मोर्चाद्वारा विरामी बच्चा बोकेको एम्बुलेन्स तोडफोड

मोरङ — मधेशी मोर्चाका कार्यकर्ताहरूले आज बिहान मोरङको कटहरीमा बिरामी बोकेर विराटनगरतर्फ आउँदै गरेको एउटा एम्बुलेन्समा तोडफोड गरेका छन् । मोरङको रंगेलीबाट बिरामी बोकेर विराटनगरतर्फ आउँदै गरेको रंगेली सहकारी संस्थाको को १ त ७३७९ नम्बरको एम्बुलेन्समा बन्दकर्ताहरूले ढुंगामुढा गरि तोडफोड गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी प्रमोद खरेलले जनाए ।

निमोनियाबाट पीडित बच्चालाई डाक्टरसित देखाउन आउँदै गरेको बेला मोर्चाका १०–१२ जना कार्यकर्ताले विरामी बच्चा र उनकी आमालाई गाडीवाट ओर्लन समेत नदिई तोडफोड गरेका थिए । मोर्चा कार्यकर्ताको ढुंगा प्रहारबाट बच्चाकी आमा सामान्य घाइते भएकी छन् ।
सिमेन्ट उद्योगमा पार्किङ गरिएका ८ ट्रकमा तोडफोड
मोर्चाका कार्यकर्ताले आज विराटनगरको कटहरी–८ स्थित नेसनल सिमेन्ट उद्योगमा पर्किङ गरिएका ८ वटा ट्रक र २ वटा मोटरसाइकलमा तोडफोड गरेका छन् ।
चाडपर्वका कारण खुकुलो बनेको आन्दोलन फेरि चर्किएसँगै विराटनगरको बजार पसल पनि ठप्प छन् । विहानैदेखि बजारका रोडशेष, जतुवा, गुदरी, महाबीर चोक, जलजला रोड, कटहरी, कर्सियालगायतका स्थानमा प्रर्दशन भएको छ ।
यस्तै बन्दकर्ताहरूले महाबीर चोकमा पनि २ वटा सिटी रिक्सा र ८ वटा मोटरसाइकलमा तोडफोड गरेको खरेलले बताए । प्रर्दशनकारीले विराटनगरको शनि मन्दिर चोकबाट दक्षिणको भागमा बिद्युतिय रिक्सा, मोटरसाइकलसमेत संचालन हुन दिएका छैनन् । उनीहरूले संचारकर्मीहरू चढेको मोटरसाइकल संचालनमा समेत अबरोध पुर्याएका छन् । सडकमा प्रर्दसनकारीहरूको बाक्लो उपस्थितीसँगै ठुलो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।
प्रहरीद्धारा लाठीचार्ज
यसैबीच बन्दकर्ताहरूले तोडफोड गर्ने क्रमलाई तीव्रता दिन थालेपछि प्रहरीले विराटनगरको महाबीर चोकमा हस्तक्षेप गर्दा प्रहरी र प्रर्दशनकारीबीच केहीबेर सामान्य झडप भएको छ । झडपपछि सो क्षेत्रको स्थिती असहज बनेको छ । प्रहरीले महाबीर चोक र कटहरीलगायतका स्थानबाट केही प्रर्दशनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित : मंसिर ४, २०७२ ११:४२