इन्डोनेसियामा नेपाल गन्तव्य

-सुरज कुँवर

जकार्ता (इन्डोनेसिया) — ३९ औं संस्करणको मेलामा पर्यटन बजार प्रर्वद्धन गर्न नेपालसहित ६३ वटा मुलुक सहभागी छन् । एसियाली मुलुकहरुमा दीगो पर्यटन विकास हुनुपर्ने अभियानलाई अघि सारेर मेला आयोजना गरिएको हो ।

इन्डोनेसियाको राजधानी जकार्तामा बुधबारदेखि यस वर्षको तीन दिने पाटा ट्राभल मेला सुरु भएको छ ।


बुधबार साँझ यहाँका उपराष्ट्रपति महोम्मद यूसुफ कालाले राजधानी जकार्ताकै सबैभन्दा ठूलो प्रर्दशनी हल जकार्ता कन्भेन्सन सेन्टरमा रैथाने बाजा आङकुलुङ्ग बजाउँदै मेला उद्घाटन गरेका थिए ।

नेपालको पर्यटन प्रचार गर्न प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र पर्यटन बोर्डको नेतृत्वमा १० व्यवसायी यहाँ आइपुगेका छन् । मेलाको दोस्रो दिन बिहीबार इन्डोनेसियाका पर्यटनमन्त्री आरिफ याया नेपाल पभिलियनमा आइपुगेका थिए । उनलाई पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी र नेपाल वायुसेवा निगमका संस्थागत विभागका निर्देशक रामहरी शर्माले सगरमाथा र माछापुच्छ्रे हिमालको पम्पलेट उपहार दिएका थिए । नेपालबारे सुनेको तर घुम्ने मौका नपाएको बताउँदा पर्यटनमन्त्री यायालाई बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले नेपाल भम्रणको निम्तो दिएका थिए ।

नेपाल पभेलियनमा ध्वजाबाहक वायुसेवा निगमसहित सोल्टी होटल, नेपाल पर्यटन बोर्ड, पाटा नेपाल च्याप्टर, एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेन्चर, साँग्रीला ट्राभल, होटल मस्र्याङ्दी, हिमालयन गाइड नेपाल ट्ेरक एण्ड एक्सपिडिसन प्रालि, नेपाल इजी ट्राभल, टिडल्लुएक्स, लाङटाङ रि ट्रेकिङ्ग एण्ड एक्सपिडिसन, डिभाइन इन्टरनेसनल एण्ड टेकलगायतका नेपाली पर्यटन व्यवसायी सहाभागी छन् ।

बैंककमा मुख्यालय रहेको पाटा च्याप्टरले आयोजना गरेको मेलामा विभिन्न पर्यटकीय गन्तव्य खरिद गरी बिक्री गर्ने २ सय ६० क्रेता र आ–आफ्नो मुलुकका टुरिजम प्रोडक्ट बिक्री गर्ने २ सय २० वटा प्याकेज बिक्रेता सहभागी छन ।

ट्राभल मेलामा बिहीबार १२ सय बढी व्यवसायीहरु प्रत्यक्ष सहभागी भएको आयोजक पाटा च्पाप्टरका मिडिया फोकल पर्सन पावेल पीले जानकारी गराए ।

प्रकाशित : भाद्र २३, २०७३ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्

यूएईमा कार्यरत ३० नेपाली सुरक्षा गार्डको अपिल, ‘हामीलाई छिटो उद्दार गरिदेऊ’

होम कार्की

काठमाडौं — तीन महिनादेखि तलब बिहीन संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका झन्डै ३० नेपाली सुरक्षागार्डले आफूहरुलाई यथाशिघ्र उद्दार गर्न अपिल गरेका छन् । ती सुरक्षागार्ड १० महिनाअघि यूएई पुगेका थिए ।

यूएईको सारजाहास्थित सनैया—३ लेबर क्याम्पमा बस्दै आएका उनीहरु ‘लिडर सेक्युरिटी सर्भिस’ मा कार्यरत थिए । ‘नेपालमा म्यानपावर कम्पनीसँग गरेको सम्झौताविपरीत यहाँको कम्पनीले तलब दिएको थियो । 

‘कम तलब दिंदै आए पनि हामी काम गरिरहेका थियौं’, पीडित भएका भरत जोशीले कान्तिपुरलाई भने,‘कम्पनीले पछिल्लो समयदेखि तलब नै दिन छाड्यो ।’ 

उनीहरु काठमाडौंस्थित हिमारब ओभरसिज र एनसीअफ म्यानपवारलाई दुई लाख ५० देखि दुई लाख ७० हजार रुपैयाँ बुझाएर यूएई पुगेका थिए । 

अलपत्र परेका नेपाली सुरक्षागार्डको सूची । 

म्यानपावरले तलबसहित १८ सय ४१ दिराम पाउँने भन्दै कामदारसँग सम्झौता गराएको थियो । ‘यूएई आएपछि कम्पनीले अर्को सम्झौता गर्न बाध्य बनायो । जसमा कम तलब उल्लेख थियो’, उनले भने,‘पहिलो महिना देखि नै कहिले पूरा तलब भएन ।

कहिले ५ सय दिराम दिने । कहिले एक हजार दिराम दिन थाल्यो । हामीले पुरा तलब दिन माग गरिरहेको थियौ । पछि आएर कम्पनीले तलब दिन नसक्ने भन्दै हामीलाई वास्ता गरेन ।’ 

तलब नपाएपछि उनीहरुले एक महिनादेखि काम गरेको छैनन् । ‘हामी न्यायको लागि यूएईस्थित श्रम अदालतमा गयौं । अदालतमा छिट्टै सुनुवाई भएन । अदालतले अगस्ट ३१ तारिख तलब दिन कम्पनीलाई बोलाएको थियो । त्यो दिन पनि तलब दिएन’, अर्का पीडित देबकुमार श्रेष्ठले भने । 

नेपालमा म्यानपावरसँग गरिएको श्रम सम्झौता । जुनअनुसार उनीहरुले तलब पाएनन् । 

उनीहरुले यसबारे नेपाली दुताबासलाई सेप्टेम्बर १ मा जानकारी दिएको छ । दुताबासले अदालतमा मुद्दा भइसकेकोले तत्काल केही गर्न सक्ने अबस्था नभएको जानकारी दिएको उनीहरुले बताए । 

यूएई गएदेखि आफूहरुले स्वदेशमा एक लाख रुपैयाँ पनि पठाउन नसकेको बताए । ‘त्यत्रो रकम बुझाएर आयौं । अहिले हामीसँग खाने पैसा पनि छैन । घरमा एक लाख रुपैयाँ पनि पठाउन सकेको छैन’, भक्तराज थापाले भने । 

उनीहरुले उधारो खादै आएको बंगाली ब्यापारीले पनि सामान दिन छाडेको छ । ‘हामी थप मानसिक तनाव लिन सक्दैनौं’, थापाले भने,‘जतिसक्दो छिटो उद्दार गर्न दुताबास र नेपाल सरकार समक्ष अपिल गर्दछौं ।’ 


 

उद्दारको लागि आबुधाबीस्थित नेपाली दूताबासलाई गरिएको अनुरोध पत्र । 
 

 

प्रकाशित : भाद्र २३, २०७३ १८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×