दाहाल भन्छन्, ‘दोहोरो तनाबमा छु’

‘मैले बोले बिग्रन्छ, अहिले धेरै बोल्दिन’
शेखर अधिकारी

काठमाडौं — एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणपछि आफू दोहोरो तनाबमा रहेको बताएका छन् ।
‘संविधान निर्माण गरेर एउटा ऐतिहासिक काम त पूरा गरियो, तर दुइटा तनाब ममाथि छन्,’ उनले भने ।

दाहाल भन्छन्, ‘दोहोरो तनाबमा छु’

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणपछि आफू दोहोरो तनाबमा रहेको बताएका छन् ।

‘संविधान निर्माण गरेर एउटा ऐतिहासिक काम त पूरा गरियो, तर दुइटा तनाब ममाथि छन्,’ पार्टी प्रवक्ता दीनानाथ शर्माको पुस्तक विमोचन गर्दै बुधबार दाहालले भने, ‘एकातिर नाकाबन्दीले जनता आक्रान्त छन् भने म ३० वर्ष सँगै काम गरेका एकजना मित्रले पार्टी त्याग्नुभयो । मलाई गहिरो अनुभूतिको विषय भएको छ ।’

प्रवक्ता शर्मा र पुस्तक प्रकाशकले राजनीतिक विषयमा बोल्न अनुरोध गरे पनि दाहालले धेरै समय लिन चाहेनन् । उनले बाबुराम भट्टराईको नाम नलिई उनको बहिर्गमनले चोट परेको आशयमात्रै व्यक्त गरे ।

दाहालले राजनीतिक विषयमा पनि आफूले अभिव्यक्ति नदिने बताउँदै झन् परिस्थिति बिग्रने उललेख गरे । ‘मैले बोले बिग्रन्छ, बोल्ने कुरा बोलिसकेको छु,’ राजनीतिक विषयमा प्रवेशै नचाहेका उनले भने, ‘अहिले नबोल्दा नै फाइदा हुन्छ, म यहाँ राजनीतिबारे नबोल्ने सोचेर नै आएको हुँ ।’

दाहालले भारतको नाकाबन्दीपछि मुलुकमा निम्तिएको संकट निवारणका लागि बुधबार पनि बिहान ५ बजेदेखि नै कुटनीतिक/राजनीतिक भेटघाट गरेको जानकारी दिए ।

७० वर्षदेखि रोकिएको संविधान निर्माण गरेर ऐतिहासिक चरण पास गरे पनि अर्को संकटको चरणमा मुलुक प्रवेश गरेको उनले बताए ।
दाहालले मुलुकमा नयाँ जागरण ल्याउनुपर्ने समय आएको उल्लेख गरे । ‘अब एउटा अभियान सृष्टि गर्नुपर्ने बेला आएको छ,’ जारी संकट केहीदिनमा अन्त्य हुने दाबी गर्दै उनले भने, ‘त्यसपछि आदर्शको सुरुवात हुनेछ ।’

प्रकाशित : आश्विन १३, २०७२ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?