२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

'१३ लाखले गरे पशुपति दर्शन'

कान्तिपुर संवाददाता

काठमाडौं — महाशिवरात्रिका अवसरमा शुक्रबार पशुपतिनाथ परिसरमा भक्तजनको भीड लाग्यो । पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्ष शिवरात्रिमा १३ लाखभन्दा बढी भक्तजनले दर्शन गरे । नेपाल, भारत, इन्डोनेसिया, मलेसियाका हिन्दुधर्मावलम्बीले पशुपतिनाथको दर्शन गरेको कोषले जनाएको छ ।

'१३ लाखले गरे पशुपति दर्शन'

कोषका उपनिर्देशक राजेन्द्रधर राजोपाध्यायका अनुसार १ सय ५५ जना मलेसिया र ७५ जना इन्डोनेसियाबाट आएका थिए ।

बिहान ४ नबज्दै पशुपतिका ३ द्वार खुला गरिए पनि त्यसअघिदेखि नै श्रद्धालु दर्शनका लागि लाम बसेका थिए । यस वर्ष हजार रुपैयाँ तिरेर पाइने विशेष पासको व्यवस्था र मूल आयोजक समिति हटाइएको थियो । घुइँचोका बीच स्वयंसेवकहरूले दर्शनार्थीको तथ्यांक संकलन गरेका थिए । प्रांगणसम्म पुग्ने श्रद्धालु दिउँसोसम्ममा ७ लाख जति रहेको उपनिर्देशक राजोपाध्यायले बताए । 

महाशिवरात्रि मेला व्यवस्थापनका लागि ९ उपसमिति गठन गरिएका छन् । दर्शनार्थीका लागि १३ अस्थायी शौचालय र ६२ स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य विभागका साथै विभिन्न गैससले पनि स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । पशुपतिनाथका साथै राजधानीका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको थियो । दिनभरि व्रत बसी फूल, धतुरो, बेलपत्र, दूध चढाइ शिवको पूजा गरिन्छ । राति व्रतालुले धुनी बाल्ने र जाग्राम बस्ने गर्छन् । विभिन्न मठ मन्दिर, चोकमा धुनी बाल्ने र खरानीलाई टीकाका रूपमा ग्रहण गर्ने गरिन्छ । शिवरात्रिको धुनीपछि जाडो र कुहिरो समाप्त हुने र गर्मी सुरु हुने विश्वास गरिन्छ । 

शिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले साढे ५ बजे पशुपतिनाथको दर्शन गरी प्रसाद ग्रहण गरेकी थिइन्् । राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिरस्थित चाँदीको जलहरीको साटो सुनको जलहरी निर्माण गर्ने प्रतिबद्धता जनाएको कोषका सदस्यसचिव गोविन्द टन्डनले बताए । शिवरात्रिमा नेपाल आएका जोगीहरूलाई धुनी बाल्न ३८ हजार किलो दाउरा उपलब्ध गराइएको छ । 

डोलेश्वरमा घुइँचो
महाशिवरात्रिका अवसरमा केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ । मन्दिरको चारै ढोका खुला गरी दर्शन गर्ने व्यवस्था मिलाइएको मन्दिर संरक्षण समितिले जनाएको छ । अन्य दिनहरूमा मन्दिरको एउटा ढोका मात्रै खुला गरिने भए पनि शिवरात्रिका अवसरमा भने चारै ढोका खुला गरिएको समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले बताए । मन्दिरमा १ लाखले दर्शन गरेको उनले बताए । यस्तै सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा समेत बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । 

प्रकाशित : फाल्गुन १४, २०७३ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?