कुटनीतिक समुदायलाई सरकारको ब्रिफिङ : असन्तुष्टि समेटेर संविधान संशोधन

जगदीश्वर पाण्डे

काठमाडौं — सरकारले कुटनीतिक समुदायलाई मंगलबार ब्रिफिङ गरेको छ । पुष्पकमल दाहाल सरकारमा आएको करिब ६ महिनापछि नेपालस्थित कुटनीतिक समुदायहरूलाई बोलाएर मुलुकको पछिल्लो घटनाक्रमबारे जानकारी दिइएको हो ।

‘सरकारले असन्तुष्ट पक्षका विषयलाई समेटेर संविधान संशोधन गर्छ,’ ब्रिफिङपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रकाश शरण महतले भने, ‘सबैलाई मान्य हुने गरी संविधान संशोधन गरेर त्यसको कार्यान्वयनको पक्षमा जाने कुरा जानकारी गराएका छौं ।’

बिफ्रिङकमा नेपालस्थित भारत, चीन, अमेरिका, बेलायत, कतारलगायत २४ मुलुकका राजदुत तथा कार्यबाहक राजदुत, नेपालस्थित संयुक्त राष्ट्रसंघीय नियोग, यूरोपेली यूनियनलगायतका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा सार्क सचिवालयका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

‘सबैलाई साथ लिइ निर्वाचन’
परराष्ट्रमन्त्री महतले सरकारले संविधान कार्यान्वयनमा ध्यान दिएको उल्लेख गर्दै सबैलाई साथमा लिएर निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको समेत जानकारी गराए ।

‘असन्तुष्ट पक्ष र विपक्षी दललाई समेत साथमा लिएर स्थानीय तहको निर्वाचनको तयारीमा रहेको जानकारी दिएको छु,’ उनले भने । मन्त्री महतले एक वर्ष भित्रमा तीन तहकै निर्वाचन गर्नुपर्ने चुनौति रहे पनि सरकारले सकेसम्म समय भित्रमा काम गर्ने तयारी गरिरहेको जानकारी दिएका थिए । महतले सरकारले पुननिर्माणका सम्बन्धमा सरकारले गरिरहेको कामको समेत जानकारी दिएका थिए ।

विदेशी समुदायका राजदुत तथा प्रतिनिधिहरूले नेपाल सरकारले निर्वाचन, पुननिर्माण, मानवअधिकार र नेपालको संक्रमणकालीन न्याय, सरकारको खर्च गर्ने क्षमतामा देखिएको कमजोरी आदीबारे प्रश्न उठाएका थिए ।

प्रकाशित : माघ १८, २०७३ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्

हिमालयको दोस्रो एयरबस आयो

काठमाडौं — नेपाली र चिनियाँ व्यवसायीहरूको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सको दोस्रो विमानले मंगलबार ११ बजे काठमाडौंमा अवतरण गरेको छ । जर्मनको हैम्बर्गबाट फेरी फलाइट गरेर ल्याइएको यो विमानलाई पानीको तोपद्वारा सलामीका साथ स्वागत गरिएको थियो । १२ वर्षकालागी ड्राइ लिजमा ल्याइएको यो विमानको नेपाली रजिष्ट्रेशन नाइनएन–एएलभी रहेको छ ।

हिमालय एयरलाइन्सद्वारा जारी विज्ञप्ती अनुसार, जहाजलाई स्वागत गर्न विमानस्थलमा आयोजना गरिएको कार्यक्रममा पर्यटन मन्त्री जिवनबहादुर शाही सहभागी थिए । विमानलाई स्वागत गर्न ५१ दशमलव ०१ प्रतिशत सेयर रहेको यती एयरलाइन्स समूहकातर्फबाट प्रशासन समूहका उपाध्यक्ष विजय श्रेष्ठ, अपरेसनतर्फकै उपाध्यक्ष क्याप्टेन जतिन्दर पाल सिहं ढिल्लन लगायत उपस्थित थिए । ०५४ मा नेपालमा दर्ता भएको यस एयरलाइन्समा ४८ दशमलव ९९ प्रतिशत लगानी चिनियाँ कम्पनी तिब्बत एयरलाइन्सको छ ।

यो विमानमा पनि पहिलेको विमान जस्तै १ सय ५८ वटा सिट छन् । जस्मा ८ वटा बिजनेस श्रेणीका रहेका छन् भने बाँकी इकोनमी श्रेणीका रहेका छन् । यसको पहिलो विमान गत वर्ष फागुन २६ गते काठमाडौंमा ल्याइएको थियो ।

हिमालयले विमान थपिएसँगै अब काठमाडौंबाट मलेसियाको क्वाललमपुर र बर्माको याङगुनमा सेवा सञ्चालन गर्ने जनाएको छ । यी दुई रुटका लागि यस एयरलाइन्सले अनुमति पाइसकेको छ । यसले मलेसिया सातामा ५ दिन र म्यान्मारमा दुई दिन उडान गर्ने भएको छ । लेभर रुट भनिने मलेसिया र काठमाडौंमा अब हिमालयसहित ५ वटा एयरलाइन्स पुगेका छन् । यो रुटमा नेपाल एयरलाइन्सले पनि सातामा २८ वटासम्म उडान भर्ने अनुमति पाएको छ ।

यसले २०१७ भित्रै थप दुईटा एयरबस ल्याउँदै यो वर्ष कुल विमान संख्या चार पुर्‍याउने घोषणा गरेको छ । मंगलबारअघि यसले एउटा मात्रै एयरबसबाट कतारको राजधानी दोहो र श्रीलंकको राजधानी कोलम्बोमा उडान भर्दै आएको थियो ।

प्रकाशित : माघ १८, २०७३ १७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×