भारतीय अधिकारीले भेटे मधेसी नेता

अवधेशकुमार झा

राजविराज — भारतीय अधिकारी र कर्मचारीले मधेसवादी दलका जिल्लास्तरीय नेता, कार्यकर्तालाई भेटेर घोषित आन्दोलनबारे जिज्ञासा राखेका छन् ।

काठमाडौंस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन विनयकुमारले मंगलबार राति राजविराजको एक निजी इन्स्टिच्युटमा मधेसवादी दलका नेताहरूलाई भेटेका हुन् ।

उनीहरूले मधेसकेन्द्रीत दलसहितको संघीय गठबन्धनले आह्वान गरेको राजधानी केन्द्रित आन्दोलनबारे कुराकानी गरे । नेपाल–भारत मैत्री संघद्वारा बुधबार आयोजित पाठेघर र स्तन क्यान्सर परीक्षण शिविर उद्घाटनका लागि मंगलबार साँझ आएका चिफ अफ मिसन विनयकुमार होटल डिलक्समा बास बसेका थिए । त्यहाँ केहीबेरको आरामपछि राजविराज ८ स्थित छिन्नमस्ता एजुकेसनल एकेडेमी छिरेका थिए ।

  •     भारतीय दुतावासका डेपुटी चिफ अफ मिसन विनय कुमार भेटघाटमा
  •     राजधानी केन्द्रित आन्दोलनमा सहभागिता बढाउन आग्रह
  •     ‘अधिकारप्राप्ति नभएसम्म लाग्नुस्’

उक्त एकेडेमीले सीटीईभीटीद्वारा अनुमति लिएर स्टाफ नर्ससहित स्वास्थ्यसम्बन्धी अध्यापन गराउँदै आएको छ । त्यहाँ झन्डै दुई घण्टाको बसाइका क्रममा उनले अन्य व्यक्तिसँगै मधेसकेन्द्रीत दलका केन्द्रीय र स्थानीय नेतासित छुट्टै गोप्य छलफल गरेको सहभागीले जानकारी दिए ।

उनीसँग मधेसी मोर्चा सप्तरीका संयोजक गजेन्द्र मण्डल, राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष शेखरकुमार सिंह, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा राजनीतिक समिति सदस्य शैलेन्द्रप्रसाद साह, वयोवृद्ध मधेसी नेता खुसीलाल मण्डल, तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादवलगायतले भेटेका हुन् ।

भारतीय अधिकारी र दलका नेताबीच भेटको तारतम्य छिन्नमस्ता एजुकेसनल एकेडेमीका सञ्चालक शैलेन्द्रमोहन झाले मिलाएका थिए । उनी भारतीय दूतावास निकटस्थ मानिन्छन् । नेपाल–भारत मैत्री संघ केन्द्रीय सदस्यसमेत हुन् । भेटमा सहभागी एक नेताका अनुसार भारतीय अधिकारीले जिल्ला केन्द्रित आन्दोलनभन्दा पनि राजधानी केन्द्रित आन्दोलनले सरकारलाई धक्का पुग्ने भएकाले संघीय गठबन्धनले आह्वान गरेको आन्दोलनमा अत्यधिक सहभागिता बढाउन आग्रह गरेका थिए ।

‘आन्दोलन तपाईंहरूको अधिकारका लागि हो भने प्राप्ति नहुन्जेलसम्म लाग्नुस्,’ एक नेताले भारतीय अधिकारी विनयकुमारको भनाइ उद्धृत गरे, ‘राजधानी केन्द्रित आन्दोलनमा सहभागिता बढाउनुस्, जसले राज्यलाई माग पूरा गराउन बाध्य पार्नेछ ।’ संघीय समाजवादी फोरम नेपालका नेता शैलेन्द्रकुमार साहले फेसबुकमा सार्वजनिक गरेको तस्बिरमा पनि उक्त भेट र छलफलको पुष्टि हुन्छ ।

मोर्चा जिल्ला संयोजक मण्डलले भारतीय अधिकारी विनयकुमारसँग मंगलबार राति भेट भएको बताए । ‘हामीसित भेट भएको हो, सप्तरीमा भारतीय दूतावासद्वारा सञ्चालित योजनाबारे छलफल भयो,’ उनले भने । आन्दोलनको विषयमा पनि संक्षिप्त कुराकानी भएको बताए पनि स्पष्ट खुलाएनन् । ‘विकासबारे मात्र कुरा गर्ने भए कांग्रेस, एमाले, एमाओवादीसहितमा सबै दललाई एकै ठाउँमा राखेर कुरा गर्नुपर्थ्यो,’ स्थानीय एक नेताले भने, ‘किन मधेस केन्द्रित दलका नेतालाई गोप्य रूपमा भेट्नुपर्‍यो । उनको राजविराज भेट निकै शंकास्पद छ ।’

प्रशासकहरू लस्करै
मधेस केन्द्रित दलका नेतासित भेटेका भारतीय अधिकारीलाई भेट्न राजविराज ८ स्थित छिन्नमस्ता एजुकेसनल एकेडमीमा जिल्लास्थित सरकारी अधिकारीहरू लस्करै पुगेका थिए ।

विदेशी कूटनीतिज्ञलाई भेट्नुपर्दा परराष्ट्र मन्त्रालयसित समन्वय गरेर मात्र जानुपर्ने प्रावधानसमेत बिर्सेर निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकाल, सशस्त्र प्रहरी उपरीक्षक दमन थापा, नेपाली सेनाका कर्णेल भुवनेश्वर आचार्यसहितका सुरक्षा निकाय प्रमुख पुगेका थिए ।

कूटनीतिज्ञसित भेट्दा परराष्ट्र मन्त्रालयसित समन्वय गर्नु पर्दैन भन्ने प्रश्नमा निमित्त प्रजिअ अर्याल आवाक भए । उनले भने, ‘खै गर्नु त पर्थ्यो, समन्वय परराष्ट्रसित गरिएन । मलाई त सीडीओ सा’बले भन्नुभयो र गएर भेटें । अरू केही कुराकानी भएन ।’ प्रमुख जिल्ला अधिकारी बलदेव गौतम बिदामा छन् । भारतीय अधिकारी कुमार बुधबार राजविराजबाट फर्केका छन् ।

प्रकाशित : वैशाख ३०, २०७३ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्

पुलिस उपाधि नजिक

पर्वत पोर्तेल

झिलझिले ,झापा — नेपाल पुलिस क्लब सताक्षी गोल्डकपमा बुधबार फाइनल प्रवेश गरेको छ । उसले आयोजक झिलझिले स्पोर्टिङ क्लब लाई सडन डेथमा ९–८ ले पराजित गर्‍यो । अब पुलिसले फाइनलमा बिहीबार हुने एपीएफ र रूपन्देही–११ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

गणेशमान सिंह अध्ययन केन्द्रको मैदानमा उपस्थित घरेलु दर्शक हारपछि स्तब्ध बने । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । तर, टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि सडन डेथबाट अन्तिम छिनोफानो गरिएको थियो । 

सडन डेथमा आयोजक टिमका अनन्त तमाङ, योगेश गुरुङ, विशाल राई र सिकोले गोल गरे । गणेश खड्काको प्रहार पुलिसका किपरले रोके । पुलिसका कपिल ढकाल, रविन श्रेष्ठ, अजित भण्डारी, रवि पासवान र अनुप लिम्बूले गोल गरे । बंगबन्धु गोल्डकप र साग खेलमा सहभागी अधिकांश खेलाडी समेटिएको आयोजक घरेलु दर्शकको भरपूर समर्थनका बावजुद पनि पराजित भयो । 
खेलको पहिलो हाफ रोचक बन्यो । झन्डै एकतर्फी जस्तो खेलमा आयोजकले पुलिसलाई पूरै दबाबमा राखेको थियो । पहिलो हाफको २५ औं मिनेटमा आयोजकका कमल श्रेष्ठले गोल गरेर टिमलाई अग्रता दिलाए । विपक्षीको गोलपछि झन् दबाब झेल्यो पुलिसले । पहिलो हाफमा दबाबमा खेलेको पुलिसले दोस्रो हाफपछि रणनीति फेर्दै सुदृढ खेल प्रदर्शन गर्‍यो । दोस्रो हाफको ११ औं मिनेटमा पुलिसका रवि पासवानले आकर्षक गोल गरेर टिमलाई बराबरीमा ल्याए । कप्तान तथा डिफेन्डर अनन्त तामाङको गल्तीको फाइदा रविले उठाए र गोलकिपर विशाल श्रेष्ठलाई कुनै मौका नदिई बललाई पोस्टको दिशा दिए । 
३५ औं मिनेटमा पुलिसका सुमन लामाले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनी ‘म्यान अफ द म्याच’ घोषित भए । तर, गोलको खुसी सेलाउन नपाउँदै खेल सकिन चार मिनेट बाँकी छँदा आयोजकका सिकोले गोल गर्दै खेल बराबरीमा ल्याए । गणेश खड्काको कर्नर प्रहारलाई सिकोले हेडमार्फत जाली चुमाउँदा पुलिसका किपर सोजित गुरुङले रोक्ने अवसरै पाएनन् । एपीएफ र रूपन्देही–११ बीच बिहीबार खेल हुँदैछ ।

 

प्रकाशित : वैशाख ३०, २०७३ १२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×