१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

स्ववियु निर्वाचन पाँच दिन सार्ने विद्यार्थी नेताहरुबीच सहमति

बिहीबार नै नयाँ तालिका आउन सक्ने
कान्तिपुर संवाददाता

काठमाडौं — असन्तुष्ट पक्षलाई चुनावमा सहभागी गराउन भन्दै प्रमुख तीन दल र विप्लव माओवादीनिकट विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सार्ने सहमति गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले निर्धारित मिति फागुन १४ मै स्ववियु चुनाव गर्ने निर्णयविपरीत तिनै दलका विद्यार्थी संगठनको बिहीबार बिहान काठमाडौंमा बसेको बैठकले पाँच दिन चुनाव सार्ने समझदारी बनाएको हो ।

स्ववियु निर्वाचन पाँच दिन सार्ने विद्यार्थी नेताहरुबीच सहमति

असन्तुष्ट पक्षलाई चुनावमा सहभागी गराउन भन्दै प्रमुख तीन दल र विप्लव माओवादीनिकट विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सार्ने सहमति गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले निर्धारित मिति फागुन १४ मै स्ववियु चुनाव गर्ने निर्णयविपरीत तिनै दलका विद्यार्थी संगठनको बिहीबार बिहान काठमाडौंमा बसेको बैठकले पाँच दिन चुनाव सार्ने समझदारी बनाएको हो । विभिन्न क्याम्पसमा तालाबन्दी र विप्लव माओवादीको विद्यार्थी संगठनले चुनाव सार्न गरेको आग्रहअनुसार चुनाव हुने सर्तमा पाँच दिन सार्ने सैद्धान्तिक सहमति भएको अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । अब स्ववियु चुनाव फागुन २१ गतेलाई तोक्न सक्ने प्रवक्ता बस्नेतको भनाइ छ ।

उनका अनुसार विद्यार्थी संगठनको सहमति त्रिभुवन विश्वविद्यालयलाई जानकारी गराइने छ । त्रिविले बिहीबार दिउँसो प्रमुख विद्यार्थी संगठनका नेताहरुलाई छलफलमा डाकेको छ । क्रान्तिकारीका प्रवक्ता बस्नेतले आज निर्वाचनको नयाँ तालिका समेत सार्वजनिक हुनसक्ने बताए । सहमतिपछि अब असन्तुष्ट पक्षले क्याम्पसहरुमा लगाएको ताला खोल्नेछ । विद्यार्थी संगठनहरुबीचको विवादले पहिलेको निर्वाचन तालिका प्रभावित बनेको छ । पहिलेको निर्वाचन तालिकाअनुसार आज बिहीबार देशैभर उम्मेदवार दर्ता हुनुपर्थ्यो ।

केही विद्यार्थी संगठनको विरोध र क्याम्पसहरुमा लगाइएको तालाबन्दीका कारणा यथास्थितिमा चुनाव गर्न नसक्ने क्याम्पस प्रमुखहरुको भनाइका कारण चुनाव सार्न बाध्य भएको विद्यार्थी नेताहरुको भनाइ छ ।

बिहानको बैठकमा नेविस‌ंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका नेताहरु सहभागी थिए ।

प्रकाशित : फाल्गुन ५, २०७३ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?