गौर झडपमा १ आन्दोलनकारीको मृत्यु, अनिश्चितकालीन कर्फ्यु जारी

शिव पुरी

रौतहट — गौर आन्दोलन हिंसात्मक बनेको भन्दै जिल्ला प्रशासन कार्यालयले आइतबार ४ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । संयुक्त मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागी एक आन्दोलनकारीको मृत्यु भएपछि प्रशासनले सुरक्षाको कारण देखाउँदै कर्फ्यु लगाएको हो ।


 
जिल्ला प्रहरीका डिएसपी राजेन्द्र पोख्रेलले गौरको पूर्वमा बडहरवा पुल पश्चिममा टिकुलीया गाउँदेखि पूर्व, उत्तरमा नयाँ बसपार्क र दक्षिणमा भन्सार नाकासम्म कर्फ्यु लगाइएको जनाए ।

सुरक्षा सम्बेदनशीलतालाई मध्यनजर राख्दै कर्फ्यु लगाएको डिएसपी पोख्रेलले जनाए ।
 
झडपका क्रममा तेजापाकड–१ का १८ वर्षीय शेख तबरेजको प्रहरीले हानेको गोली लागी मृत्यु भएपछि गौरमा आन्दोलन उग्र बनेको छ । प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न अश्रुग्यास र हवाईफायर गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नरहरी बरालले आन्दोलन निकै हिंसात्मक बनेकोले बल प्रयोग गर्नु परेको जनाए । उनले भने, शान्तिपूर्ण भन्ने सोचेका थियौं । तर धैर्य गर्दागर्दै आन्दोलनकारी हिंसात्मक बन्न पुगे  । त्यसैले कर्फयु लगाउनु पर्‍यो ।'

...

रौतहटको सदरमुकाम गौरमा आइतबार अपरान्ह संयुक्त मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागी एक आन्दोलनकारीको मृत्यु भएको छ । झडपमा अर्का एक समान्य घाइते भएका छन् ।
 
झडपका क्रममा तेजापाकड–१ का १८ वर्षीय शेख तबरेजको प्रहरीले हानेको गोली लागी मृत्यु भएको हो । झडपमा गोली लागी घाइते तबरेजको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनको मृत्यु भएको अस्पतालका डाक्टर कृष्ण साहले पुष्टी गरेका छन् । विपीचोकमा भएको झडपको क्रममा तबरेजलाई कोखामा गोली लागेको छ । मोर्चा नेता अनिल सिंहले प्रहरीले ताकेरै गोली चलाएको आरोप लगाए ।

मृतक आन्दोलनकारी तबरेज गौरस्थित जुद्धमाविको कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् ।

झडपमा गौर नगरपालिका–५ का आफताब आलम समान्य घाइते भएका छन् । उनलाई ढुंगाले लागेको छ । विपीचोक लगाएतका स्थानमा अहिले झडप भइरहेको छ । प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न अश्रुग्यास र हवाई फायर गरेको छ । प्रमुख जिल्ला अधिकारी नरहरी बरालले आन्दोलन निकै हिंसात्मक बनेकोले बल प्रयोग गर्नु परेको जनाए ।

उनले भने, 'शान्तिपूर्ण भन्ने सोचेका थियौं । तर धैर्य गर्दागर्दै आन्दोलनकारी हिंसात्मक बन्न पुगे ।'
 
अघिल्लो दिनको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा विद्यार्थी फोरमले प्रहरी माथि ढुंगामुढा गर्न थालेपछि आइतबार बिहानबाट झडप सुरु भएको हो ।
प्रहरीले माइकिङ गर्दै आन्दोलन शान्त बनाउन आग्रह गरेको छ । प्रहरीले अनाहकमा हस्तक्षेप गरेको मोर्चा नेता सिंहले आरोप लगाए । आन्दोलनकारीले सिसाका बोतल समेत प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको जनाएको छ । गाउँगाउँबाट आएका आन्दोलनकारीले अहिले विपीचोक, प्रशासन कार्यालय र नेपाल लज अगाडिबाट प्रहरी माथि ढुंगामुढा गरिरहेका छन् ।
 
केही दिन यता शान्त गौर बजार झडपको घट्नाले फेरी तनाब बनेको छ । शनिबार नगरपालिकाको बारुणयन्त्र तोडफोड र विद्यार्थी फोरम नेता ललन यादव पक्राउ पछि यहाँ आन्दोलन चर्केको हो ।

सिमांकन र सविधानको विरोधमा ४ महिनादेखि मोर्चा आन्दोलनमा छ । सरकारसँग पटक-पटक गरेको वार्ता नाटक भन्दै मोर्चाले आन्दोलन चर्काउने निर्णय गरे पछि यहाँ सुरक्षाकर्मीसँग झडपको घट्ना भएको हो ।

प्रकाशित : पुस ५, २०७२ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्

ओलीको विकल्प खोज्दा मुलुकको हित हुन्छ : उपेन्द्र यादव

‘दैनिक सयौं ट्यांकर कालो बजारमा कसले पठाएको छ ?’
कान्तिपुर संवाददाता

काठमाडौं — संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अहिले देखिएको समस्या समाधान भए पनि नभए पनि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन् । उनले ओलीको विकल्प खोज्दा मुलुकको पनि हित हुने दावी गर्दै भने, ‘गैर जिम्मेवार ब्यक्तिलाई जिम्मेवारी दिएर हुँदैन ।’



रिपोर्टर्स क्लब नेपालले आईतबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘आफू छिट्टै भुतपूर्व हुने देखेर होला ओली विशिष्टहरुको सुविधा बढाउने तिर लागेका छन् ।’ यादवले बालुवारटार र बालुवाटार नेक्ससले ‘ब्ल्याक ईकोनोमी’बाट कमाईरहेकोले समस्या समाधान गर्न नचाहिरहेको आरोप पनि लगाए । ‘सरकार आन्दोलन लामो होस् भन्ने चाहन्छ । वीरगञ्ज बाहेकका नाकाबाट सयौं ट्याङकर र बुलेट आउँछन्, वीराटनगरसहितका ठाउँमा तेल राख्ने ठाउँ छैन ती तेल सबै ब्लाक मार्केटमा जान्छ । सरकार यसैमा लागिरहेको छ,’ उनले भने ।

उनले समस्या समाधानमा प्रधानमन्त्री नै बाधक भएको दावी गर्दै भने, ‘जबजब समस्या समाधानतिर जान्छ तबतब प्रधानमन्त्री गल्लीको डन र माफीया जस्तै बोल्छन् । मधेसी जनतालाई जनावर जस्तो गैरजिम्मेवार भाषा बोल्नु प्रधानमन्त्रीका लागि सोभनीय होइन । सडकको जस्तो भाषा प्रधानमन्त्री बोल्छन् ।’

मोर्चाकै नेता राजेन्द्र महतो लगायतको अतिवादले समस्या पारेको हो ? भनी सोधिएको प्रश्नमा उनले उत्तर र दक्षिणका अतिवादीले देशको हित नहुने बताए । ‘एउटा अति राष्ट्रवाद र अर्को पहाडे समूदायलाई होलसेलमा राखेर विष बमन गर्ने चिन्तन जुन तराईमा देखिएको छ । यसले जनताबीचको दुरी बढाउँदै छ । यो दुबैखाले चिन्तन ठीक छैनन्,’ उनले भने ।

अध्यक्ष यादवले मधेसमा भईरहेको आन्दोलन पहाडे वा मधेसी कुनै पनि समूदायको विरुद्ध नभई विभेद विरुद्धको संघर्ष भएको भन्दै खस क्षेत्रीहरुसमेत विभेदमा परेकोले आन्दोलनलाई कसैको पक्ष विपक्षमा बुझ्न नहुने तर्क गरे ।

विश्वासिलो आधार भए तीन महिनापछि सीमांकन टुङग्याउने कुरामा समेत सहमति हुन सक्ने भए पनि पटकपटक धोका पाएकाले विश्वास गर्ने आधार नभएकाले तत्काल समाधान हुनु पर्ने अडान ब्यक्त गर्दै उनले राजनीतिक समाधान किस्ताबन्दी र सेमेष्टर प्रणालीमा हुन नसक्ने बताए ।

उनले समस्याको समाधान नहुन्जेलसम्म आन्दोलन नरोकिने र वीरगञ्ज नाकाको धर्ना समेत बताए । उनले कांग्रेससँग सकारात्मक वार्ता भइरहेको पनि बताए । उनले राष्ट्रपति विद्या भण्डारीको जनकपुर भ्रमणमा भएको घटनाले आफूलाई समेत दुख लागेको भन्दै त्यस्तो घटना हुन नहुने थियो भन्ने धारणा राखे ।

 

प्रकाशित : पुस ५, २०७२ १४:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×