कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भट्टराई आचरणमा नबसेको एमाओवादी निष्कर्ष

बाबुरामबारे एमाओवादीको आधिकारिक धारणा मंगलबार
सरोजराज अधिकारी

काठमाडौं — एमाओवादीले डेढ साताअघि पार्टी छाडेका नेता बाबुराम भट्टराईबारे आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा सोमबार बसेको पदाधिकारी बैठकले भट्टराईका अभिव्यक्तिबारे पनि छलफल भएको थियो ।

भट्टराई आचरणमा नबसेको एमाओवादी निष्कर्ष

एमाओवादीले डेढ साताअघि पार्टी छाडेका नेता बाबुराम भट्टराईबारे आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा सोमबार बसेको पदाधिकारी बैठकले भट्टराईका अभिव्यक्तिबारे पनि छलफल भएको थियो । युद्धकालमा आफूलाई पार्टीभित्रैबाट मार्न खोजिएको, एमाओवादी भुकम्पले थिलथिलो भएको रातो स्टिकर टाँसेको घरजस्तो भएको, पार्टी भ्रष्टचारले थिलथिलो भएको र अध्यक्ष दाहाललाई अख्तियारले पक्राउ गर्नेजस्ता अभिव्यक्ति भट्टराईले दिएको भनी सार्वजनिक भएको छ ।

‘उहाँले पार्टी छाडे पनि एकअर्काविरुद्ध गालीगलौज नगर्ने सहमति भएको थियो । तर उहाँ त्यो आचरणमा रहनुभएन,’ सचिव पुनले भने, ‘त्यस्तो अभिव्यक्ति दिनुभएको हो कि होइन, त्यसबारे उहाँसँग बुझ्ने र मंगलबार पार्टीका तर्फबाट आधिकारिक धारणा तय गर्ने निर्णय भएको छ ।’

बैठकले संविधान निर्माणको अगुवाई गरेका प्रमुख तीन राजनीतिक दलसहितको राष्ट्रिय सरकार निर्माण हुनुपर्नेमा जोड दिएको छ । बैठकले राष्ट्रिय सरकार निर्माणका विभिन्न आधारहरु समेत तय गरेको सचिव वर्षमान पुनले जानकारी दिए ।

राष्ट्रिय सरकारका मुख्य कार्यभारमा भारतले लगाएको नाकाबन्दी खुलाउन तत्काल राजनीतिक–कूटनीतिक पहल गर्ने, मधेसी–थारुका मागबारे वार्ता गरी संविधान संशोधनमार्फत् सम्बोधन गर्ने, भुकम्पपछिको नवनिर्माणलाई प्राथमिकता दिने, संविधानले निर्देश गरेअनुरुपका कानुन र संरचना बनाएर कार्यान्वयन गर्ने, सुशासन र सम्वृद्धिको दिशामा अघि बढ्नेलगायत आधार तय गरेको हो ।

एमाओवादीले मधेसी–थारुका मुद्धा सम्बोधन गर्न पहलकदमी लिने निर्णय पनि गरेको छ । त्यसैगरी भुपरिबेष्ठित मुलुकको पारवहन सुविधा सहज बनाउनका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेको छ ।

राष्ट्रिय सरकारमा जोड दिने भनिए पनि एमाओवादीले कसको नेतृत्वमा सरकार बनाउने भन्ने धारणा स्पष्ट नगरेको सचिव पुनले जानकारी दिए ।


दाहाल बेइजिङ जाने

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल चीनको राजधानी बेइजिङ जाने भएका छन् । दाहाल आगामी अक्टोबर १५ तारिखमा बेइजिङ जाने उनका स्वकीय सचिव तथा एमाओवादी केन्द्रिय सदस्य चुणामणि खड्काले जानकारी दिए ।

‘भ्रमणका क्रममा उहााले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुहुनेछ,’ खड्काले भने, ‘त्यसक्रममा नेपालको संविधान निर्माण र त्यसपछिका राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुहुनेछ ।’ चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागद्वारा आयोजित ‘सिल्क रोड’सम्बन्धी एसियाली राजनीतिक दलहरुको विशेष सम्मेलनमा पनि सहभागिता जनाउने खड्काले जानकारी दिए ।

‘सम्मेलनमा सहभागितामात्र भए त उहाँले कसैलाई प्रतिनिधिका रुपमा पठाउनु हुन्थ्यो तर उच्चस्तरीय भेट पनि गर्ने भन्दै उहाँलाई नै निम्त्याइएकाले आफै जान लाग्नुभएको हो,’ खड्काले भने । यसअघि पनि सम्मेलनमा सहभागिताका लागि गत चैत दोस्रो साता कुन्मिङ गएका दाहाललाई चिनियाँ अधिकारीहरुले विशेष विमानबाट बेइजिङ लगेर उच्चस्तरीय भेटवार्ता गराएका थिए ।

प्रकाशित : आश्विन १८, २०७२ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?