भाषा आयोगले पायो कार्यालय

काठमाडौं — संविधानअनुसार गत भदौमा गठित भाषा आयोगले चार महिनापछि कार्यालय पाएको छ । काठमाडौं महानगरपालिका–३४, शंखमूल क्षेत्रको वाग्मती करिडोर मनहरा पुल नजिकै भाडाको भवनमा बुधबार आयोगको कार्यालय सरेको छ ।

यसअघि आयोग कार्यालय सिंहदरबार परिसरमा संस्कृति मन्त्रालयको छिँडीमा थियो । सरकारले भदौ २४ मा आयोगको अध्यक्षमा लवदेव अवस्थीलाई नियुक्त गरे पनि सात प्रदेशको प्रतिनिधित्व हुने गरी लामो समयसम्म सदस्य नियुक्त गर्न सकेको छैन ।

आयोगको आफ्नै कार्यालय व्यवस्थित भएपछि औपचारिक रूपमा काम अघि बढाउन सहज भएको अध्यक्ष अवस्थीले बताए । ‘आयोगको आफ्नै कार्यालय भएपछि काम गर्न सहज वातावरण तयार भएको छ,’ अध्यक्ष अवस्थीले भने, ‘यसबाट नेपालको संविधानले दिएको जिम्मेवारी पूरा गर्न सजिलो हुनेछ ।’ आयोगमा आवश्यक जनशक्ति निजामती सेवाका केही कर्मचारीहरू काजमा ल्याइएका छन् ।

आयोगले संविधानमा उल्लेख भएअनुसार सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधारहरूको निर्धारण गरी सरकारसमक्ष भाषाको सिफारिस गर्नेछ ।

भाषाहरूको संरक्षण, संवद्र्धन र विकासका लागि अवलम्बन गर्नुपर्ने उपायको सरकारसमक्ष सिफारिस गर्ने, मातृभाषाहरूको विकासको स्तर मापन गरी शिक्षामा प्रयोगको सम्भाव्यताबारे सुझाव पेस गर्ने र भाषाहरूको अध्ययन, अनुसन्धान र अनुगमन गर्ने कार्य आयोगले गर्नेछ ।

गठन भएको पाँच वर्षभित्र आयोगले तोकिएका कार्य सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था छ भने अध्यक्ष र सदस्यहरूको पदावधि ६ वर्षको हुने प्रावधान छ ।

प्रकाशित : मंसिर २९, २०७३ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?