कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गुरुङ समुदायले तमू ल्होसार पर्व मनाउँदै

काठमाडौं — गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर आज शुक्रबार पुस १५ गते ‘तमू ल्होसार’ पर्व मनाउँदैछन् । ल्होछारको अवसरमा आज काठमाडौं उपत्यकासहित देशभर र विदेशमा रहेका तमू संघ संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

गुरुङ समुदायले तमू ल्होसार पर्व मनाउँदै

काठमाडौं टुँडिखेलमा ल्होछार विशेष समारोह आयोजना गरिएको छ । समारोहअघि उपत्यकाका विभिन्न ठाउँबाट साँस्कृतिक झाँकी, गुरुङ भेषभुषामा सजिएर र्‍याली निकालिनेछ । समारोह प्रधानमन्त्री पुष्पकमल दाहालले दिउँसाे उद्‍घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रधानमन्त्री दाहाललगायत प्रमुख दलका शीर्ष नेताको सहभागिता रहनेछ ।
 
‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले बताए ।

‘तमु संस्कृतिअनुसार चरालाई शान्तिको प्रतीक मानिने भएकाले पुस १५ गते शुक्रबारदेखि शान्तिमय समय सुरु भएको खुसीयालीमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाइन्छ’– उनले भने ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएका क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको अध्यक्ष गुरुङले बताए ।

यस पर्वका अवसरमा आज शुक्रबार सरकारले सार्वजनिक बिदा दिएको छ । रासस

 

प्रकाशित : पुस १५, २०७३ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?