८ वर्ष जेल बसेपछि निर्दोष

जेलमुक्त हुँदा फूलमाला
सुदीप कैनी

गोरखा — ‘१३ दिनअघि अदालतले फैसला गरिदिएको भए, हजुरआमाको मुख देख्न पाउने थिएँ,’ मंगलबार कारागारबाट छुट्दै गर्दा केराबारी–३ का २५ वर्षीय नारायण ढकालले भने । न्यायालयले उनीबिरुद्धको मुद्दामा ढिलासुस्ती मात्रै गरेन ।

८ वर्ष जेल बसेपछि निर्दोष

८ वर्ष जेल बसिसकेपछि उनलाई निर्दोष भएको ठहर गर्‍यो । उनी जेलबाट छुट्दै गर्दा घरमा हजुरआमाको १३ पुण्यतिथि थियो । ९८ वर्षीय हजुरआमाको मुख हेर्न नपाएकोमा उनलाई थकथकी लागेको छ । 

कर्तव्य ज्यान मुद्दामा गोरखा जिल्ला अदालत र पुनरावेदन अदालत पोखराबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका ढकाललाई मंगलबार सर्वोच्च अदालतले निर्दोष भन्दै सफाई दिएको हो । 

सर्वोच्चको सफाईपछि उनले ७ वर्ष ९ महिनामा कारागारबाट मुक्ति पाएका जिल्ला अदालतका श्रेस्तेदार गोविन्द्र घिमिरेले बताए । सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र देवेन्द्रगोपाल श्रेष्ठको इजलाशले जिल्ला र पुनरावेदनको फैसलालाई उल्टाउदै ढकाललाई सफाई दिएको हो । 

फैसलामा भनिएको छ, ‘सर्वस्वसहित जन्मकैदको सजाय फौजदारी न्यायको सिद्दान्त र अदालतबाट प्रतिपादित कानुनी सिद्दान्तहरुको समेत प्रतिकुल रहेकाले अभियोग दाबीबाट सफाय दिइएको छ ।’ सर्वोच्चले निर्दोष सावित गरेपनि ढकालले भने जेल सजाय भोगिसकेका छन् ।

२०६६ बैशाख १४ गते केराबारी–५ कि मिरा रेग्मीको रहस्यमय तरिकाले मृत्यु भएपछि हत्या अभियोगमा ढकाल जेल चलान भएका थिए । मिराको हत्या प्रेम सम्बन्धका कारण ढकालले गरेको आशंकामा मुद्दा अघि बढेको थियो । मिराको मृत्यु हुँदा उनको गर्भमा बच्चा थियो । उक्त बच्चा स्वीकार गर्नुको सट्टा मिरालाई भीरबाट थकलेर हत्या गरेको भन्दै प्रहरीले बैशाख २१ गते ढकाललाई हिरासतमा लिएको थियो । 

तत्कालिन जिल्ला न्यायाधीश प्रभा बस्नेतले २०६७ फागुन ३० गते उक्त मुद्दामा ढकाललाई सर्वस्व सहित जन्मकैदको सजायको फैसला गरेकी थिइन । ‘गाउँमा घटना हुँदा म एसएलसी दिएर काठमाडौं गएको थिएँ’, उनले भने, ‘जिल्लाको फैसलामा न्याय नपाएपछि पुनरावेदन गएँ, पुनरावेदनले पनि जिल्लाकै फैसला सदर गर्‍यो ।’ २०६८ चैत ३० मा पुनरावेदन पोखराले फैसला सुनाएको थियो । 

‘ढिलै भए पनि न्याय पाएँ । न्याप पाउन धेरै कुनुपर्‍यो’, उनले भने । 

प्रहरीले यातना दिएर जबरजस्ती हत्या स्वीकार गर्न लगाएको उनले गुनासो गरे । ‘

मिराको मृत्युपछि उनकी साथीले नारायणसँग प्रेम सम्बन्ध रहेको बताएपछि परिवारले प्रहरीमा जाहेरी दिएका थिए । 

बिना कारण कारागार बस्नुपर्दा पढाई अघि बढाउन नसकेको उनले बताए । ‘कारागार भित्र बसेर पढ्ने बातावरण पाइनँ’, ढकालले भने । 

सर्वोच्वको फैसलापछि उनलाई थुनामुक्त गरिएको घिमिरेले बताए । थुनामा रहँदा ढकाल गोरखा कारागारका नाइकेसमेत भएका थिए । निर्दोष साबित भएपछि कारागारका कैदीबन्दीले उनलाई अबिर खादा लगाएर बिदाई गरेका हुन् । ८ वर्षपछि निर्दोष साबित भएपनि जेल बसेको क्षतिपूर्ति पाउने कानुनी प्रावधान नेपालमा नभएको कानुन व्यवसायीहरुले बताए ।

 

प्रकाशित : माघ १८, २०७३ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?