सुनसरीमा प्रहरी–लागूऔषध कारोबारीबीच गोली हानाहान, तीनजना घाइते

माधव घिमिरे

विराटनगर — सुनसरीको खनारमा आज दिउँसो गोली चल्दा तीनजना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका-१४ मा पर्ने खनारस्थित सुनसरी मोरङ सिंचाई योजनाको नहरनजिक लागूऔषधका कारोबारी समूह रहेको जानकारी पाएर पुगेको प्रहरीमाथि समूहले गोली चलाएपछि प्रहरीले पनि जवाफी कारवाहीमा गोली चलाएको बताएको छ ।

पूर्वक्षेत्रीय प्रहरी प्रमुख डिआइजी केशरीराज घिमिरेका अनुसार आपराधिक गतिविधिमा समेत संलग्न लागूऔषधका कारोबारी रहेको सूचनाका आधारमा पुगेको प्रहरी टोली देखेर उनीहरुले गोली चलाएका थिए । त्यस क्रममा प्रहरीको मोटरसाइकलमा गोली लागेको छ । त्यसपछि प्रहरीले पनि प्रतिकारमा गोली प्रहार गरेको थियो ।

घाइते हुनेमा मोरङ निवासी श्रवण सरदार, करिश्मा चौधरी र सतन पासवान रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । घटनास्थलमा चारवटा पेस्तोल फेला परेको छ । सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलका अनुसार घटनास्थलमा हतियारसहित कोरेक्सलगायतका लागूऔषधि फेला परेको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : माघ १७, २०७३ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्

गृहमन्त्री संसदमा नआएपछि निर्वाचन विधेयक रोकियो

राजेन्द्र फुयाल

काठमाडौं — गृहमन्त्री विमलेन्द्र निधि विना सूचना संसदमा उपस्थित नभएपछि संसदको कामकारवाही प्रभावित भएको छ । संसदको कार्यसूचीमा रहेको निर्वाचन कसुर तथा सजाय विधेयक पारित गर्ने प्रकृया अवरुद्ध भएको छ ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संसदको बैठकमा गृहमन्त्री निधिले उक्त विधेयक पारित गर्नका लागि प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको थियो । तर, संसदको बैठकमा बिशेष समय र सुन्य समयमा साँसदहरुले बोल्ने पालो सकिसक्दा पनि गृहमन्त्री संसदमा उपस्थित नभएपछि बैठक नै स्थगित गर्नुपर्‍यो ।

सभामुख ओनसरी घर्तीले कार्यसूचिबाट उक्त विषय हटाउँदै गृहमन्त्री बोलाएर पुन: साँढे दुई बजे संसदको बैठक बोलाएकी छन् ।

सरकारले आफु निर्वाचनको लागि तत्पर रहेको भनिरहेको बेला गृहमन्त्री निर्वाचनका लागि आवश्यक विधेयक पारित गराउनका लागि पेश गर्न नै समयमा उपस्थित नहुँदा यसले प्रश्न उब्जाएको छ । यसअघि नै निर्वाचन आयोगले बेलैमा निर्वाचन कानुनहरु बन्न नसके जेठ १५ गतेभित्र निर्वाचन संभव नहुने बताइसकेको छ । त्यसपछि बर्षा लाग्ने हुादा निर्वाचन संभव हुँदैन ।

हालसम्म संसदले मतदाता नामावली र निर्वाचन आयोगको काम कर्तव्य र अधिकार सम्बन्धी विधेयक पारित गरेको छ । अझै पनि निर्वाचनका लागि महत्वपूर्ण कानुन निर्वाचन र राजनीतिक दल सम्बन्धी गरि दुई बिधेयक संसदको राज्य व्यवस्था समितिमा नै थन्किरहेो छ ।

प्रकाशित : माघ १७, २०७३ १४:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×