२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मन्दिर पस्न नदिने पुजारी पक्राउ

रामेछाप — प्रहरीले बेताली ३ स्थित शेराकाली मन्दिरका दुई जना पुजारीलाई पक्राउ गरेको छ । पूजा गर्न गएका स्थानीय कृष्णबहादुर विश्वकर्मालाई मन्दिर प्रवेश गरेको भन्दै जातीय भेदभाव र जरिवाना गरेको आरोपमा पुजारी भीमबहादुर बुढाथोकी र छत्रबहादुर बुढाथोकीलाई पक्राउ गरिएको हो ।

पक्राउ गरेर कारबाही प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरीका प्रमुख डीएसपी कुमोध ढुंगेलले बताए । ‘कानुनविपरीत दलित समुदायका व्यक्तिलाई अभद्र व्यवहार र जरिवाना गराउने दुवैलाई जातीय छुवाछूतविरुद्धको अभियोगमा ७ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ,’ उनले भने ।
चप्पल र छालाको पेटी खोलेर पूजाका लागि मन्दिर पसेका विश्वकर्मालाई स्थानीयले होहल्ला गरी निकालेका थिए । दलित मन्दिर पसेको भन्दै पुजारीद्वयले उनीसँग ५ हजार जरिवाना गरी रुद्री लगाएर मन्दिर चोख्याएका थिए । परम्परादेखि महिनावारी भएकी महिला र दलितलाई मन्दिर प्रवेश गर्न नपाउने नियम रहेको पुजारीको दाबी थियो । उक्त घटनाले आफू अपहेलित भएको भन्दै कृष्णबहादुरले प्रहरीमा जाहेरी दिएका थिए ।

यस्तै मंगलबार दलित अधिकारका लागि जिल्लामा क्रियाशील विभिन्न संघसंस्थाका अगुवाले घटनाप्रति खेद व्यक्त गर्दै दोषी पुजारीलाई हदैसम्मको कानुनी कारबाही माग गरेका छन् । दलित अधिकारीकर्मीहरू लेवबहादुर विक, सरीता खाती, चन्द्रबहादुर खाती, सीताराम लोहार र भीमबहादुर नेपालीले छुवाछूतका घटनालाई निरुत्साहित गर्न राज्यका सबै निकाय, संघसंस्था, नागरिक समाज र सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : माघ २६, २०७३ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?