कांग्रेसले पनि नेतृत्वको दाबी गर्ने

कुलचन्द्र न्यौपाने

काठमाडौं — कांग्रेस औपचारिक रूपमै सरकारको नेतृत्वका निम्ति दाबी गर्ने तयारीमा जुटेको छ । पार्टी केन्द्रीय कार्यसमितिमा एमाले अध्यक्ष केपी ओलीको विकल्प पार्टीभित्रबाटै दिनुपर्ने मत प्रबल देखिएको छ ।

कांग्रेसले पनि नेतृत्वको दाबी गर्ने

केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार बोल्ने ५४ सदस्यमध्ये ९० प्रतिशतले कांग्रेस नेतृत्वमा नै सरकार बनाउनुपर्ने भनी जोड गरे । शुक्रबार मात्रै पार्टीले यस विषयमा औपचारिक धारणा बनाउने भएको छ । एमालेको नेतृत्वमा सरकारमा जान नहुनेमा पार्टीपंक्ति एकमत जस्तै देखिए पनि प्रधानमन्त्रीको उम्मेदवार को हुने भन्ने विषयमा चाहिँ विवाद देखिएको छ । कांग्रेस सभापति सुशील कोइराला ‘चुप’ बसेर आफू पनि आकांक्षी भएको संकेत गरेका छन् । वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले बिहीबारकै बैठकमा आफूहरूलाई सहयोग गर्न आग्रह गरे ।

तीनदलीय एकता कायम राख्दै वर्तमान संकटको समाधानका निम्ति एमाले अध्यक्ष ओलीको नेतृत्वलाई सहयोग गर्नुपर्ने पक्षमा महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का र मन्त्री महेश आचार्य उभिएका थिए । उनीहरूले चार दलको शीर्ष नेतृत्वबीच ‘भद्र सहमति’ भएको बताउँदै त्यसलाई तोडेर अघि बढ्दा कांग्रेसले प्रधानमन्त्री मात्रै नभएर राष्ट्रपति पनि गुमाउने तर्क गरे ।

एमालेलाई प्रधानमन्त्रीमा सहयोग गरी राष्ट्रपति कांग्रेसले लिनुपर्ने उनीहरूको धारणा थियो । ‘अहिलेको अवस्थामा कसैले पनि कांग्रेसलाई सहयोग गर्दैनन्, तीनदलीय एकता तोडिएपछि राष्ट्रपति पनि नपाउने अवस्था हुन्छ,’ सिटौलाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘चार दलका शीर्ष नेतृत्वबीच भद्र सहमति भएकै हो ।

त्यसलाई तोडेर जानुभन्दा कार्यान्वयन गर्नेतर्फ जानु राम्रो हुन्छ ।’ सहमहामन्त्री पूर्णबहादुर खड्काले कांग्रेस र एमालेलाई अलग गर्ने खेल भएको भन्दै त्यसले मुलुकलाई क्षति पुर्‍याउने बताएका थिए । ‘संविधान कार्यान्वयन गर्ने ठूलो चुनौती छ । संविधानले दिएका अधिकार प्रयोग गर्न सयभन्दा बढी कानुन बनाउनुपर्छ । मधेसको मागलाई सम्बोधन गर्न संविधान संशोधन गर्न बाँकी छ,’ खड्काको भनाइ थियो, ‘तीन दलको एकता टुट्नु भनेको यी सबै काम नहुनु हो । यसले मुलुकमा आगो लगाउने कामलाई
मद्दत पुर्‍याउँछ ।’

बैठकको सुरुमै सभापति कोइरालाले ओलीको नेतृत्वमा सरकारमा जाने कि पार्टीभित्रै विकल्प खोज्ने भन्ने विषयमा धारणा राख्न आग्रह गरेका थिए । त्यसअघि भद्र सहमतिबारे प्रस्ट हुनुपर्ने आवाज केन्द्रीय सदस्यहरूले उठाएपछि कोइरालाले त्यस्तो सहमति भए पनि संस्थागत निर्णय हुनुपर्छ भनेर आफूले भनेको उल्लेख गरे । वरिष्ठ नेता देउवाले कोइरालातर्फ लक्षित गर्दै ‘तपाईं हुने हो या ओलीलाई सघाउने हो प्रस्ट भन्नुपर्‍यो’ भनेका थिए । कोइराला त्यसको जवाफ नदिई चुप बसे । त्यसपछि देउवाले आफू र पौडेलबीच को उम्मेदवार हुने भन्ने विवाद ल्याउनुभन्दा संसदीय दलको निर्वाचनका लागि मार्गप्रशस्त गरिदिन आग्रह गरेका थिए । ‘संसदीय दलको निर्वाचनबाट जो नेता हुन्छ, उसैको नेतृत्वमा सरकार बनाउने काम गरौं,’ देउवाको भनाइ थियो ।

उम्मेदवार तय गर्न सुरुमा तीन नेताबीच मात्रै छलफल भएको थियो । तीनै जनाको आकांक्षा देखिएपछि पदाधिकारीको बैठक बस्यो । पदाधिकारी बैठकले पनि मिलाउन नसकेपछि ८ बजे बोलाइएको केन्द्रीय समितिको बैठक दिउँसो २ बजे सुरु गरिएको थियो । केन्द्रीय कार्यसमितिमा आएको सुझावअनुसार पार्टीले शुक्रबार औपचारिक धारणा बनाउने उपसभापति पौडेलले बताए ।
पौडेलले पार्टीको नेतृत्वमा सरकार बनाउन कसैले पनि खुट्टा कमाउन नहुने भन्दै आफूलाई सहयोग गर्न कोइराला र देउवासँग आग्रह गरेका थिए । ‘कांग्रेसकै नेतृत्वमा समाधान हुन्छ भन्ने विश्वास नभए एमाले नेतृत्वको सरकारमा कसरी विश्वास गर्न सकिन्छ ?’

एमाले नेतृत्वमा जानुपर्छ भन्ने पदाधिकारीहरूको भनाइप्रति लक्षित गर्दै पौडेलले भने, ‘हामीले अहिलेसम्म नेतृत्व लिने कुरा नभनेका कारणले अरू दलको समर्थन नभएको जस्तो देखिएको हो । नेतृत्व लिने निर्णय लिनासाथ अन्य दलको पनि सहयोग हुन्छ । यस विषयमा मेरो पनि छलफल भइरहेको छ ।’

केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकमा अधिकांश सदस्यले सहमतीय आधारमा नै कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्छ भन्नेमा जोड दिए । कार्कीले बिहीबार बोल्ने सबैजसो सदस्यले प्रधानमन्त्रीको उम्मेदवारका लागि संसदीय दलको निर्वाचनका निम्ति प्रधानमन्त्रीले मार्गप्रशस्त गरिदिनुपर्ने सुझाव दिएको धारणा राखेको बताए । ‘तीन दलको एकता कायम राखेर नै कांग्रेस नेतृत्वमा सरकार बनाउने दिशामा नेतृत्व तयार हुनुपर्छ भन्ने सबैको जोड रहयो,’ कार्कीले भने, ‘प्रधानमन्त्री खोज्दा राष्ट्रपति समेत गुम्ने अवस्था नआओस् भन्ने सुझाव प्रबल रूपमा उठेको छ ।’

बैठकमा प्रधानमन्त्रीको उम्मेदवार तय गर्न केही समय आवश्यक पर्ने भएकाले राष्ट्रपति रामवरण यादवले सहमतिको सरकारका लागि नै थप तीन दिनको समय दिने संकेत पाएको जानकारी गराइएको थियो । राष्ट्रपति यादवले सहमतीय सरकारका लागि दिएको एक साताको समय बिहीबार सकियो । समय थप नभए आगामी २४ गते प्रधानमन्त्रीको निर्वाचन गराउने तयारी सभामुख सुवास नेम्वाङको छ ।

केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, शेखर कोइराला, प्रदीप गिरी, मीनेन्द्र रिजाललगायतले ओलीको नेतृत्वमा कुनै हालतमा सरकार बनाउन नहुनेमा जोड दिएका थिए । उनीहरूले बरु कांग्रेस प्रतिपक्षमा बस्नुपर्नेमा जोड दिएका थिए । रिजालले ओलीको फेसबुक वालमा लेखिएको ‘भारतको सहयोग लिएर प्रधानमन्त्री बन्नुभन्दा सामान्य नागरिक भएर बस्नु बेस भन्ने सन्देशलाई बैठकमा गम्भीर रूपमा उठाएका थिए । उनले यस्तो सन्देशले राजनीतिक ध्रुवीकरण भएर झनै समस्या बढाउने भन्दै ओली नेतृत्वमा सरकार बनाउन नहुनेमा जोड दिएका थिए ।

प्रकाशित : आश्विन २२, २०७२ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?