२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

संशोधन पारित गराउन थापा र गच्छदारलाई सरकारमा ल्याउने तयारी

सत्तापक्षको प्राथमिकता संविधान संशोधन
संविधान संशोधनपछि मात्रै निर्वाचन मिति घोषणा गरिने

काठमाडौं — कांग्रेस र माओवादी संविधान संशोधनलाई टुंगोमा पुर्‍याएर मात्रै स्थानीय निर्वाचनको मिति तोक्ने निर्णयमा पुगेका छन् । पछिल्लोपटक तत्काल निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई तारन्तर दबाब दिँदै आएको कांग्रेसले पनि अन्तत: पछाडी फर्कंदै प्रधानमन्त्री दाहालले लिएकै बाटो पछ्याएको हो ।

 संशोधन पारित गराउन थापा र गच्छदारलाई सरकारमा ल्याउने तयारी

कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिकलण्ठस्थित निवासमा आईतबार बसेको मोर्चासँगको बैठकमा संविधान संशोधनको प्रस्ताव टुंगोमा पुर्‍याएपछि मात्रै निर्वाचन मिति तोक्नेमा कांग्रेस र मोर्चाबीच समझदारी बनेको हो । यसअघि प्रधानमन्त्री दाहालले शुक्रबार बोलाएको मोर्चासँगको बैठकमा यस्तै समझदारी भएको थियो ।

सत्तारुढ दलको यस्तो ‘युटर्न’पछि आउँदो जेठ दोस्रो साताभित्र गर्ने भनिएको स्थानीय निर्वाचन हुनेमै आशंका बढेको छ । संविधान संशोधन विधेयकलाई टुंगोमा पुर्‍याउन समय लाग्ने भएकाले स्थानीय तहको निर्वाचनको समय टर्दै गएको बैठकमा सहभागि कांग्रेसका एक नेताले बताए । तर, सभापति देउवाले जेठ दोस्रो साताभित्र निर्वाचन हुनेगरी तयारी थाल्न मन्त्रिपरिषद्बाटै निर्वाचन आयोगलाई पत्र पठाई सकिएकाले मिति तोक्न ढिला हँुदैमा फरक नपर्ने तर्क गरेका थिए । ‘आगामी माघ भित्र तीनवटै तहकै निर्वाचन गर्नुपर्छ, नत्र सवै उपलव्धि जाने खतरा छ,’ देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘संविधान संशोधन पारित गर्न म लाग्नेछु । तपाईहरु स्थानीय तह या निकाय केको निर्वाचन भन्नुहुन्छ त्यसैमा जाउँ । हामीलाई दुवै स्वीकार्य छ ।’ मोर्चाका नेताहरुलाई संविधान संशोधन गरेरै मिति तोकिनेमा आश्वस्त पार्दै देउवाले निर्वाचनप्रति नकारात्मक नहुन सुझाएका थिए ।

बैठकमा सहभागि कांग्रेस कोषाध्यक्ष एवं शान्ति मन्त्री सीतादेवी यादवले निर्वाचन मिति संविधान संशोधन टुंगोमा पुगेपछि मात्रै तोकिने समझदारी भएको बताईन् । ‘संविधान संशोधनको पक्षमा कसरी दुई तिहाई पुर्‍याउने भन्नेमा छलफल केन्द्रित भयो,’ यादवले कान्तिपुरसँग भनिन्, ‘संशोधन टुंगोमा पुगेपछि मात्रै अब निर्वाचन मिति घोषणा हुनेछ ।’

त्यसअघि मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुरले ठूला दलको मुखमा संविधान संशोधन भए पनि चाहना चुनावतिरै रहेको भन्दै आलोचना गरेका थिए । ठाकुरले संविधान संशोधनविना गरिने चुनावले द्वन्द्व निम्त्याउने भन्दै आफ्नो प्राथमिकता के हो भनी स्पष्ट हुन देउवा र कांग्रेस नेताहरुलाई चेतावनी दिए । ‘संशोधनमा हाम्रो स्वामित्व हुनेगरी अघि बढ्ने हो भने हामी त सुरुदेखि लचक नै छौं,’ ठाकुरले भने, ‘नत्र मुद्दा सम्बोधन नगरी सरकार अघि बढ्न खोजेको हो भने हाम्रो बाटो स्पष्ट नै छ ।’

स्रोतका अनुसार मोर्चा नेताका कुरा सुनिसकेपछि देउवाले संविधान संशोधनका लागि सम्पूर्ण शक्ति लगाइहेर्न आग्रह गरेका थिए । तमलोपा नेता सर्वेन्द्रनाथ शुक्लका अनुसार देउवाले चुनावको ‘च’ समेत उच्चारण नगरी संविधान संशोधन नै आफ्नो प्राथमिकता रहेको प्रष्टीकरण दिएका थिए । उनले कमल थापा र विजय गच्छदारसमेतलाई सरकारमा ल्याएर भए पनि संशोधन विधेयक पारित गराउने आश्वासन दिएका थिए । ‘पहिलेको बैठकमा चुनावको मिति तोक्ने भन्नुहुन्थ्यो, आज त त्यो पनि भन्नुभएन,’ शुक्लले बैठकपछि भने, ‘सम्पूर्ण शक्ति लगाएर संविधान संशोधन विधेयक पारित गरी हेरौं भन्नुभएको छ । हेरौं, अब के गर्नुहुन्छ ।’ मोर्चा नेताहरुले फेरि एकपल्ट प्रधानमन्त्री दाहाल र देउवा संशोधनतिर अघि बढ्न तयार देखिएको आफूहरुले पाएको सुनाए ।

तत्काल निर्वाचनको मिति तोक्न दबाब दिदै आएको कांग्रेस आईतबार मधेसी मोर्चासँगको बैठकबाट पछि हटेको हो । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने तत्काल निर्वाचनको मिति तोकेरै अघि बढ्नुपर्नेमा जोड दिँदै आएको छ । मोर्चासँगको बैठकमा संविधान संशोधनपछि मात्रै मिति तोक्ने समझारी गरेकोप्रति पनि पौडेल पक्षीय नेताको असन्तुष्टी छ । पूर्व महामन्त्री प्रकाशमान सिंहले निर्वाचन मिति घोषणा नहुँदा अन्यौल खडा भएको बताउँदै निर्वाचन र संविधान संशोधनको विधेयकलाई सँगसँगै अघि बढाउनु पर्नेमा जोड दिएका थिए । उनले तत्काल निर्वाचनको मिति घोषणा गरी संविधान संशोधनका लागि अघि बढ्नुपर्ने मत राखेका थिए ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले निर्वाचनको तयारी र संविधान संशोधनको प्रकृया संगसंगै अघि बढ्ने बताए । अब स्थानीय निर्वाचन टरेको हो भन्ने प्रश्नमा सिटौलाले भने, ‘मोर्चासँगको आज (आइतबार) को छलफल सकारात्मक भएको छ । सरकारले तयारी थाल्न आयोगलाई निर्देशन दिईसकेको अवस्थामा मिति नतोक्दैमा निर्वाचन टरेको मान्न सकिन्न ।’ स्रोतका अनुसार बैठकमा संविधान संशोधनको पक्षमा दुई तिहाई कसरी पुर्‍याउने भन्ने बिषयमा खुलेरै छलफल भएको थियो । कुन–कुन सांसद र दलाई के गर्दा संशोधनको पक्षमा तान्न सकिन्छ भन्ने बिषयमा समेत छलफल चलेको भएको थियो । कतिपय नेताहरुले प्रमुख प्रतिपक्ष एमालेले संसदमा एक तिहाई मत होल्ड गरेको अवस्थामा कसरी दुई तिहाई पुर्‍याउन सकिन्छ ? भन्ने प्रश्न राखेका थिए । ‘संसदको अंकगणितमा तीन/चार मत नपुग्ने देखिन्छ, आज बैठकमै भएको हिसावले पनि त्यस्तै देखियो’ स्रोतले भन्यो,‘सभापति देउवाले साना ठूला सवै दललाई बोलाएर यसबारेमा छलफल गर्छु भन्नु भएको छ ।’

राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई सरकारमा समेट्ने गरी मन्त्रिपरिषद् पुर्नगठन गर्नेबारेमा पनि देउवाले छलफल अघि बढाएका छन् । ‘थापा र गच्छदारलाई मनाउने सक्छु भन्ने विश्वास देउवाले दिलाउनु भएको छ,’ स्रोतले भन्यो, ‘अन्य केही साना दलका सांसदलाई पनि आकर्षित गर्न सकिने निष्कर्षमा मोर्चा र कांग्रेस छन् ।’

बैठकमा सहभागि कांग्रेस नेता एवं भौतिक पूर्वाधार तथा यातयात मन्त्री रमेश लेखकले संविधान संशोधनलाई निष्कर्षमा पुर्‍याएरै पनि निर्वाचन हुन सक्ने दावी गरे । ‘निर्वाचन आयोगले तयारी अघि बढाउँदै गर्छ, संविधान संशोधन टुंगोमा पुगेपछि मिति घोषणा हुन्छ’ उनले भने,‘संविधान संशोधन पारित भए एमाले र असफल भए मधेसी मोर्चा दुवै निर्वाचनमा आउनु पर्छ ।’

प्रकाशित : माघ २४, २०७३ ००:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?