१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

'उपचार गर्न त चर्को पो रहेछ'

कठिन अस्पताल यात्रा
भरत जर्घामगर

विराटनगर — सरकारी अस्पताल नि:शुल्क त छन्, तर पर्याप्त डाक्टर हुँदैनन् । उपचार लिन टाढा–टाढाबाट पुग्ने सर्वसाधारण त्यतिबेला दिक्क हुन्छन्, जब अव्यवस्थित भीडभाड र झन्झटिला प्रक्रियाको सामना गर्नुपर्छ । प्रस्तुत छ– प्रतिनिधि घटनाका रूपमा कोसी र भेरी अञ्चल अस्पतालका एक–एक बिरामीका भोगाइ–

'उपचार गर्न त चर्को पो रहेछ'

७३ वर्षीया गंगामाया याक्खा बिहीबार बिहान ९ बजे हातमा पुर्जा लिएर कोसी अञ्चल अस्पताल ओपीडी कक्षको भुइँमा बसिरहेकी भेटिइन् । चिकित्सकको पर्खाइमा उनका साथ थिए पति ७२ वर्षीय भवानीप्रसाद र बुहारी पुष्पा । उनीसँगै उपचारका लागि धनकुटा खुवाफोक–७ बाटै आएकी थिइन् सुशीला याक्खा र उनकी बुहारी सुमित्रा ।

उभिँदा–उभिँदा जीउ दुख्यो । बिरामीको घुइँचोले बस्ने ठाउँ नभेटेपछि भुइँमै बसे उनीहरू । गत माघमा माइती गाउँ धनकुटाको बोजे जाने क्रममा बाटामा चिप्लिएर लडेपछि गंगामायाको देब्रे खुट्टामा असर परेछ । भाइ लक्ष्मीले गाउँकै अहेवबाट ओखतीमूलो गराए । तर दुख्न नछाडेपछि बुधबार बिहान ७ बजे बस चढी पथरी कान्छा छोरा विमलको घरमा आए । त्यहाँ बसेर बिहीबार बिहानै अस्पताल आएका हुन् ।

‘७२ वर्षको उमेरसम्म औषधि खानुपरेको थिएन बाबु,’ उनले गर्वसाथ भनिन्, ‘यतिन्जेलसम्म मैले अस्पताल देखेको थिइनँ । खुट्टा साह्रै दुख्न थालेपछि मात्रै बाध्य भएर यहाँ आएँ ।’ गर्मी पनि उस्तै, मान्छेको घुइँचो झन् धेरै । उनी आत्तिइरहेकी थिइन् । थपिन्, ‘चिसो ठाउँको चिसो पानी । अनि आफ्नै बारीको तरकारी खाएकाले होला बिरामी कहिल्यै परिएन ।’

लाइनमा बसेकी बुहारी सुमित्राले डाक्टर आएको संकेत गर्दै साढे १० बजेतिर हाड जोर्नी विभागबाहिर पुर्‍याइन् । त्यहाँ डा. शम्भु साहले बिरामी जाँच्न सुरु गरे पनि उनको पालो ६७ नम्बरमा पर्‍यो । सुमित्रा लाइनमै बसिन् । त्यत्रो मान्छे देखेपछि गंगामायाले अनौठो मान्दै जिज्ञासा राखिन्, ‘यहाँ उभिएका सबै बिरामी नै होलान् है ?’

‘हो’ भन्ने उत्तर पाएपछि थपिन्, ‘उपचार गर्न त चर्को पो रहेछ ।’ हुन पनि अस्पतालका सुरक्षा गार्ड आइतबहादुर लिम्बुलाई लाइन मिलाउन हम्मेहम्मे परिरहेको थियो । आधा घण्टा कुरेपछि पुर्जा हातमा लिएर गंगामाया चिकित्सकको कक्षमा छिरिन् । चिकित्सक साहले के भएको भन्दै सोधखोज गरी खुट्टाको एक्सरे र रगत जाँच गर्न लेखिदिए ।

हाडजोर्नी विभागको भवनबाहिर बस्न लगाएर रगत परीक्षण र एक्सरे जाँचका लागि सुमित्रा शुल्क बुझाउन अर्को भवनतिर लागिन् । पैसा बुझाउन २० मिनेट लाइन बसेर ६ सय रुपैयाँका रसिद लिएपछि उनी झर्किंदै आइपुगिन्, ‘जता पनि कस्तो घुइँचो ?’

रगत परीक्षणका लागि ओपीडी कक्ष भएको भवनको माथिल्लो तल्ला पुग्दा १२ बजेको थियो । त्यहाँ पनि झन्डै आधा घण्टा लाइनमा बसेपछि रगत तान्ने पालो आयो । रगत झिक्दा डराइन् गंगामाया । त्यसपछि एक्सरे कक्षमा गयौं । त्यहाँ पनि आधा घण्टा कुर्नु पर्‍यो ।

...
दिउँसो डेढ बजे ल्याब परीक्षणको रिपोर्ट हात पर्‍यो । पुगियो चिकित्सक शम्भु साहकै कक्षमा । त्यहाँ फेरि उस्तै लाम थियो । दुई बजे चिकित्सकले रिपोर्ट हेरिसकेपछि पाँच प्रकारका औषधि लेखिदिए । औषधि खाएपछि पनि निको नभए फेरि आउन सल्लाह दिए । ‘निको नभए पनि अब त अस्पताल फर्केर आउँदिन,’ बाहिर निस्केपछि गंगामायाले भनिन्, ‘बरु दुखाइ सहन्छु ।’
सुमित्रा औषधि लिन गइन् । जम्मा खर्च भएछ दुई हजार दुई सय रुपैयाँ । ‘धेरै सास्ती भोग्नुपर्‍यो,’ थकित सुमित्राले खुय्य गर्दै भनिन्, ‘लाइन उस्तै, यो कोठा र त्यो कोठा चाहर्दाचाहर्दै गलियो । त्यसै मान्छे बढी पैसा तिरेर क्लिनिक जाँदा रहेनछन् नि ।’

गंगामाया र सुमित्राले दुई दिनदेखि अस्पताल धाइरहेका मोरङ रंगेली ५ का ७४ वर्षीय विलरुवा मल्लिक कन्सल्टेन्ट फिजिसियन दीपक सिग्देलको कक्ष अगाडि लाइनमा कुरिरहेका देखे । छाती दुखेर दुई दिनदेखि उनी डाक्टरलाई देखाउन आइरहेका थिए । पहिलो दिन एक्सरे गराउने रेडियोग्राफर ढिलो आइपुग्यो । रिपोर्ट नपाएकाले दोस्रो दिन फेरि आउनुपर्‍यो । साढे एघार बजे चिकित्सक दीपक सिग्देल आएपछि बल्ल जाँच सुरु भयो । विलरुवा मात्रै होइन, १० बजेदेखि लाइनमा बसेकी विराटनगर तिनटोलियाकी नीलु भट्ट १२ बजेसम्म अनिश्चित रूपमा चिकित्सक कुरिरहेकी थिइन् ।
...
विशेषज्ञ सेवा दिँदै आएको कोसी अञ्चल अस्पतालमा ८४ डाक्टरको दरबन्दी छ । हाल छन् ५७ जना मात्र । ओपीडी र आकस्मिक सेवामा गरी दैनिक सात सयको हाराहारीमा बिरामी आउँछन् । त्यही भएर चिकित्सकलाई भ्याई–नभ्याई छ । मुटुको शल्यक्रियाबाहेक सबै प्रकारका सेवा उपलब्ध अस्पतालमा जनशक्ति अपुग भएकै कारण सेवा प्रवाहमा समस्या भोग्नुपरेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोशन पोखरेलले बताए । ‘डायलासिसदेखि सिटी स्क्यानसम्मका सेवा प्रवाह गरिरहेका छौं,’ उनले भने, ‘नाक, कान, घाँटी, एनेस्थिया जसोतसो सेवा त दिएका छौं तर यसमा चिकित्सक छैनन् ।’

बिरामीको चापका कारण ओपीडी व्यवस्थापन गर्नै गाह्रो परेको उनले सुनाए । दुई सय बेड क्षमता भएको अस्पतालमा ३ सय ५० बेड सञ्चालित छ । सहुलियत शुल्कमा उपचार हुने अस्पतालमा कोसीलगायत सगरमाथा अञ्चलका उत्तरी क्षेत्रका बिरामी आउँछन् ।

अस्पताल प्रशासनका अनुसार विशेषज्ञ चिकित्सकसहित प्रशासनसमेत २ सय ४६ कर्मचारी दरबन्दी कायम छ । शाखा अधिकृत सरिता पोखरेलका अनुसार कर्मचारीतर्फ ३० दरबन्दी खाली छन् । दरबन्दी पदपूर्ति गर्न माथिल्लो निकायमा बारम्बार पत्राचार गरे पनि कुनै सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ ।
...
यता र उता गर्दागर्दै गलेकी गंगामायाले हिँड्ने बेलासम्म धेरै निराश देखिइन् । कहिल्यै सुई नलगाएकी उनले डाक्टरले दुखाउने गरी धेरै रगत तानेको अनुभव सुनाइन् । धेरै घुइँचो, यता र उता दौडिनुपरेकाले अस्पताल फेरि नआउने दोहोर्‍याई–तेहोर्‍याई सुनाइन् ।

रगत दिँदा दुखेको पीर भए पनि मेसिनले आफ्नो खुट्टाको फोटो खिचेको भन्दै बेस्कन हाँसिन् । ‘बाबु मेरो खुट्टाको फोटो पनि खिच्यो नि,’ वृद्ध अनुहारमा हाँसो भर्दै उनी रमाइन्, ‘खुट्टाको हड्डीको फोटो दियो, फोटोमा सग्लो खुट्टै पो थिएन बाबु ।’ एक्सरेलाई गंगामायाले फोटो खिचेको भनेर बुझिछन् ।


दुई दिन लगाएर उपचारका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पताल आइपुगेकी धनकुटा खुवाफोक–७ की ७३ वर्षीया गंगामाया याक्खा । अर्को तस्बिरमा चिकित्सक कुरेर बसेका बिरामी ।

प्रकाशित : श्रावण २९, २०७३ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?