२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

धुर्मुस-सुन्तलीलाई सघाउँदै विदेशी युवा

‘विदेशी स्वयंसेवकले मुसहर बस्तीमा बगाएको पसिनाले आफ्नो मुलुक आफैं बनाउनुपर्छ भन्ने प्रेरणा दिएको छ’
रवीन्द्र उप्रेती

महोत्तरी — बर्दिवास–२ स्थित निर्माणाधीन ‘एकीकृत नमुना मुसहर बस्ती’ मा दैनिक ३ सयभन्दा बढीले श्रम गर्छन् । तीमध्ये ४ विदेशी स्वयंसेवक छन् । इन्जिनियर र प्राविधिक पृष्ठभूमिका ३ फ्रेन्च र एक इटालियन युवा निर्माणाधीन घरमा दिनरात पसिना बगाइरहेका हुन् ।

धुर्मुस-सुन्तलीलाई सघाउँदै विदेशी युवा

इँटा, बालुवा ढुवानी गर्नेदेखि मजदुरले गर्ने सबै काम उनीहरू आफैं गर्छन् । रातो अक्षरमा ‘अहिले नगरे कहिले गर्ने’ लेखिएको टिसर्ट लगाएर धुर्मुस–सुन्तली फाउन्डेसनको अगुवाइमा निर्माणाधीन बस्तीमा उनीहरूले श्रम गरेको देख्दा स्थानीय युवा छक्क पर्छन् । फ्रेन्च नागरिक पिटर ‘इनर्जी टेक्निसियन’ हुन् । टोमस इलेक्ट्रोनिक्स र एलेक्स पोस्टम्यान तथा इटालियन नागरिक इभान पेसाले इन्जिनियर हुन् । पिटरले आफूहरू ‘क्विक भोलेन्टियर’ अन्तर्गत श्रम गर्न आएको बताए । सबै ३ सातादेखि मुसहर बस्तीमा श्रमदान गर्दै आएका छन् । ‘यहाँ ६ सातासम्म काम गर्ने हाम्रो तालिका छ,’ उनले भने, ‘मानवीय दायित्व निर्वाह गर्न श्रमदान गरेका हौं ।’

नमुना बस्ती अहिले आर्थिक संकटमा छ । तर देशविदेशबाट पुगेका स्वयंसेवकले लक्षित समयमा निर्माण सम्पन गरेर देखाउने बताएपछि हौसला बढाएको फाउन्डेसनले जनाएको छ । एकीकृत नमुना मुसहर बस्ती परियोजनाका संयोजक अर्जुनप्रसाद न्यौपानेका अनुसार यी विदेशी स्वयंसेवकले यो गर्ने र त्यो नगर्ने भन्दैनन् । न्यौपानेले भने, ‘जग खन्नेदेखि इँटा जोड्नेसम्मका काम दक्षतासाथ गर्दै आएका छन् ।’

अभियानकर्ता सीताराम कट्टेल ‘धुर्मुस’ पनि उनीहरूको श्रम देखेर चकित छन् । ‘विदेशी स्वयंसेवकले मुसहर बस्तीमा बगाएको पसिना श्रम मात्र नभएर आफ्नो देश आफै बनाउनुपर्छ भन्ने सन्देश पनि हो’, धुर्मुसले भने ।

प्रकाशित : फाल्गुन १४, २०७३ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?