एमाओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने
काठमाडौं — एमाओवादीले तत्कालका लागि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । नेपाली कांग्रेसले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने प्रस्ताव गरेपछि नयाँ सरकार निर्माणको सरगर्मी सुरु भएको थियो ।
तर, एमालेले वर्तमान सरकार नै कायम गर्ने वा एमाले–एमाओवादी आलोपालो गरेर भए पनि वामपन्थी गठबन्धन कायम राख्ने वा कम्तिमा बजेट र नीति तथा कार्यक्रम ल्याइन्जेल सरकार जोगाउने प्रस्ताव गरेको थियो । ओलीका यी प्रस्ताव लिएर आज बिहान उपाध्यक्ष वामदेव गौतम दाहाल निवास पुगेका थिए ।
गौतमको प्रस्ताव दाहालले अस्विकार गरेका थिए । आज बिहानै ओलीले बोलाएको मन्त्रीपरिषद बैठकमा एमाओवादी मन्त्रीहरु पार्टीमा सल्लाह गर्नुछ भन्नै उपस्थित भएका थिएनन् । त्यसलगत्तै कांग्रेस सभापति देउवासँग भएको वार्तामा दाहालले आफ्नो नेतृत्वमा सरकार बनाउन नसकिने जानकारी गराएका थिए ।
एमाओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले सरकार नछोड्न दबाब दिएपछि दाहाल पछि हटेको एमाओवादी स्रोतले बतायो । त्यस्तै अविश्साव प्रस्तावमा पनि नियमावलीका कारण झमेला भएको भन्दै दाहाल पछि हटेका हुन् ।