चुनावी तालमेल नगर्न कार्यकर्ताको चेतावनी

डीआर पन्त

धनगढी — दोस्रो चरणको निर्वाचनमा प्रदेश नं. सातमा कांग्रेस-माओवादी तालमेल हुने विषयमा नेतृत्वबीच छलफल भइरहको भन्दै कैलालीका कांग्रेस नेता, कार्यकर्ताहरुले तालमेल नगर्न चेतावनी दिएका छन् ।

प्रदेश नम्बर सातको केन्द्रमा रहेको गोदावरी नगरपालिका र प्रदेशको एकमात्र उपमहानगर धनगढीका लागि माओवादी-कांग्रेस तालमेल हुने छलफल भइरहेको जानकारी पाएपछि दुवै नगरका नेता कार्यकर्ताले नेतृत्वलाई यसले पुरै प्रदेशको निर्वाचनमा नराम्रो असर पर्ने भन्दै चेतावनी दिएका हुन् । ‘तालमेल गरे त्यो कांग्रेसका लागि दुर्भाग्यपूर्ण हुन्छ’गोदावरी नगरपालिकामा कांग्रेसका मेयर पदका दाबेदार कांग्रेस नेता वीरेन्द्र भट्टले भने, ‘कैलालीमा हुने तालमेलले समग्र क्षेत्रमा नराम्रो असर पर्न सक्ने विषयमा पार्टीले सोच्नु आवश्यक छ ।' उनले कार्यकर्ताको भावनाअनुरुप नेतृत्वले निर्णय गर्नुपर्ने बताए । भट्टले भने, ‘गोदावरी नगरपालिका र प्रदेशको एकमात्र उपमहानगर धनगढी नेपाली कांग्रेसको गढ भएकाले यी क्षेत्रमा कुनै पनि हालतमा तालमेल गर्नु हुँदैन’। प्रदेशकै राजनीतिलाई प्रभावित पार्ने गोदावरी र धनगढीमा माओवादीसँग तालमेल गरिए यस्को नराम्रो सन्देश जानेमा पनि सबैले सचेत हुनुपर्ने उनले बताए ।

गोदावरी नगरपालिकाका १२ वटै वडाका पार्टी सभापतिले प्रेस विज्ञप्ति जारी गरी माओवादी केन्द्रसँग तालमेल नगर्न पार्टीलाई लिखित रुपमै चेतावनी दिएका छन् । पार्टीको जनाधार क्षेत्र कैलालीमा माओवादीसँग तालमेलको कुनै औचित्य नभएको सभापतिहरुले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सभापतिहले प्रदेशको पुरै राजनीति र कांग्रेस कार्यकर्तामा यस्तो निर्णयले निर्वाचनमा गम्भीर असर पर्ने बताएका छन् । गोदावरी नगरपालिकामा माओवादी नेता लेखराज भट्टका भाइ गोकर्ण भट्ट माआवादी केन्द्रबाट मेयर पदमा निर्वाचन लडिरहेका छन् । नेतृत्व तहबाटै तालमेलका लागि माओवादीले प्रयास गरिरहेकोले कार्यकर्ताहरुले पूर्व चेतावनी दिएको बताएका छन् ।

धनगढी उपमहानगरमा पनि माओवादीसँग तालमेलको कुनै अर्थ नभएको भन्दै कांग्रेस कार्यकर्ताले आक्रोश पोखेका छन् । पार्टीभित्रै टिकट व्यवस्थापन गर्न कठिन भइरहेको समयमा तेस्रो चौथो जनाधार भएको पार्टीसँग तालमेल हुनै नसक्ने भन्दै नेता कार्यकर्ताले नेतृत्वको आलोचना गरेका छन् ।

सात नं. प्रदेशको केन्द्रमा रहेको गोदावरी नगरपालिका क्षेत्रमा गत निर्वाचनमा वनराज्य मन्त्री दीर्घराज भाटले माओवादी क्रेन्द्रका नेता लेखराज भट्टलाई ६ हजार बढी मतले पराजित गरेका थिए । प्रदेशको एकमात्र उपमहानगर धनगढी पनि संविधानशभा निर्वाचनमा सभापति शेरबहादुर देउवाले ठूलो मत अन्तरले जितेको क्षेत्र हो ।

धनगढी उपमहानगर क्षेत्रमा माओवादी केन्द्रले एमालेभन्दा पनि निकै कम मत ल्याएको थियो । देउवाले छोडेपछि भएको उपनिर्वाचनमा पनि कांग्रेसका पुष्करनाथ ओझा ठूलो मत अन्तरले जितेका हुन् ।

प्रकाशित : जेष्ठ १७, २०७४ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?