कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

राजनीतिज्ञ गुरुङको निधन

गणेश राई

काठमाडौं — नेपालमा विद्यमान जातीय तथा नश्लीय विभेदको विरुद्धमा चर्चित नेता गोपाल गुरुङको ८१ वर्षको उमेरमा निधन भएको छ । गुरुङ उपचारको क्रममा जावलाखेलस्थित अल्का अस्पतालमा बिहीबार निधन भएको हो ।

राजनीतिज्ञ गुरुङको निधन

भारतको दार्जिलिङ जन्मेका गुरुङ इलामका बासिन्दा हुन् । उनी ललितपुरको बागडोलमा बसोबास गर्दै आएका थिए । उनी नेपालीमा ‘न्युलाईट साप्ताहिक’ र अंग्रेजीमा ‘थन्डरबोल्ट’ साप्ताहिक पत्रिका सम्पादक प्रकाशन थिए । उक्त पत्रिका राजधानीबाट प्रकाशित थिए ।

गुरुङले पञ्चायत कालमा ‘मंगोल नेसनल अर्गनाइजेसन’ नामको राजनीतिक पार्टी खोलेर भूमिगत रुपमा अधिकारवादी आन्दोलन गरेका थिए । उनको ‘नेपालको राजनीतिमा अदेखा सच्चाई’ पुस्तक सर्वाधिक चर्चामा रहेको छ । उक्त पुस्तकको अंग्रेजी संस्करण ‘हिडन फ्याक्टस इन नेपलिज पोलिटिक्स’समेत छापिएको पाइन्छ । उक्त पुस्तकमा आदिवासी अर्थात् मुलबासी समुदायको पीडा र भोगाई उजागर भएको जनाइएको छ ।

‘पञ्चायत कालमा उहाँ (गोपाल गुरुङ) ले त्यो पुस्तक लेखेर प्रकाशन गरेको कारण जेल हालेको बेला सँगै भेट भयो,’ पत्रकार गोपाल छाङ्छा राईले स्वर्गीय गुरुङको सम्झना गर्दै भने, ‘मलाई भाषा, संस्कृतिको संरक्षण गर्नुपर्छ भनेर मेरै सम्पादनमा प्रकाशित छहरा साप्ताहिकमा लेखेर छापेकाले साम्प्रदायिक सद्भाव खलबल्याएको भनेर सँगै जेल हालिएको थियो । गोपालजी पञ्चायतकै बेला पत्रिका छाडेर पार्टीको राजनीतिमा लाग्नु भयो । त्यसपछि भेटघाट भएन ।’

नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव प्रा.डा. ओम गुरुङले स्वर्गीय गुरुङ आदिवासी मंगोलको अधिकारका लागि लड्ने एक सचेत योद्धाका रुपमा लिएको बताए । ‘उहाँ एक लेखक, पत्रकार अनि राजनीतिज्ञभन्दा पनि अधिकारवादी हुनुहुन्थ्यो,’ प्राध्यापक गुरुङले भने । समाजशास्त्री जितपाल किरातका अनुसार गोपाल गुरुङले आदिवासी अधिकार आन्दोलनमा ‘जनजाति होइन, मूलवासी हुनुपर्छ’ मान्यता राख्थे ।

प्रकाशित : जेष्ठ २८, २०७३ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?