ९ वर्षीय करण ब्लोन ।

‘घटनाको दिन साँझ छोरा रुँदै घर आयो । सुरुमा साथीभाइसँग झगडा गरेर रोएको होला भन्ठानेको थिएँ,’ करणकी आमा कान्छीमायाले भनिन्, ‘पानी खान खोजेजस्तो लागेर खुवाउँदा गालामा प्वाल परेको देखें ।’

आत्तिएकी कान्छीमायाले उपचार गर्न करणलाई तत्काल नजिकैको स्वास्थ्य चौकीमा पुर्‍याइन् । उनले त्यतिबेलासम्म एसिड मुखमा परि जलेको भन्ने कुरा सोचेकै थिइनन् । ‘स्वास्थ्यकर्मीले विष खाएको आशंकाले बान्ता हुने औषधि खुवाए,’ कान्छीमायाले भनिन्, ‘सन्चो नभएपछि प्युटारबाट झन्डै २ घण्टा दूध बोक्ने गाडीमा राखेर टीकाभैरवस्थित आनन्दवन अस्पतालमा पुर्‍याएँ ।’

अस्पताल पुगेपछि मात्र उनीहरूले थाहा पाए करणमाथि एसिड आक्रमण भएको भनेर । आनन्दवन अस्पतालमा उपचार हुन नसकेपछि सोही दिन पाटन अस्पतलमा पठाइयो । पाटन अस्पतालले पनि कान्ति बाल अस्पताल रिफर गर्‍यो । कान्तिमा बेड खाली नभएपछि रातारात प्राइभेट क्लिनिकमा पुर्‍याइएको करणका माहिला दाइ किरणले बताए । ‘क्लिनिकले पनि केही गर्न नसकेपछि अन्त्यमा टिचिङ अस्पताल भर्ना गरियो,’ उनले भने । किरणका अनुसार ११ दिनसम्म स्लाइन पानी दिइयो । ‘शुक्रबारदेखि चम्चाले दूध खुवाउने गरेका छौं,’ उनले भने । करणको परिवार वागमती गाउँपालिका ४, सिम्लेबाट गत वर्ष प्युटार बसाइँ सरेको थियो । प्युटार उमावि कक्षा २ मा अध्ययरत करण अहिले हातको इसारामा मात्र आफ्नो कुरा राख्न सक्छन् ।

दाइ किरणका अनुसार गाउँमा दूधमा हुने ‘फयाट’ पत्ता लगाउन एसिड आवश्यक पर्छ । भाइले इसारामा बताएअनुसार एसिड ३ जना मिलेर जबरजस्ती खुवाएका थिए । एकजना प्युटार स्कुलकै कक्षा ५ मा अध्ययनरत छन् । भने बाँकी २ अपरिचित हुन् । घटनाको केही दिनपछि करणका जेठा दाइ मिथुनले महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दर्ता गरेका छन् । मिथुनले त्यतिबेला भाइलाई माछा मार्न जाऊँ भनी अपरिचित व्यक्तिले मुखमा तेजाब हाली बोल्न नसक्ने बनाएको भनी ठाडो निवेदन दर्ता गराएका थिए । तर, हालसम्म प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी श्यामकुमार राईले घाइते बालक बोल्न सक्ने भएपछि कसले गरेको भन्ने कुरा पत्ता लाग्ने बताए ।

प्रकाशित : जेष्ठ २१, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?