कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तग्रिँदै सीमागाँउ तातोपानी

अनिश तिवारी

सिन्धुपाल्चोक — ०७२ को भूकम्पले तहसनहस पारेपछि चीन सीमाको तातोपानी बजार सुनसान बन्यो । नेपाल र चिनबीचको स्थलमार्ग अरनिको राजमार्गअन्तर्गतको प्रमुख व्यापारिक बजार तातोपानी क्षेत्रमा हुने व्यापारिक कारोबार शून्यमा पुग्यो । घर लगायत सबै संरचना ध्वस्त भए ।

तग्रिँदै सीमागाँउ तातोपानी

चारैतिर पहाडले घेरेको तातोपानीमा पहिरोको उच्च जोखिम भयो । हुने खानेहरु राजधानी पसे भने हुँदामात्रै खानेहरु चौकीडाँडाजस्ता सुरक्षित स्थानमा पालजस्ताको अस्थायी टहरामा आश्रित बने ।

वर्षदिनपछि तातोपानीका केही बासिन्दा घर फर्किए । व्यापारिक रुपमा स-साना होटेल, किराना पसल खुले । भूइँचालोले भत्काएका घर मर्मत गरी स्थानीयहरु पुरानै लयमा फर्किन थालेका थिए । भन्सार कार्यालय, अध्यागमनदेखि तातोपानीमा रहेका बैंकहरुले कारोबार सुरु गर्न थालिसकेको अवस्थामा फेरि अर्को विपत्तिले बस्न लागेको बस्ती उजाड पारिदियो । भूकम्प गएको १४ महिनापछि भोटोकोसी बाढी आयो । भूइँचालो बिर्सिसकेका तातोपानीवासी फेरि विस्थापित शिविर फर्किन बाध्य बने । गति लिइसकेको व्यापारिक कारोबार फेरि शून्यमै झर्यो ।

भोटेकोसी बाढीले सताएको ६ महिना लागिसकेको छ । बाढी र भूइँचालोले तहसनहस बनाएको सडक अस्थायी रुपमा अहिले सुधारिएको सडकखण्डको रुपमा खुलिसकेको छ । ‘भौतिक रुपमा सीमा क्षेत्र बनिसकेको छ’ सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी विमल डाँगीले भने, ‘मानवीय र व्यापारिक चहलपहल बढ्न थालेको छ ।’ उनकाअनुसार सुनसान र कुकुरहरु मात्रै देखिने चीनको सीमाक्षेत्र लिपिङमा अहिले फेरि बस्ती बनाउन स्थानीय अग्रसर बनेका छन् । भन्सार कार्यालयमा कार्यालय सहायक मात्रै बसेका छन् । लिपिङमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीबाहेक अरु कोही भेटिँदैनन् । अस्थायी रुपमा खुलेका सडक फेरि मर्मत गरिएको छ ।

लिपिङ बजारमा जान केही समस्या भने अझै रहेको गाविस सचिव डम्बरबहादुर श्रेष्ठ बताउँछन् । ‘तातोपानी र कोदारीमा भने आशाजनक सुधार आएको छ, चहलपहल बढेको छ,’ उनले भने, ‘पर्यटकीय तीर्थस्थल तातोपानी धारामा आउने पर्यटक पनि बढेका छन् । उनले गाउँमा पुनर्निर्माणमा काम पनि भइरहेको लामो समयपछि तातोपानीको मुहार फेरिँदै गएको बताए ।

‘सडक खुले पनि नाका नखुलेकोमा भने समस्या भएको छ । नाका खुल्ने आशामा स्थानीयवासी फेरि गाउँ फर्केर व्यापार गर्न थालिसकेका छन्’ अध्यागमन कार्यालयका सहायक तिलकबहादुर मगर भन्छन्, ‘कच्ची सडक अहिले सुधारिएपछि स्थानीय उत्साहित छन् ।’ आहिले चाइना रेल्वे कन्ट्रक्सन कम्पनी (सिआरसीसी) लिमिटेडले ग्राभेल सुधारिएको सडक निर्माण गरिसकेको छ । माथिबाट आउने पहिरो नियन्त्रणमा ल्याउन जालीगारो, सडक ढलान गर्ने काम तीव्र रुपमा अगाडि बढिरहेको वरिष्ठ भाषा अनुवादक रामकृष्ण दुलालले जानकारी दिए ।

लार्चा, १० किलोमाथि बस्ती बसिसकेको छ । कोदारीमा प्रशस्तै स्थानीयहरु भेटिन्छन् । उनीहरु आफ्नो जीविकोपार्जनका लागि तयार भइसकेको स्थानीय ठेकेदार रामबहादुर पाख्रिन बताउँछन् । ‘सरकारले तातोपानी नाका खोल्नमा जोड दिए यहाँ पुरानै अवस्थामा चाँडै आउनेछ’ उनी भन्छन् ‘पहिरोको जोखिम भए पनि स्थानीयवासी गाउँमै रोजगारीको वातावरण सिर्जना गरौं भन्नेमा छन् । ’ उनी नाका सन्चालन भएमा यो क्षेत्रले आर्थिक फड्को मार्ने बताउँछन् ।
 
त्यहाँ भएका मन्दिर, गुम्बा र तातोपानी धारामा नुहाउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको तातोपानी धारा समितिका सांगे शेर्पाले जानकारी दिए । बाढीले कटान गरेका भागहरु र सुख्खा पहिरो अहिले रोकिसकेका छन् । भने नाका सन्चालन नहुँदा भन्सार कार्यालयले दैनिक संकलन गर्ने राजश्वले मुलुकको अर्थतन्त्रमा असर गरिरहेको छ । कार्यालयले दैनिक डेढ करोडको हाराहारीमा राजस्व संकलन गर्थ्यो । तातोपानी क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको कारोबारले यहाँका स्थानीयहरुको जीवनस्तर सुध्रेको थियो । नाका बन्द हुनुअघि सामान ओसारेरै भरियाहरुले परिवार पाल्थे । सडक बनिसकेकाले स्थानीयवासी नाका सञ्चालन हुने आशामा उत्साहित छन् ।

‘पछिल्लो समय तातोपानी जाने स्थानीयमात्रै नभई पर्यटकसमेत बढेका छन्’ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु पाण्डेले भने, ‘उता जाने सवारी साधन झण्डै चौ गुणा बढेको छ ।’

असार २१ गते चीनको खासा र कुतिको बीचमा रहेको छेपसाङ पहिरोले कोसी थुनिइआएको बाढीले लिपिङ बजारका ८१ घर बगाएको थियो । अन्य संरचना समेत कटानमा पारेको थियो । अहिले लिपिङ बजारमा रहेको ६८ घरमध्ये १० घर मात्रै बस्न योग्य छन । भूकम्पमा २० घर मात्रै बस्न नहुने थियो । त्यस्तै कोदारीमा ४० घरमध्ये २० घर क्षति भएको थियो । अहिले झण्डै ७ घरमा स्थानीयवासी बस्न थालिसकेका छन् भने अन्य समेत पुनर्निर्माणमा जागेका छन् ।

प्रकाशित : पुस १६, २०७३ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?