कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

पुनर्वासमा अनिच्छुक शरणार्थी भन्छन्- ‘हामी भुटानै फर्कन चाहन्छौं’

झापा र मोरङ शिविरमा बाँकीमध्ये ३ हजारजति शरणार्थी स्वदेश फिर्तीकै अडानमा छन्
पर्वत पोर्तेल

दमक — शरणार्थी पदमलाल तामाङ विपनामा शिविरमै हुन्छन् । सपनामा सधैं भुटानमा । भुटानको चिराङमा खानेपानी विभागमा जागिरे रहेका बेला उनी लखेटिएका थिए । ‘सपनामा भुटानकै गाउँमा हलो जोतिरहेको हुन्छु,’ ६१ वर्षीय पदमलालले भने, ‘परिवारसँगै बसेर हाँसिरहेको हुन्छु ।’

पुनर्वासमा अनिच्छुक शरणार्थी भन्छन्- ‘हामी भुटानै फर्कन चाहन्छौं’

सन् ९० को दशकमा भुटानी शासकले जब नेपालीभाषीलाई लखेट्न सुरु गरे, उनी नेपाल आइपुगे । संयोगले पत्नी र छोराछोरीचाहिँ उतै रहे । त्यति बेला डेढ लाखजति नेपालीभाषी घरजमिन छाडेर भाग्न बाध्य भएका थिए । कतिलाई गोली ठोकियो, जेल हालियो । ‘मार्छ भनेर नेपाल आइपुगें म पनि’, पदमलाल भन्छन्, ‘भुटान फर्कने आसमा २५ वर्ष बितेछ ।’ पदमलालले यतै घरबार गरिसके । उनी तेस्रो देश पुनर्वासको विपक्षमा छन् । परिवारका अन्य सदस्यले धेरै जोड गरे तर उनी मानेनन् । भन्छन्, ‘अमेरिका जानुभन्दा बरु पितृभूमि नेपालमै मर्छु ।’ ५५ वर्षीया सुकरानी मोक्तानको परिवार पनि तेस्रो देश नजानेमै थियो । तर, आफन्त र छिमेकी सबै हिँडेपछि अहिले उनीहरू पनि अमेरिका जाने तयारीमा छन् । ‘भुटान जान पाइएला भन्दाभन्दै मर्ने बेला भ यो’, आसरानीले भनिन्, ‘मर्ने बेला अमेरिका जानुपर्ने अवस्था आयो ।’ उनीहरूले तेस्रो देश पुन:स्थापनाका लागि आवेदन दिइसकेका छन् । 

शरणार्थीले स्वदेश फिर्तीका लागि लामै प्रयत्न गरे तर सफल भएनन् । नेपाल सरकारको असहयोगले भुटान फिर्न नपाएको ठान्छन् उनीहरू । ‘नेपालले भूमिका खेलिदिएको भए हामी जान पाउँथ्यौं,’ पदमलाल गुनासो गर्छन्, ‘नेपालले चासो नदिएकाले हामीले दु:ख पायौं ।’ भुटान फर्कनेको जनमत थपिँदै गएपछि शिविरभित्रै भुटानविरोधी भूमिगत र अर्धभूमिगत गतिविधि बढ्न थालेको थियो । भुटान कम्युनिस्ट पार्टी माओवादीजस्ता संगठनले शिविरभित्रै व्यक्तिहत्या सुरु गरेका थिए । सन् २००७ को अन्त्यतिर राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर) ले शरणार्थीलाई तेस्रो देश पुनर्वास गर्न थालेपछि आपराधिक गतिविधिसमेत घटे । 

भुटान फर्किनुपर्छ भन्ने नेताहरू नै धमाधम तेस्रो देश हिँड्न थालेपछि यो अभियान धराशयी बन्यो । डा. भम्पा राई, बलराम पौडेलजस्ता केही नेता भने अझै स्वदेश फिर्तीकै अभियानमा सक्रिय छन् । शरणार्थी स्वैच्छिक स्वदेश फिर्ती अभियानका अध्यक्ष डा. भम्पा राई भन्छन्, ‘स्वदेश फिर्तीमा लामो समयसम्म निराश शरणार्थीहरूलाई तेस्रो देश जान बाध्य पारिएको हो, उनीहरूको इच्छा भुटान फिर्ने नै थियो ।’ 

राईले स्वैच्छिक स्वदेश फिर्तीको ठोस पहलका लागि नेपाल सरकारलाई सयौं पटक आग्रह गरिए पनि गम्भीर नबनेको आरोप लगाए । ‘नेपालले भुटानलाई स्वदेश फिर्तीमा सहमत गराउन त सकेन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायलाई पनि दबाब दिन चुक्यो । नेपालले भुटानलाई पत्राचार या वार्ता गरेर ‘तेरा नागरिक हामीले पालिदिएका छौं, लैजान सक्छस् कि सक्दैनस्’ भनेर सोधिदिएको भए पहिल्यै समाधान हुने थियो ।’ युएनएचसीआरले २०१७ पछि पुनर्वास कार्यक्रम स्थगित गर्ने जनाएको छ । त्यसपछि तेस्रो देश जान इच्छा नभएका शरणार्थी मात्रै शिविरमा रहनेछन् । 

युएनएचसीआरका अनुसार करिब १ लाख ७ हजार शरणार्थी अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत आठ देशमा पुन:स्थापित भइसकेका छन् । झापा र मोरङमा गरी अब करिब ११ हजार हाराहारी शरणार्थी छन् । युएनएचसीआर स्रोतका अनुसार तीमध्ये २ देखि ३ हजार शरणार्थी स्वदेश फिर्तीमै अडिग छन् । ‘बाँकी पुन:स्थापनाका लागि प्रक्रियामा आइसकेका छन्,’ युएनएचसीआरका एक अधिकारीले भने । 

शिविरमा बाँकी शरणार्थीका लागि दुई विकल्प खुला छन् । भुटानै पठाउने या नेपालतिरै राख्ने भन्ने । यस विषयमा सरकारले चाँडै ठोस कदम चाल्ने सम्भावना रहेको स्रोतको भनाइ छ । सरकारले स्थानीयसँग घुलमिल गराउने सम्भावना देखेपछि शरणार्थीले त्यसप्रति गम्भीर आपत्ति जनाइसकेका छन्, यसअघि नै । बेलडाँगी शिविरका सचिव सञ्चमान सुब्बा भन्छन्, ‘हामीलाई कुनै हालतमा भुटानै पठाउनुपर्छ, यहाँ बस्ने भए त तेस्रो देश गइहालिन्थ्यो ।’ 

प्रकाशित : मंसिर २९, २०७३ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?