'धर्मपुत्री'को हत्या भएको भन्दै धरानको पुण्यमार्गमा रातभर तनाव

स्थानीयद्वारा राई दम्पतीको घर तोडफोड, घटनाको निष्पक्ष छानबिनको माग
प्रदीप मेन्याङ्बो

धरान — 'धर्मपुत्री'को रुपमा रहेकी एक किशोरीको यौन दुर्व्यवहारपछि हत्या भएको भन्दै स्थानीय बासिन्दाले धरान–१६ पुण्यमार्गका बलिमान राईको घर तोडफोड गरेका छन् । हजारजना भन्दा बढी स्थानीय बासिन्दाले सामाजिक अपराधी भन्दै बलिमान राई र उनका श्रीमती पदमकुमारीलाई आक्रमण गर्न घरभित्र प्रवेश गरेर तोडफोड गरेका छन् ।

पुण्यमार्ग मंगलबार रातभर तनावग्रस्त बन्यो । स्थानीय बासिन्दासँग झडप हुँदा १७ जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।

बोतलमा पेट्रोल लगाएर राईको घरमा आगजनी गर्ने प्रयास गरेका थिए । राई दम्पतीको उमेर करिब ५५ सेरोफेरोमा छ । उनीहरुको घर तोडफोड हुँदा राई दम्पती इलाका प्रहरी कार्यालयमा राखिएकाले बाँच्न सफल भएका थिए । घर तोडफोड भइरहेको खबर थाहा पाएपछि इलाका प्रहरी कार्यालयको गस्ती टोलीले आक्रोसित भिडलाई रोक्न खोज्दा नसकेपछि धरानको सशस्त्र प्रहरी बोलाइएको थियो । घरमा ढुङ्गामुढा गर्ने आक्रोसित भिडलाई तितरबितर पार्न सशस्त्र प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । राई दम्पतीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।

भारतीय गोर्खा राइफलका सुवेदार राई दम्पतीले ०६५ सालमा इलाका प्रहरी कार्यालयमा लेखापढी गरेर नै धरान–१३ बस्ने जीतबहादुर राईको माइली छोरी अनुषालाई चार वर्षको उमेरमा धर्मपुत्री बनाएर राखेका थिए । अनुषालाई आफूले पालनपोषण गर्ने शिक्षादीक्षा दिने, विवाह र अंशसमेत दिने कागज बनाएर धर्मपुत्रीको रुपमा राखेका थिए । शारदा बालिका नमुनामा स्कुलमा कक्षा पाँच पढ्दापढ्दै अनुषालाई घर नजिकैको सियोन बोर्डिङ स्कुलमा कक्षा तीनमा भर्ना गरिदिएका थिए । तिनै अनुषाले घरेको काम सबै गदै आएकी थिइन् । स्थानीय बासिन्दाकाअनुसार कहिलेकाहीं पसलमा जाँदा शरीरभरि निलडाम र रगत देखिने गरेको थियो । सोध्दा कुखुराले ठुंगेर रगत आएको भन्ने गर्थिन् ।

राई दम्पतीका दुई छोरा भए पनि दुवै विदेशमा छन् । घरमा किशोरी र राई दम्पतीमात्र बस्ने गरेका थिए । तर सोमबार बिहान अनुषाको मृत्युको खबर छिमेकीलाई समेत जानकारी नदिइ छेउमैमा रहेको फर्निचर व्यावसायीलाई एउटा पाँच साढे चार फुट लम्बाईको बाकस बनाउन अर्डर दिएपछि किन, केका का लागि भनेर सोधीखोजी गर्दा मात्र घटना सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएपछि राई दम्पतीले धानमा लाग्ने किरा मार्ने विषादी सेवानले मृत्यु भएको बताउँदै आएका छन् । उनीहरुले अनुषाले लगातार उल्टी गरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याए पनि चिकित्सकले बचाउन नकसेको बताएका छन् ।

धर्मपुत्रीको मृत्यु भए पनि राई दम्पतीमा शोकको कुनै संकेत नदेखिएको, मृतक अनुषाको शरीरमाथि खेलबाड भएको र समाजले थाहा पाउने भएकाले हत्या गरेको भन्दै आक्रोसित छिमेकी, स्थानीय नागरिक समाज, बालअधिकारकर्मी, मानवअधिकारकर्मी, महिला अधिकारकर्मीहरुले हदैसम्मका कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

सुरुमा राई दम्पतीले किशोरीको आफन्त कोही नभएको भनेर ढाँटे पनि उनको बाबु जीतबहादुर राई र काका प्रेम राई जीवितै रहेकाले बोलाउने प्रयास भइरहेको धरान–१६ की नागरिक वडा मञ्चका सहसंयोजक पूर्णकला लिम्बुले बताइन् । उनले किशोरीलाई लामो समयदेखि यौन दुर्व्यवहार, यातना दिएर हत्या भएको हुनसक्ने भएकाले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिन् । उनले भनिन्, ‘किशोरीले विषादी खाएको भनेर राई दम्पती पन्छिन खोजिरहेका छन् । निष्पक्ष छानबिन हुनु पर्छ ।’

छिमेकी समेत रहेकी बाल अधिकार संरक्षण समिति धरानका कोषाध्यक्ष पूर्णकला लिम्बूले ११ वर्षअघि पनि सोही दम्पतीको काम गर्न बसेकी माया राई भन्ने किशोरी यातना सहन नसकेर एक घरको पर्खाल नाघेर राति भागेकी बताइन् । उनले भनिन्, ‘१३ वर्षकी किशोरीको शरीर पनि वयस्क जस्तो देखिएको छ । यौन दुर्व्यवहार पनि हुनसक्ने र राई दम्पती मिलेर जवर्जस्ती विष खुवाएर हत्या गरेको हुनसक्ने भएकाले निष्पक्ष छानबिन हुनु पर्छ ।’

मृतक किशोरीलाई प्रतिष्ठानको मर्चरी हाउसमा पोष्टमार्टमका लागि राखिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले पोष्टमार्टम रिपोर्टपछि दोषी पाएमा कारबाही गर्ने बताएका छन् । उनले भने, ‘यौन दुर्व्यवहार भएको र यातना दिएको उजुरी आएको आधारमा हामी अनुसन्धान गछौं र पुष्टि भए कारबाही गर्छौं ।’

प्रकाशित : फाल्गुन १८, २०७३ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्

नेपालका लागि भारतीय नयाँ राजदूतमा मन्जिभसिंह सिफारिस

पूर्वराजदूत राय स्वदेश फर्क‌ंदै
चन्द्रशेखर अधिकारी

काठमाडौं — भारतले नेपालका लागि नयाँ राजदूतको लागि मन्जिभ सिंह पुरीको नाम मनोनयन गरेको छ । उनको नाम नेपाल सरकारलाई जानकारी गराइएको नेपाल सरकारको उच्च स्रोत कान्तिपुरलाई बतायो ।

स्रोतका अनुसार भारत सरकारले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई उनको नाम जानकारी गराएको हो । उनी हाल युरोपियन युनियन, बेल्जियम र लक्जेम्बरका लागि भारतीय राजदूत छन् ।

परराष्ट्र सेवा, राजनीतिक तह वा सुरक्षा निकायबाट को आउने भन्ने बहसपछि अन्तत: परराष्ट्र सेवा अनुभवी क्याडर नै नेपालका लागि राजदूतमा सिफारिस भएका छन् । नेपाल सरकारबाट अग्रिमा (सहमति) गएपछि उनी नेपालका लागि भारतीय राजदूत हुनेछन् । आजै (बुधबार) देखि नेपालमा भारतीय राजदूत खाली भएको छ । र, दूतावासका उपप्रमुख विनय कुमारले कार्यवहाक राजदूतको जिम्मेवारी सम्हालेका छन् ।

कूटनीतिक मामिलाका विज्ञ पुरी सन् १९८२ का व्याचका भारतीय परराष्ट्र सेवाका अफिसर हुन् । उनले सन् २००९ देखि २०१३ सम्म न्युर्योक उपप्रमुख भएर काम गरिसकेका छन् । सन् २०११ देखि २०१२ सेक्युरिटी काउन्सिलको टिममा वरिष्ठ सदस्यको हैसियतमा काम गरेका थिए । विभिन्न देशमा रहेका भारतीय नियोग र दिल्लीस्थित मन्त्रालयमा रहेर काम गरेका पुरी १९५९ मा जन्मेका हुन् । उनी सेन्ट स्टेफेन्स कलेज दिल्लीका टपर हुन् ।

नेपालका लागि भारतीय पूर्वराजदूत रणजित रायको कार्यकाल मंगलबार सकिएको हो । उनी बुधबार स्वदेश फर्कंदैछन् । भारतमा रहेको नेपाली दूतावास लामो समयसम्म राजदूतविहीन रहने गरे पनि भारतले नेपालमा राजदूत फर्कनुअघि नै नयाँ राजदूतको नाम सिफारिस गरेर अग्रिमा दिइसकेको हुन्थ्यो । तर, यसपटक भने राजदूत फर्कने दिनमा नयाँ नाम सिफारिस गरेको छ ।

प्रकाशित : फाल्गुन १८, २०७३ ११:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×